उज्यालो पर्वको मौलिकताबाट विकृतिको अँध्यारोतिर



गुल्मीको मुसिकोट नगरपालिका–२ देउराली स्थित तुफान परिकल्पना युवा क्लवको आयोजनामा सोमबार सञ्चालन गरिएको तिहार विशेष भैलो कार्यक्रममा सहभागी कलाकारहरू । तस्बिरः जनार्दन घिमिरे/ रासस

बद्री ढकाल हिरामणि

हाम्रो नेपाली समाजमा गर्व गर्नलायक विविध सांस्कृतिक, सामाजिक र आध्यात्मिक पक्षहरू छन् । धेरै चाडपर्वमध्ये तिहारको स्थान निकै विशिष्ट र गरिमामय मानिन्छ । उज्यालो झिलिमिली, फूल, भाइचारा, खानपान प्रकृतिपूजा र मानवीय संवेदनाले भरिपूर्ण व्यापाक सामाजिक पर्व हो यो । तिहार वर्षमा एक दिन, एकैछिन आउने एक उत्सव होइन, यसले त्यो वर्षभरि वा जीवनभरि नै प्रभाव छोड्न पनि सक्छ । यो पर्व नेपाली जनजीवनको सामूहिक क्रियाकलाप र सांस्कृतिक पहिचानको ज्वलन्त पारिवारिक चलचित्रजस्तै पनि हो । यमपञ्चकका पाँच दिनभरि काग, कुकुर, लक्ष्मी, गाई, गोवर्धन र दाजुभाइ र दिदीबहिनीको पूजाअर्चना गर्दै मनाइन्छ । यो पर्वले प्राकृतिक रूपमा हामीसँग प्रत्यक्ष सरोकार राख्ने प्राणीहरू बीचको अटुट सम्बन्धलाई दर्शाउने गर्दछ । यो पर्वको अर्को एउटा सर्वाधिक लोकप्रिय, रमाइलो र सामूहिक पक्ष भनेको ‘देउसीभैलो’ श्रृंखला हो । साँझ पर्न थालेपछि घरघरका आँगनमा बल्ने दियो, औँसीको रात भए पनि सजिएका झिलिमिली बत्ती, सेलरोटी र अन्य खानाको बास्ना र टाढाबाट सुनिने बाजा, मादलको धुनसँगै भट्याइने देउसीभैलोका भाकाहरूले हरेक नेपालीको मनमा एक प्रकारको अपनत्व, आत्मीयता र उमङ्गको सञ्चार गराइरहेको हुन्छ । चाडपर्वको यस्तो पवित्र उल्लास र उमङ्गका बीच कसैको मन नदुखाऊँ, कसैको रमाइलोमा खलल नपु¥याऊँ र कहीँ कतै केही नलेखूँ भन्ने नै मेरो प्रारम्भिक सोच थियो । किनकि पर्वहरू आपसी सद्भाव बाँड्ने र खुसी साटासाट गर्ने राम्रो अवसर हुन् तर पछिल्ला वर्षहरूमा र विशेषगरी यस पटकको तिहारमा देउसी भैलोका नाममा समाजमा प्रत्यक्ष देखेका, सुनिएका र स्वयम् भोगिएका कतिपय दृश्यहरूले उब्जाएको मेरो मनको अनुभूतिलाई कलमद्वारा ओकलिरहेको छु । जब संस्कृति संरक्षणको आवरणमा संस्कृतिको आत्मा नै मर्न थाल्छ, जब परम्पराको नाममा विकृतिले प्रश्रय पाउन थाल्छ, तब सचेत नागरिकको नाताले मौन बस्नु भनेको त्यो विकृतिलाई मौन स्वीकृति दिनुसरह हुन्छ । सामाजिक सञ्जालमा जोडिनुभएका मित्रहरूदेखि लिएर प्रत्यक्ष भेटघाट गरी तिहारको शुभकामना आदानप्रदान गर्ने र देउसीभैलो खेल्ने, खेलाउने, हेर्ने वा भोग्ने सम्पूर्ण आत्मीयजनमा सादर अभिवादन टक्र्याउँदै आज म हाम्रो मौलिक संस्कृतिमाथि मडारिएको यो कालो बादलका विषयमा समेत थोरै चर्चा गर्ने प्रयास गरेको छु ।

