नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचारका क्रममा ज्यान गएकी बर्दियाको बढैयाताल गाउँपालिका–७ कि १९ वर्षीया सुत्केरी पवित्रा केसीको शव आफन्तहरूले बुझेका छन् । आफन्तहरूले शव बुझेर शनिबार दाहसंस्कार पनि गरेका पवित्राकी आमाजु सजिता आचार्यले जानकारी दिइन् । पवित्राबाट जन्मिएका दुई शिशुहरू भने अस्पतालमै रहेका छन् ।
सजिताका अनुसार कानुनी उपचारका लागि सम्बन्धित निकायमा जाने कि नजाने भन्ने विषयमा माइती पक्ष र परिवार पक्षबीच मतभेद भएपछि शव बुझेर दाहसंस्कार गरिएको हो । शिशुहरू भने दाहसंस्कारपछि मात्रै बुझेर लैजाने गरी अस्पतालमै राखिएको आचार्यले बताइन् । सञ्जीवनी अस्पतालका प्रबन्धक कुमार अधिकारीले पनि आफन्तहरू आएर शव बुझेर लगेको र शिशुहरू अहिले पनि अस्पतालमै रहेका बताए । उनले शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
३३ हप्ताको गर्भवती अवस्थामा सञ्जीवनी अस्पतालमा ल्याइएकी केसीको तीन दिनपछि कात्तिक २९ गते उपचारकै क्रममा ज्यान गएको थियो । तत्पश्चात् मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण पवित्राको मृत्यु भएको भन्दै विरोध जनाएका थिए । उनीहरूले आफूहरूले न्याय नपाएसम्म शव नउठाउने र पवित्राको अपरेशन प्रक्रियाबाट जन्मिएका दुई शिशुलाई पनि नुबुझ्ने अडान लिँदै आएका थिए ।
अस्पताल प्रशासनले पवित्राको मृत्यु लापरबाहीले नभई स्वास्थ्य जटिलताका कारण भएको दाबी गरेको थियो । अस्पतालले बिरामीको उपचारमा अपनाइएको सबै प्रक्रियाबारे विवरण सार्वजनिक गर्दै हरसम्भव प्रयास गरिए पनि बचाउन नसकिएको बताएको थियो । तर, आफन्तहरूले शव नबुझेर विरोध जारी राख्ने तर कानुनी उपचारमा पनि नगएपछि विवाद लम्बिएको थियो ।
त्यसैबीच मंसिर ४ गते मृतकका आफन्तहरूले केही कानुन व्यवसायीहरूसँग न्याय पाउने प्रक्रियाबारे छलफल पनि गरेका थिए । उक्त छलफलमा कानुन व्यवसायीहरूले कानुनी उपचारमै गएर न्याय खोज्नुपर्ने सल्लाह दिएका थिए । तर, केसीका माइती पक्षले कानुनी उपचारमा जाँदा समय धेरै लाग्ने भएकोले शव बुझेर दाहसंस्कार गर्ने निर्णय गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्