८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयम्‌सेविकाका रूपमा सक्रिय कमला कार्की



काठमाडौं ।

उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । स्वास्थ्य स्वयम्‌सेविकाका रूपमा तीन दशकभन्दा लामो समय बिताएकी उनी अहिले पनि आफ्नो समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र बालबालिकाको स्वास्थ्य सुरक्षाका अभियानमा सक्रिय छिन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५, तुलसीधारा निवासी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयम्‌सेविकाका रूपमा काम गर्न थालेकी हुन् । आफ्नो क्षेत्रका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र पोलियो खोपबाट वञ्चित नहून् भन्ने उद्देश्यले आफू स्वयम्‌सेवामा लागेको उनी बताउँछिन् ।

‘हाम्रो एरियामा भिटामिन ‘ए’ र पोलियो खुवाउँदा कोही नछुटून् लाग्थ्यो । सेवा गर्ने भावनाले तालिम लिएर यो काममा लागेँ,’ कार्कीले भनिन् । लामो समयसम्म समुदायमा स्वास्थ्य सेवा पुर्‍याउन योगदान गरेकी कार्कीलाई २०८० सालमा काठमाडौं महानगरपालिकाले सम्मान गरेको थियो । महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा ६० वर्षीय सेवा अवधि पूरा गरेका स्वयम्‌सेविकालाई सम्मान गरिएको थियो । त्यतिबेला उनी ८० वर्षकी थिइन् ।

कार्की २०८० सालमै औपचारिक रूपमा सेवाबाट सेवानिवृत्त भइसकेकी छन् । तर, उमेर र सेवानिवृत्तिले उनको सेवाभावलाई रोक्न सकेको छैन । अहिले पनि आफूले सकुञ्जेल समुदायका लागि काम गरिरहेको उनी बताउँछिन् ।भिटामिन ‘ए’ खुवाउने अभियानदेखि डेङ्गु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रममा समेत उनी सहभागी हुँदै आएकी छन् ।

८३ वर्षको उमेरमा पनि समुदायको स्वास्थ्यप्रति उत्तिकै चासो र जिम्मेवारीबोध राख्ने कार्कीको सक्रियता स्वयंसेवा केवल जिम्मेवारी नभई सेवाभाव र समर्पणको उदाहरण बनेको छ । औपचारिक जिम्मेवारीबाट अवकाश पाए पनि समाजप्रतिको दायित्व पूरा गर्न उमेरले छेक्दैन भन्ने सन्देश उनको निरन्तर सक्रियताले दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार