निर्यातभन्दा २२ गुणा बढी फूल आयात



नन्दराम जैशी । सुर्खेत ।

नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा फूलको माग पनि बढेको छ । घर, मठमन्दिरदेखि सार्वजनिक स्थलसम्म सजावटका लागि सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग बढ्दै गएको हो । यसले तिहारलाई पुष्प व्यवसायीका लागि वर्षकै महत्वपूर्ण व्यापारिक मौसम पनि मानिन्छ । यही अवसरमा यस वर्ष देशभर करिब ६४ करोड ५० लाख रूपैयाँँ बराबरको फूल, माला तथा गमलाको कारोबार हुने अनुमान गरिएको छ ।

तर फूलको माग र कारोबार बढ्दै जाँदा नेपाली पुष्प बजार भने स्वदेशी उत्पादनबाट आत्मनिर्भर छैन । नेपालमा फूलको उत्पादन र व्यवसाय विस्तार भइरहे पनि निर्यातभन्दा आयात करिब २२ गुणा बढी रहेको छ । तिहारमा सयपत्री र मखमली फूलको माग सबैभन्दा बढी हुने गर्छ । विशेषगरी भाइटीका, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा घर र मन्दिर सजावटका लागि फूलमाला अनिवार्यजस्तै बनेको हो ।

पछिल्लो समय धार्मिक तथा सांस्कृतिक प्रयोजनसँगै होटल, रेस्टुरेन्ट, कार्यालय, सभा–समारोह र व्यावसायिक प्रतिष्ठानमा समेत फूलको प्रयोग बढ्दै गएको छ ।फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यस वर्ष तिहारमा मात्रै करिब ६४ करोड ५० लाख रूपैयाँँ बराबरको फूल, माला र गमलाको कारोबार हुने प्रक्षेपण गरिएको छ । काठमाडौँ उपत्यका फूलको सबैभन्दा ठूलो बजारका रूपमा रहेको छ भने पोखरालगायत प्रमुख सहरमा पनि करोडौँ रूपैयाँँको कारोबार हुने अनुमान छ ।

बढ्दो मागले पुष्प उत्पादक, नर्सरी सञ्चालक, थोक तथा खुद्रा विक्रेता र माला बनाउने श्रमिकलाई आम्दानीको अवसर दिएको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन् । तर स्वदेशी उत्पादनले सबै प्रकारका फूल र बजारको माग एक्लै धान्न नसक्दा भारतलगायतका मुलुकबाट फूल तथा पुष्पजन्य सामग्री आयात गर्नुपर्ने अवस्था कायम रहेको उनले बताए ।

‘तिहारमा बजारमा देखिने फूलको चहलपहलले नेपाली पुष्प व्यवसायको सम्भावना देखाए पनि आयातको हिस्सा बढ्नुले आन्तरिक उत्पादन प्रणाली अझै आत्मनिर्भर बन्न सकेको छैन,’ उनले भने, ‘पुष्प व्यवसाय कृषि उत्पादन, उद्यमशीलता, स्वरोजगार, महिला सहभागिता र ग्रामीण अर्थतन्त्रसँग जोडिएको सम्भावनायुक्त उद्योगका रूपमा विकास हुँदै गएको छ ।’

स्वदेशी उत्पादनले मात्र माग धान्न नसक्दा मुख्यगरी भारतबाट समेत लाखौँको सङ्ख्यामा सयपत्री फूलका मालाहरू आयात गर्ने गरिएको उनले जानकारी दिए । उनका अनुसार क्षेत्रीय बजारहरूमा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी माग रहन्छ, भने पोखरा जस्ता प्रमुख सहरहरूमा मात्रै दुुई करोड रूपैयाँँभन्दा बढीको फूल कारोबार हुने अनुमान छ । पोखरा महानगरपालिकाले फूलको बढ्दो मागलाई लक्षित गरी व्यावसायिक किसानलाई खेतीमा आकर्षित गर्न थालेको छ ।

