कोहलपुर नगरपालिकाद्धारा ज्येष्ठ नागरिक मिलन, स्वास्थ्य परीक्षण तथा शुभकामना आदानप्रदान



कोहलपुर ।

कोहलपुर नगरपालिका महिला, बालबालिका तथा समावेशी उपशाखाको आयोजनामा ज्येष्ठ नागरिक मिलन , स्वास्थ्य परीक्षण तथा शुभकामना आदानप्रदान गरिएको छ । शुक्रबार ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप, अनुभव र जीवनभोगाइलाई एकअर्काबीच साझा गर्दै उनीहरूको सामाजिक योगदानको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति भएको बताए।

उनीहरूसँग रहेको ज्ञान, अनुभव र सीप नयाँ पुस्ताका लागि महत्वपूर्ण मार्गदर्शन बन्न सक्ने उल्लेख गर्दै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो। जीवनका विभिन्न उतारचढाव पार गर्दै परिवार र समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ज्येष्ठ नागरिकको अनुभवलाई सम्मान गर्नुपर्ने बताउँदै नगरप्रमुख आचार्यले राज्यले ज्येष्ठ नागरिकलाई सम्मानित र सुरक्षित महसुस गराउन विभिन्न प्रयास गरिरहेको उल्लेख गरे। ज्येष्ठ नागरिकलाई राज्य र समाज आफ्नै साथमा रहेको अनुभूति गराउनु आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्वले परिवार तथा आफन्तबीच भेटघाट, सद्भाव र आत्मीयता बढाउने अवसर प्रदान गर्ने बताइन्। चाडपर्वको खुसीमा ज्येष्ठ नागरिकलाई समेत सहभागी गराउने र उनीहरूबीच आपसी सम्बन्ध तथा आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारिन्। ज्येष्ठ नागरिकलाई चाडपर्वका अवसरमा भेटघाट र शुभकामना आदानप्रदानमार्फत खुसी साटासाट गर्ने वातावरण निर्माण गर्दा उनीहरूमा अपनत्व र सामाजिक सम्मानको भावना विकास हुने उपप्रमुख सुवेदीको विश्वास थियो।

ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप, अनुभव र जीवनभोगाइलाई एकअर्काबीच साझा गर्दै उनीहरूको सामाजिक योगदानको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला, बालबालिका तथा समावेशी उपशाखा महिला विकास निरीक्षक तारा भण्डारीले बताइन् । उनले कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। उमेर बढ्दै जाँदा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना र आवश्यक परामर्श महत्वपूर्ण हुने विषयमा जोड दिइएको थियो। ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति परिवार, समाज र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सहभागीहरूको धारणा थियो।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनका विभिन्न कालखण्डमा भोगेका संघर्ष, अनुभव, सामाजिक तथा पारिवारिक जिम्मेवारी र समाज परिवर्तनका घटनाबारे विचार आदानप्रदान गरेका थिए। उनीहरूले विगतका अनुभव स्मरण गर्दै अहिलेको पुस्ताले समाज, परिवार, संस्कार र संस्कृतिप्रतिको जिम्मेवारी बुझ्नुपर्नेमा जोड दिएका थिए। पछिल्लो समय आधुनिक जीवनशैली र पारिवारिक संरचनामा आएको परिवर्तनका कारण ज्येष्ठ नागरिकहरू एक्लोपन तथा उपेक्षाको अनुभूति गर्न बाध्य भइरहेको विषयसमेत कार्यक्रममा उठाइएको थियो। ज्येष्ठ नागरिकलाई परिवार र समाजबाट माया, सम्मान, आत्मीयता तथा उचित हेरचाह आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

उनीहरूले ज्येष्ठ नागरिकको सम्मान औपचारिक कार्यक्रम र दिवसमा मात्र सीमित हुन नहुने भन्दै दैनिक व्यवहारमै सम्मान र सद्भाव प्रदर्शन गर्नुपर्ने धारणा राखेका थिए। ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, मनोरञ्जन र सामाजिक सहभागिताका अवसर सुनिश्चित गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिएका थिए। कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई आफ्ना अनुभव र विचार व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै आपसी सम्बन्ध, सद्भाव र आत्मीयता अभिवृद्धिमा सहयोग पुर्याएको विश्वास गरिएको छ। विशेषगरी चाडपर्वका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकमा खुसी, उत्साह र सामाजिक अपनत्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २२ गते शनिबार