काँग्रेसद्वारा उखुको मूल्य निर्धारणबारे सरकारको ध्यानाकर्षण



नेपालगन्ज ।

नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उखुको मूल्य निर्धारणबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलबारबाट सुरु भएको बैठकले बुधबार बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखापरेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको हो । उखुको मूल्य निर्धारण गर्दा उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनु पर्छ भन्ने पार्टीको मान्यता रहेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सन्दर्भमा, उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत बैठकले माग गरेको उल्लेख गरिएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले उखुको मूल्य तत्काल निर्धारण र बक्यौता अविलम्ब भुक्तानी गर्न गराउन ध्यानाकर्षण उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई गम्भीरतापूर्वक लिएको जानकारी दिइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिनको प्रारम्भमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ बजाइएको थियो । गत ८ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरू भएर, मंसिर १६ गते विधिवत् उद्घाटन हुने नेपाली खेलकुदको यस ऐतिहासिक महाकुम्भलाई भव्य र सफल बनाउन बैठकले स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा जुट्न पनि काँग्रेसले आह्वान गरेको छ । बैठकमा धारणा राख्ने वक्ताहरू बीचको अन्तराल (फिलर धुन)मा समेत सोही गीतको मुख्य अंश बजाइएको थियो ।

बैठकमा बोल्दै सभापति गगनकुमार थापाले सात हजारभन्दा बढी खेलाडीको सहभागिता रहने उक्त खेल महोत्सवले नेपाली खेलकुदको विकास र विस्तारमा नयाँ ऊर्जा, उत्साह र गतिशीलता भर्ने विश्वास प्रकट गरेका थिए । बैठकले राष्ट्रिय खेल महोत्सवलाई भव्य, सभ्य र अविस्मरणीय बनाउन तीनै तहका सरकार, निजी क्षेत्र, खेलप्रेमी समुदाय तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल पनि गरेको काँग्रेसले जनाएको छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई स्वस्थ प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनका लागि बैठकले हार्दिक शुभकामना व्यक्त पनि गरेको छ । बैठकमा बुधबारसम्म ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका जनाइएको छ । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकोले कार्यसमितिको बैठक बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने पनि जानकारी दिइएको छ ।

मंगलबार सुरु भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले बैठकको कार्यसूची प्रस्तुत गरेका थिए । बैठकको कार्यसूचीमा संगठनको आगामी कार्यभार ‘हामी तयार छौँ’ अभियानलगायतका अभियानहरूको विषय, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित सुकुम्वासीहरूको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधिहरू र स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफललगायतका विषयहरू राखिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार