अपराह्नपछि मौसममा सुधार आउने अनुमान



काठमाडौँ ।

चक्रवात ‘अर्नब’ को प्रभाव शनिबार अपराह्नपछि क्रमश कम हुँदै जाने अनुुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा र हिमपातको गतिविधि पनि क्रमिक रूपमा घट्ने अनुमान छ । तर, चक्रवातको प्रभाव कम हुँदैमा सबै क्षेत्रमा तत्काल मौसम पूर्ण रूपमा सफा हुने निश्चित नहुने भएकाले स्थानीय मौसमको अवस्थालाई ध्यान दिनुपर्ने मौसमविद्हरूको सुझाव छ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेसँगै देशभरको मौसम प्रभावित भएको हो ।

चक्रवातका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ, भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना बढेको छ । लगातारको वर्षाले प्रमुख नदी तथा जलाधार क्षेत्रमा जलसतह बढ्ने र पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको विज्ञहरू बताउँछन् । बिहीबार साँझदेखि काठमाडौँ उपत्यकामा सामान्य वर्षा सुरु भएको थियो । शुक्रबार पनि उपत्यकासहित देशका अधिकांश स्थानमा आकाश धुम्म रहनुका साथै विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसममा आएको परिवर्तनले जनजीवन, कृषि गतिविधि तथा हवाई र सडक यातायातमा समेत प्रभाव पारेको छ । भने मौसम पूर्वानुमान तथा बाढीसम्बन्धी सूचनाप्रति सचेत रहन सम्बन्धित निकायले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर न्यूनचापीय प्रणालीमा परिणत भएको हो । त्यसैले भारतमा जस्तो शक्तिशाली प्रभाव नेपालमा नदेखिए पनि यसको असरले वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना बढाएको छ ।

विभागका मौसमविद् डेभिड ढकालका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । शनिबार अपराह्नपछि भने चक्रवातको प्रभाव र वर्षाको गतिविधि क्रमशः कमजोर हुँदै जाने उनको भनाइ छ । मौसमविद्का अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मौसम बदली रहने पूर्वानुमान छ । यी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बदली रहने र केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने अनुुमान गरिएको थियो । पछिल्लो वर्षा विवरणले पनि चक्रवातको प्रभाव देशका विभिन्न भूभागमा फैलिएको देखाएको छ । विभागका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको छ । यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसममा आएको परिवर्तनका कारण विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने व्यक्ति, पर्यटक, पदयात्री र स्थानीय बासिन्दाले थप सावधानी अपनाउनुपर्ने देखिएको छ । हिमपात र वर्षाले सडक तथा पदमार्ग प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्नुपर्ने विभागको सुझाव छ ।

नदी जलाधारमा मध्यम बाढीको जोखिम

चक्रवात ‘अर्नब’को प्रभावसँगै देशका प्रमुख नदी तथा जलाधार क्षेत्रमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वसूचना जारी गर्दै नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार क्षेत्रमा मध्यम जोखिम रहेको जनाएको छ । यी नदीका जलाधार तथा सहायक क्षेत्रमा उल्लेख्य वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले नदीको जलसतह बढ्न सक्ने महाशाखाको आकलन छ । विशेषगरी नारायणी, कोशी र तिनका शाखा नदीका साथै बागमती, कमला तथा कन्काई जलाधारमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

लगातारको वर्षाले नदीमा पानीको बहाव बढाउनुका साथै साना खोलानाला र सहायक नदीमा समेत आकस्मिक बाढीको जोखिम सिर्जना गर्ने अनुुमान छ । त्यसैले मुख्य नदीमा तत्काल ठूलो बाढी नदेखिए पनि तटीय क्षेत्र, नदी किनार र होचा भूभागमा बसोबास गर्ने नागरिकले जोखिमलाई सामान्य रूपमा लिन नहुने महाशाखाको चेतावनी छ । महाकाली, कर्णाली, पश्चिम राप्ती तथा बबई नदीमा भने जलसतह सामान्य रूपमा बढ्ने अनुमान गरिएको छ । यी नदीहरूमा तत्काल उच्च जोखिम नरहे पनि वर्षाको वास्तविक मात्रा र जलाधार क्षेत्रमा परेको पानीका आधारमा नदीको अवस्था परिवर्तन हुन सक्ने भएकाले निगरानी आवश्यक रहेको छ ।

शनिबार पनि कोशी, बागमती, कमला र कन्काई जलाधार क्षेत्रमा हल्कादेखि मध्यम वर्षा जारी रहने पूर्वानुमान छ । पछिल्ला तीन दिनको वर्षाका कारण नदीको जलसतह उच्च बिन्दुमा पुग्न सक्ने महाशाखाले जनाएको छ । तथापि, प्रमुख नदीहरूमा सतर्कता तह पार हुने सम्भावना न्यून रहेको उल्लेख गरिएको छ । आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने र समग्र बाढी जोखिम घट्दै जाने अनुमान गरिएको छ । आगामी कात्तिक १६ र १७ गतेसम्ममा देशका प्रमुख नदीहरूको जलसतह क्रमश सामान्य अवस्थामा फर्किने प्रक्षेपण गरिएको छ ।

चक्रवातको प्रभावले हुने वर्षाको जोखिम सबै क्षेत्रमा समान नहुने भएकाले भौगोलिक अवस्थाअनुसार फरक–फरक प्रकृतिका विपद्को सम्भावना देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रमा छोटो अवधिमा ठूलो पानी पर्दा साना खोलानाला तथा नदीमा पानीको बहाव एक्कासि बढ्न सक्ने अनुुमान छ । यसले नदी आसपासका बस्ती, सडक, पुल तथा खेतीयोग्य जमिनमा क्षति पु¥याउन सक्ने जोखिम रहेको छ । चक्रवातको प्रभावले उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिमसमेत बढेको छ । विशेषगरी कोशी र नारायणी नदी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोजन्य जोखिम रहन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाकेको धान तत्काल नकाट्न सुझाव

मौसममा आएको प्रतिकूलताले कृषि क्षेत्रमा समेत असर पार्ने देखिएको छ । विशेषगरी धान पाकेर भित्र्याउने तयारीमा रहेका किसानलाई तत्काल धान नकाट्न मौसमविद्ले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बिहीबारदेखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले कृषि कार्यमा सावधानी अपनाउन आग्रह गरेकी छन् । भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्रै रहेको स्पष्ट पार्दै लगातारको मौसम बदली र वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पाकेको धान काट्ने काम तत्काल नगर्न उनले किसानलाई सुझाव दिइन् ।

पोखरेलले मौसम सफा भएपछि आइतबारदेखि मात्रै धान काट्ने काम अघि बढाउन उपयुक्त हुने बताएकी छन् । वर्षा भइरहेका बेला काटिएको धान खेतमै सुकाउन तथा सुरक्षित रूपमा भित्र्याउन कठिन हुने भएकाले मौसम अनुकूल भएपछि मात्रै कटानी गर्दा सहज हुने उनको भनाइ छ । धानबाली भित्र्याउने समयमै मौसम प्रभावित हुँदा किसानलाई थप समस्या पर्न सक्ने देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार