सुर्खेत ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहदा प्रदेशमा खेलाडी छनोट र बन्द प्रशिक्षणको तयारीलाई तीव्र पारको छ । परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दका अनुसार बाँकी खेलका प्रदेशस्तरीय छनोट प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछन् ।
यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षण पनि सुरु गरिने चन्दले जानकारी दिए । परिषद्ले सार्वजनिक गरेको छनोट तालिकाअनुसार बास्केटबल महिला तथा पुरुष, शारीरिक सुगठन र पौडीको छनोट कात्तिक २७ गते हुनेछ । जुडोको कात्तिक २८ गते तथा सेपाकताक्रो र सुटिङको कात्तिक २९ गते छनोट प्रतियोगिता संचालन हुनेछ । त्यस्तै जिम्न्यास्टिक र इस्पोट्र्सको छनोट कात्तिक ३० गते तथा साइक्लिङको मंसिर १ गते हुनेछ ।
स्क्वास, आर्चरी, भारोत्तोलन र कुस्तीको छनोट भने मंसिर ४ गतेका लागि तोकिएको छ । छनोट प्रतियोगिता सुर्खेतका विभिन्न खेलस्थलमा संचालन गरिनेछ । मुख्य रंगशाला, स्क्वास हल, राजदल सैनिक खेलमैदान, काँक्रेविहार, होटेल सिद्धार्थ र नगरपालिकाको खुला मैदान छनोट प्रतियोगिताका लागि तोकिएका छन् । सुटिङको छनोट भने नेपालगन्जमा हुनेछ । परिषद्का सदस्यसचिव चन्दका अनुसार प्रतियोगिताको तयारीलाई व्यवस्थित बनाउन सम्बन्धित खेल संघ तथा महासंघलाई निर्धारित समयमै छनोट प्रक्रिया पूरा गर्न निर्देशन दिइएको जानकारी दिए ।
३१ खेलका खेलाडी बन्द प्रशिक्षणमा
परिषद्ले सार्वजनिक गरेको बन्द प्रशिक्षण तालिकामा ३१ खेल समेटिएका छन् । एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराँते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल र स्क्वासका खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् । बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, इस्पोट्र्स, सेपाकताक्रो, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, सुटिङ, कुस्ती, खोखो र आईटीएफ तेक्वान्दोका खेलाडीलाई पनि बन्द प्रशिक्षणमा राखिनेछ ।
बन्द प्रशिक्षणका लागि मुख्य रंगशाला, चिसापानी खेलमैदान, सुर्खेतका क्रिकेट मैदान, जिल्ला खेलकुद विकास समितिका खेलमैदान, रंगशाला स्थित कभर्डहल, ब्याडमिन्टन कभर्डहल र मिनी कभर्डहल तोकिएका छन् । यसका अतिरिक्त रग्बी मैदान, काँक्रेविहार, होटल सिद्धार्थ, रंगशाला परिसर, पौडी पोखरी, नेपालगन्ज, सल्यानको श्रीनगरस्थित कभर्डहल र दैलेखमा समेत खेलाडीलाई प्रशिक्षण दिइने परिषद्को तालिकामा उल्लेख छ ।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर ८ देखि २७ गतेसम्म आयोजना हुँदै छ । प्रतियोगिताको सहआयोजक समेत रहेको कर्णालीले खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मका गतिविधिलाई तीव्रता दिएको छ ।









प्रतिक्रिया दिनुहोस्