यो वर्ष पोखराको बजारमा खपत हुने फूलमध्ये करिब ७० प्रतिशत स्थानीय उत्पादनले नै धान्ने महानगरपालिकाको दाबी छ । बाँकी ३० प्रतिशत फूल छिमेकी जिल्ला र आसपासका पालिकाबाट आपूर्ति हुनेछ । केही वर्ष अघिसम्म अधिकांश फूल बाहिरबाट आयात हुने गरेकोमा महानगरकै सक्रियतामा उत्पादनलाई जोड दिएर आयात प्रतिस्थापन गर्न थालिएको हो ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष महानगरका विभिन्न वडाका करिब दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक सयपत्री तथा मखमली फूलखेती गरिएको छ । महानगरमा हाल १६५ जना किसान तथा फ्लोरिकल्चर एसोसिएसन नेपालमा आबद्ध ४२ वटा नर्सरी व्यावसायिक फूलखेतीमा संलग्न छन् ।

तिहारको समयमा पोखरामा मात्रै करिब २ देखि ३ लाख वटा माला र सोही अनुपातमा खुला फूलको माग हुने अनुमान छ । विगतमा भारतबाट ठूलो परिमाणमा फूल आयात गर्नुपर्ने बाध्यता रहे पनि पछिल्ला वर्षहरूमा स्थानीय उत्पादन बढेपछि बाह्य निर्भरता ह्वात्तै घटेको कडरिया बताउँछन् ।

देशका अन्य प्रदेशहरूमा फूल आयात हुुने गरे पनि कर्णाली प्रदेश भने फूलमा आत्मनिर्भर रहेको भूमि व्यवस्था कृृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । विगत तीन वर्षयता फूल आयात ठप्प रहेको वीरेन्द्रनगर नगरपालिकाको दाबी छ । कर्णालीका लागि आवाश्यक फूल विषेशगरी सुुर्खेतको छिन्चुु क्षेत्रमा ठूलो परिणाममा उत्पादन हुुने गरेको फूल व्यवसायी विनोद शाहीले बताए ।

आयात १०५.६६ प्रतिशतले वृद्धि

नेपालको पुष्प व्यवसाय विस्तार हुँदै गए पनि आयातमा निर्भरता झन् बढेको देखिएको छ । भन्सार विभागको आर्थिक वर्ष २०८२–०८३ को तथ्यांकअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको निर्यातभन्दा आयात करिब २२ गुणा बढी भएको छ । विभागका अनुसार यस वर्ष पुष्प तथा पुष्पजन्य वस्तुको आयात २६ करोड १३ लाख ७२ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आयात १२ करोड ७० लाख ८९ हजार मात्र थियो ।

यसरी एक वर्षमै आयात १०५.६६ प्रतिशतले बढेको हो । अर्कातर्फ, निर्यात भने घटेको छ । यस वर्ष १ करोड १५ लाख ७८ हजारको मात्र निर्यात भएको छ, जुन अघिल्लो वर्षको २ करोड १३ लाख ६० हजारको तुलनामा ४५.७९ प्रतिशतले कम हो । तर नेपालमा मुख्यतया जीवित बिरुवा लाइभ प्लान्ट, अनरुटेट कटिङ र स्लिप आयात हुुने गरेको छ भने विभिन्न फूलका बीउबिजन, फ्रेस कट फ्लावर, बल्ब, ट्युबर र ट्युबर रुट्स आयात हुन्छन् ।

भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगाण्डा, बेल्जियम, इटाली, यूएई, ताइवान र इजरायलबाट यस्ता वस्तु भित्रिन्छन् । निर्याततर्फ बल्ब, राइजम, जीवित बिरुवा, ड्राइ फ्लावर र कट फ्लावर अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा र भुटानलगायतका देशमा गएका छन् । पुष्प व्यवसायको कूल वार्षिक कारोबार भने सुधार भएको छ । आर्थिक वर्ष २०८१–०८२ मा ३ अर्ब ३७ करोडको कारोबार भएकामा यस वर्ष १६.९१ प्रतिशतले बढेर ३ अर्ब ९४ करोडभन्दा बढी पुगेको अनुमान छ ।