ऐतिहासिक, पौराणिक र लोकजीवनको गौरवशाली विरासत

देउसीभैलोको जरा हाम्रो पौराणिक कथा र लोकजीवनको गहिराइमा गाडिएको छ । किंवदन्तीअनुसार सत्ययुगका दानी राजा बलिराजाले भगवान् वामन अवतारलाई सर्वस्व दान दिएपछि वर्षमा एकपटक पृथ्वीलोकको भ्रमण गर्ने र आफ्नो प्रजाको सुखदुःख बुझ्ने वरदान पाएका थिए । सोही वरदानस्वरूप कार्तिक कृष्ण औँसीका दिन राजा बलिले पठाएका दूतहरूका रूपमा देउसी र भैलो खेल्ने प्रचलन सुरु भएको विश्वास गरिन्छ । ‘देउसिरे’ अर्थात् ‘देऊ शिर’ वा भन्ने भाव बोकेको यो परम्परा केवल मनोरञ्जन मात्र पनि हैन बरु यो त लोककल्याण, कलाकारिताको सम्मान, अतिथि सत्कार र सामाजिक एकताको अनुपम नमुना हो । नेपाली लोकजीवनमा देउसीभैलोको आफ्नै मौलिक कला सौन्दर्य छ । लठ्ठी समातेर भट्याउने मुख्य व्यक्तिले आशुकविको शैलीमा तत्कालै शब्दहरू बुनेर घरबेटीको प्रशंसा गर्ने, घर परिवारको बनावट, आँगनको शोभा परिस्थिति बताउँछन् । उसको भट्याइमा पारिवारिक सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन अत्यन्तै कलात्मक हुन्छ । भट्याउनेको लयमा सबै सहभागले ‘देउसिरे’ वा ‘भैलो’ भन्दै एकै सामूहिक स्वर गुञ्जिदा वातावरणमा अद्भुत ऊर्जा पैदा भएको महशुस हुन्छ । मादल, बाँसुरी, खैँजडी, मुजुरा र झ्यालीको मौलिक तालमा नाचिने मारुनी, सोरठी, झ्याउरे र स्थानीय लोकनृत्यहरूले नेपालको विविधतापूर्ण संस्कृतिको जीवन्त झलक दिन्छन् । यसरी हेर्दा देउसीभैलो हाम्रो लोकजीवनको मिठास हो, संस्कृतिको सुगन्ध हो । अनि कला, साहित्य र सङ्गीतको एक साझा र सामूहिक सांस्कृतिक उत्सव हो । आजको अनियन्त्रित प्रविधिजन्य समयको परिवर्तनसँगै हामीले आफैँलाई एउटा गम्भीर प्रश्न सोध्नैपर्ने बेला आएको छ, के हामी साँच्चै देउसीभैलोको मर्मअनुसार खेल्दै छौँ ?

संस्कृतिको नाममा विकृतिको भद्दा प्रदर्शन त गर्दै छैनौँ ?