आर्थिक वर्ष २०८२–०८३ मा आलंकारिक पोट बिरुवा ११२.१९ करोड, सयपत्री तथा मखमली माला ९१.७० करोड, कट फ्लावर्स ७९.४० करोड, ल्यान्डस्केप तथा गार्डेनिङ २९.२७ करोड र सिजनल फूल बिरुवा २८.७८ करोडको कारोबार हुुने अनुमान गरिएको थियो । तर, सामग्री आपूर्ति २५.२८ करोड, खुला फूल १५ करोड र अन्य (कार्पेट ग्रास, बल्ब, राइजम, ट्युबर, टिस्युकल्चर आदि) ११.६६ करोड र निर्यात १.१६ करोड भएको थियो । व्यवसायमा माग र आपूर्ति वार्षिक १० देखि १५ प्रतिशतले बढ्दै आए पनि आन्तरिक उत्पादन वृद्धिदर ७ देखि ९ प्रतिशतको हाराहारीमा रहेको तथ्यांक छ ।

यही अन्तरले आयात बढाएको फ्लोरिकल्चर एसोसिएसन नेपालका सचिव राजुु तामाङले बताए । उनका अनुसार गत आर्थिक वर्ष देशको आर्थिक अवस्था, पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयन नहुनु र सरकारले कृषिसम्बन्धी केही नीति परिमार्जन गरेकाले पुष्प तथा पुष्पजन्य वस्तुको आयातमा समस्या भएको थियो । समयमै आवश्यक बीउबिजन र मदर प्लान्ट आयात गर्न नसक्दा आन्तरिक उत्पादन घटेको र वार्षिक कारोबारमै असर परेको व्यवसायीले जनाएका छन् ।

३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती

फ्यानका अनुसार हाल ५४ जिल्लामा ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको छ । यस व्यवसायमा १ हजार ४४५ भन्दा बढी व्यवसायी संलग्न छन् । जसमा नर्सरी व्यवसायी ५९४, लुज फ्लावर उत्पादक ४१८, कट फ्लावर खुद्रा व्यवसायी २९१, कट फ्लावर उत्पादक ११०, इनपुट सप्लायर्स २५ र पुष्प थोक व्यवसायी ७ रहेका छन् । व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोडभन्दा बढी रहेको छ, भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६२ हजार ५०० भन्दा बढी जनशक्तिले रोजगारी पाएको उल्लेख छ ।

नेपालमा विसं २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको इतिहास छ । २०४९ सालसम्म नर्सरी व्यवसायी करिब ८० जना मात्र थिए । सोही वर्ष फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) स्थापना भएपछि पुष्पको व्यावसायिक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको सचिव तामाङले बताए । उनका अनुसार पुुष्प खेती विस्तारमा राज्यबाटै उचित लगानीको खाँचो छ ।

यसैबीच, काठमाडौँ महानगरपालिकाले आगामी तिहार पर्वलाई लक्षित गर्दै प्राकृतिक फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि नगरभित्रका विभिन्न ३३ वटा स्थान निर्धारण गरेको छ । महानगरपालिकाले प्लास्टिकका फूल तथा माला बिक्रीमा पूर्ण रोक लगाउँदै स्वदेशी एवम् स्थानीय उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणसँग आग्रह गरेको हो ।

महानगर प्रहरी बलले सार्वजनिक सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीलाई सहज र व्यवस्थित बनाउन निश्चित स्थानहरू तोकेको जानकारी दिएको छ । सूचनामा प्लास्टिकका फूल, गुच्छा तथा सजावटका अनधिकृत सामग्री बिक्री वितरण नगर्न कडा चेतावनी दिइएको छ । महानगरका अनुसार बजार अनुगमनका क्रममा प्लास्टिकजन्य वा तोकिएको गुणस्तर कायम नभएका सामग्री बिक्री गरेको पाइएमा तिनलाई तत्काल जफत गरिनेछ ।

महानगरपालिकाले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगञ्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्यु रोड जस्ता प्रमुख व्यापारिक क्षेत्रहरूमा बिक्री स्थल तय गरेको छ । यसै गरी हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल तथा भृकुटीमण्डपलगायतका स्थानमा पनि व्यवसायीहरूले फूल तथा माला बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वदेशी फूलको बजार प्रवर्धन र बिक्री वितरणलाई थप व्यवस्थित बनाउन सम्बन्धित व्यापारी, व्यवसायी र सर्वसाधारण उपभोक्ताहरूलाई महानगरले तोकेका स्थानहरूको मात्र प्रयोग गर्न अपिल गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २२ गते शनिबार