हिजो आत्मीयतासाथ देउसीभैलो कुरेर बस्ने वा भैलो आउँदा नलुकेर प्रक्रिया पु¥याई दान दिने चलन र आजको रकमी बार्गेनिङ, उच्छृंखल नाचगानले धेरैले घरका ढोका बन्द गरी निरासपन पोखेका त होइनन् ? पहिले गाउँघरमा तिहार आउनुभन्दा हप्तौँ अगाडिदेखि देउसीभैलोको तयारी हुन्थ्यो । बुढापाका, युवायुवती र बालबालिका आआफ्नै समूह बनाएर मादल कस्ने, गीत रच्ने र नाच्ने अभ्यास गर्थे । देउसी खेल्ने टोली आउने खबरले घरघरका आँगनहरू रंगरोगन लिपपोत गरी सफा पारिन्थे, गुन्द्री र राडीपाखी ओछ्याएर अभिभावकहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका हुन्थे । नाङ्लोमा सेलरोटी, अनर्सा, फिनी, फलफूल, चामल, दियो र गच्छेअनुसारको दक्षिणा सजाएर घरबेटीले देउसेहरूलाई भगवान् कै दूतसरह स्वागत गर्थे । हिजोको देउसीमा गाउँसहरको माया गुञ्जिन्थ्यो, विशुद्ध नेपाली लोकबाजामा लोकप्रिय भाकामा गाउने भट्याउने गरिन्थ्यो । ती शब्दहरूमा उच्च कोटीको साहित्य झल्किन्थ्यो । संकलित दक्षिणामा समाजसेवाको पवित्र सपना बुनिएको हुन्थ्यो । देउसी सकिएपछि घरबेटीले दिने आशिष् र देउसेहरूले फर्काउने मंगल कामनाले वर्षभरिको रिसराग र मनमुटाव पखालिदिन्थ्यो । तर आजभोलिको परिदृश्य धेरै नै फरक बन्दै गएको छ । निरन्तर रूपमा केही न केही परिवर्तन त भइरहने कुरा हो । हिजो आँगनमा गुन्द्री काम्लो ओछ्याएर बाटो हेर्ने समाज आज किन देउसेहरू देख्दा तर्सिन थालेको जस्तो गर्छन् ? घरबेटीहरू घरमा कोही नभएको बहाना बनाएर लुक्न खोज्छन् ? यो प्रश्नको उत्तर खोज्न टाढा जानुपर्दैन । जब देउसीभैलो आत्मीयता साट्ने माध्यम नभई ‘आतंक’ र ‘दबाब’को पर्याय बन्न पुग्छ, तब समाजले ढोका बन्द गर्नु अस्वाभाविक होइन । आखिर हाम्रो देउसीले मानिसलाई जोड्दै छ कि झन् टाढा बनाउँदै छ ? हामीले गम्भीर आत्ममन्थन गर्नैपर्छ । राजनीतिक संस्कार बोकेका पार्टीहरूका राजनीतिज्ञ व्यक्तिहरू र सरकार सञ्चालनकर्तालाई सामाजिक अगुवाहरूले सचेत पार्नै पर्ने देखिन्छ ।
आधुनिकताको आवरणमा भित्रिएको सांस्कृतिक विकृति कुनै पनि संस्कृति समयसापेक्ष परिमार्जन हुनु स्वाभाविक प्रक्रिया हो तर परिमार्जनको नाममा मौलिकताको हत्या गर्नु सांस्कृतिक विचलन हो । आज देउसीभैलोका नाममा भित्रिएका विकृतिहरूले हाम्रो मौलिक कला र सङ्गीतलाई नराम्ररी थिचेको छ । मादल, बाँसुरी र सारङ्गीको ठाउँ आज कानै फुट्ने गरी बजाइने ठूला ‘साउन्ड सिस्टम’ र ‘डिजे’ले लिएका छन् । रातको समयमा बिरामी, वृद्धवृद्धा, सुत्केरी महिला र साना बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरको कुनै पर्वाह नगरी चर्को ध्वनि प्रदूषण मच्चाउने प्रवृत्ति बढ्दो छ ।

त्यसैगरी, भट्याउने मौलिक कला लगभग लोप हुने अवस्थामा पुगेको छ । नेपाली लोकभाका र आशिषका शब्दहरूको सट्टा आज विदेशी भाषाका उच्छृंखल गीत, दोहोरो अर्थ लाग्ने अश्लील र छाडा सङ्गीतमा अस्वाभाविक र हेर्नै नसकिने भद्दा नृत्य प्रदर्शन गर्ने होडबाजी चलेको देखिन्छ । कतिपय समूहमा त न देउसीको लय हुन्छ, न भैलोको भाव नै । केवल चर्को सङ्गीत बजाएर उफ्रनु र चिच्याउनुलाई नै देउसी खेल्नु ठानिएको छ । पहिरनको सन्दर्भमा पनि उस्तै अराजकता देखिन्छ । नेपाली मौलिक पोसाक दौरा सुरुवाल, गुन्यु–चोली, ढाकाटोपी र पटुकीको साटो अस्वाभाविक, भड्किलो र संस्कृतिसँग कुनै साइनो नभएको पहिरन लगाएर रमाइलो गर्ने प्रवृत्ति मौलाएको छ । अझ चिन्ताजनक पक्ष त के छ भने चाडपर्वको नाममा मदिरा र लागूपदार्थको सेवन गरी झैझगडा गर्ने, होहल्ला मच्चाउने र अराजक व्यवहार देखाउने गतिविधिहरू बढ्दै गएका छन् । देउसी खेल्न हिँडेका युवाहरू रक्सीले मातेर बाटोमै लड्ने, आपसमा गालीगलौज र कुटाकुट गर्ने घटनाहरूले तिहारको पवित्रतामाथि नै कालो धब्बा लगाइदिएको छ । रमाइलो गर्नु अपराध होइन, युवावस्थामा उत्साह हुनु पनि स्वाभाविक हो; तर रमाइलोको नाममा अश्लील गीत, अस्वाभाविक पहिरन, मदिरा र उच्छृंखल व्यवहारलाई संस्कृतिको पहिचान बनाउनुचाहिँ कति उचित होला ?

चन्दा आतंक र दक्षिणाको दुरुपयोग

देउसीभैलोको अर्को संवेदनशील पाटो भनेको ‘दक्षिणा’ र ‘आर्थिक संकलन’ हो । परम्परागत रूपमा घरबेटीले आफ्नो गच्छे, श्रद्धा र खुसीअनुसार नाङ्लोमा राखिदिने दानलाई देउसेहरूले शिरोपर गर्थे । चाहे त्यो एक रूपैयाँँ होस् वा सय रूपैयाँँ, त्यसमा आशिष् र सम्मान हुन्थ्यो । तर, आज दक्षिणाको ठाउँ ‘चन्दा रसिद’ र ‘बार्गेनिङ’ले लिएको छ । कतिपय युवा समूह, क्लब र संस्थाहरूले पहिले नै रसिद काटेर पठाउने, घरबेटीलाई यति नै रकम दिनुपर्छ भनी दबाब दिने र कम रकम दिएमा अपमानजनक शब्द बोल्ने, व्यङ्ग्य गर्ने वा घरको गेटमै अवरोध सिर्जना गर्ने जस्ता ‘चन्दा आतंक’ मच्चाउने गरेका छन् । यति मात्र होइन, यसरी जबर्जस्ती वा अनुनयविनय गरेर संकलन गरिएको रकमको सदुपयोग झनै ठूलो प्रश्नको घेरामा छ । यदि देउसीभैलो खेलेर उठाएको चन्दा विद्यालयको भौतिक सुधार, पुस्तकालय स्थापना, मठमन्दिरको संरक्षण, बाटोघाटो निर्माण, बाढीपहिरो पीडितको उद्धार वा असहाय र विपन्न वर्गको सामाजिक विकासमा लगाइन्छ भने त्यो अत्यन्तै प्रशंसनीय र स्वागतयोग्य कार्य हो । विगतमा कैयौँ गाउँमा देउसीभैलोको पैसाले विद्यालय चलेका, आमा समूहका भवन बनेका र एम्बुलेन्स खरिद गरिएका गौरवशाली उदाहरणहरू पनि छन् । तर, आज अधिकांश समूहको उद्देश्य समाजसेवा होइन, केवल ‘पिकनिक’ र ‘मोजमस्ती’ बनेको छ । केही दिनको नाचगानपछि संकलित लाखौँ रुपियाँ रमणीय स्थलमा गएर वनभोज खाने, महँगो मदिरा र मासुमा उडाउने अनि व्यक्तिगत मोजमस्तीमै सिध्याउने हो भने त्यसलाई कसरी सामाजिक वा सांस्कृतिक अभियान भन्ने ? समाजको पसिनाको कमाइलाई व्यक्तिगत विलासितामा खर्च गर्नु नैतिकता र सामाजिक उत्तरदायित्व दुवैको विरुद्धमा छ । अभिभावकको दायित्व र युवापुस्ताको भविष्य यस विकृतिको जरो केलाउँदै जाँदा हामी अभिभावकहरूको भूमिका र कमजोरीलाई पनि नकार्न मिल्दैन । आजका कतिपय अभिभावकहरू आफ्ना छोराछोरीले आधुनिक गीतमा नाचेको, महँगो लुगा लगाएर हिँडेको र साथीभाइसँग रमाइलो गरेको देखेर मक्ख पर्ने गर्दछन् । छोराछोरी राति अबेरसम्म घर नफर्कँदा पनि चाडपर्व त हो नि भन्दै बेवास्ता गर्ने प्रवृत्ति बढ्दो छ । तर, अभिभावकज्यूहरू ! छोराछोरीको बाहिरी नाच र क्षणिक रमाइलो हेरेर मात्र दङ्ग नपरौँ । उनीहरू कस्तो समूहमा हिँडिरहेका छन्, कस्तो सङ्गतमा परेका छन्, राति कहाँ र के गर्दै छन्, कतै कुलत र दुव्र्यसनको शिकार त बनिरहेका छैनन् भन्नेतर्फ गम्भीर ध्यान दिनु आवश्यक छ ।
किशोरावस्था र युवावस्था अत्यन्तै संवेदनशील उमेर हो । यस उमेरमा साथीभाइको लहलहैमा लागेर गलत बाटो रोज्ने खतरा उच्च रहन्छ । चाडपर्वको स्वतन्त्रताको नाममा अनियन्त्रित छोड्दा उनीहरूको सुरक्षा, नैतिक आचरण र पढाइप्रतिको जिम्मेवारी ओझेलमा पर्न सक्छ । केही दिनको अनियन्त्रित मनोरञ्जनले भोलि उनीहरूको सिङ्गो भविष्य र सुन्दर सम्भावनाहरू अन्धकारमा नपरून् भन्नेमा अभिभावकहरू समयमै सचेत हुन जरुरी छ । सन्तानलाई आधुनिकता सिकाउनु राम्रो हो, तर त्योसँगै आफ्नो मौलिक संस्कार, अनुशासन र सामाजिक मर्यादा सिकाउनु अभिभावकको प्रथम कर्तव्य हो ।

स्थानीय सरकार, प्रशासन र सरोकारवालाको भूमिका

सांस्कृतिक विकृति नियन्त्रण गर्नु केवल व्यक्ति वा परिवारको मात्र जिम्मेवारी होइन, यसमा स्थानीय सरकार, प्रशासन, नागरिक समाज र सांस्कृतिक सङ्घसंस्थाहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र खेलिने देउसीभैलोलाई व्यवस्थित, मर्यादित र सभ्य बनाउन स्पष्ट आचारसंहिता लागू गर्नुपर्दछ ।राति निश्चित समयपछि चर्को ध्वनिमा बाजागाजा बजाउन रोक लगाउने, मदिरा सेवन गरी होहल्ला गर्नेलाई कानुनी दायरामा ल्याउने र जबर्जस्ती चन्दा असुली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने कार्यमा प्रशासनले कडाइ गर्नुपर्छ । यो सरकारले २४ घण्टा देउसीभैलो खोलेर राम्रो ग¥यो तर माथि भनिएका विकृति विसङ्गतिप्रति पनि सचेत भई नियन्त्रणका उपायहरू खोजोस् भन्ने हाम्रो चाहना छ । यसका लागि स्थानीय सरकार र सांस्कृतिक प्रतिष्ठानहरूले मौलिक लोकबाजा, मौलिक भट्याउने शैली र सभ्य देउसीभैलो प्रतियोगिताहरूको आयोजना गरी उत्कृष्ट समूहलाई पुरस्कृत गर्ने नीति अवलम्बन गर्न सकेमा युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण पुनः जागृत हुन सक्छ । विद्यालय तथा कलेजहरूले पनि पाठ्यक्रम र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई तिहार र देउसीभैलोको वास्तविक ऐतिहासिक तथा सांस्कृतिक महत्व बुझाउन आवश्यक छ ।

कस्तो देउसीभैलो आजको आवश्यकता हो ?

हामीले खोजेको देउसी भनेको कानको जाली फुट्ने ठूलो आवाज होइन, बरु समाज रूपान्तरण गर्ने ठूलो उद्देश्य हो । हामीले चाहेको देउसी भनेको देखावटी र महँगा पोसाकको प्रदर्शन होइन, बरु हृदयदेखि निस्कने उच्च संस्कार र विनम्रता हो । अनि हामीले अपेक्षा गरेको देउसी भनेको रातभरको अनियन्त्रित उन्माद र मदिराको नशा होइन, बरु पुस्तौँपुस्तासम्म रहने सामाजिक सद्भाव, भाइचारा र आत्मीयता हो । संस्कृति जोगाउने नाममा संस्कार नै नगुमाऔँ । देउसीको भाकामा विकृति होइन, नेपालीपन गुञ्जाऔँ । दक्षिणाको थैलीमा व्यक्तिगत स्वार्थ होइन, सामाजिक सेवाको सपना सजाऔँ । प्रविधि र आधुनिकतालाई अस्वीकार गर्न सकिँदैन, तर आधुनिकताले हाम्रो मौलिकतालाई निल्नु हुँदैन । मादलको ताल र डिजिटल प्रविधिको सन्तुलित संयोजन गर्दै भट्याउने कलामा समसामयिक चेतना, देशभक्ति, सामाजिक विकृतिविरुद्धको सन्देश र सकारात्मक ऊर्जा भरेर देउसी भैलोलाई अझ समृद्ध बनाउन सकिन्छ ।

आत्मसमीक्षा र आगामी यात्रा

अन्त्यमा, एउटा सचेत नागरिकको नाताले मैले लेखेका यी शब्दहरू कसैप्रति लक्षित वा कसैको व्यक्तिगत आलोचना गर्नका लागि होइनन् । तर, समाजको ऐनाका रूपमा प्रस्तुत गरिएका यी यथार्थहरू यदि कसैको व्यवहार, शैली वा भोगाइसँग मेल खान गएमा त्यसलाई केवल संयोग मात्र नठान्नुहोला, बरु आफ्नो व्यवहार सच्याउने एक ‘आत्मसमीक्षाको ऐना’का रूपमा पनि सम्झनुहोला । यदि मेल खाँदैन र हजुरहरूको देउसीभैलो सभ्य, सुसंस्कृत र मर्यादित छ भने त्यसलाई सुखद संयोग र गौरवको विषय मान्नुहोला । चाडपर्वहरू आउँछन्, जान्छन् । तर तिनीहरूले समाजमा छोडेर जाने सन्देश र संस्कार दीर्घकालीन हुन्छन् । तिहारलगत्तै आउने प्रकृति र सूर्य उपासनाको महान् पर्व छठको समेत सम्पूर्ण नेपालीजनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना टक्र्याउँदछु ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शुक्रबार