अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष केसीको दाबी



गोपाल प्रसाद भट्टराई

अर्घाखाँची । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के।सी।ले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको डिजाइनमा बनेको गम्भिर आरोप लगाउनुभएको छ । यो सरकारबाट देशको र जनताको हित नभई मुलुक थप संकटतर्फ धकेलिने उहाँको दाबी छ । राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, विदेशी हस्तक्षेपविरुद्ध सचेत रहन र देशको हितका पक्षमा दृढतापूर्वक उभिन नेपाली जनतालाई अध्यक्ष के।सी।ले आह्वान समेत गर्नुभएको छ । कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार अर्घाखाँचीको ऐतिहासिक अर्घा–रानीगैरामा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको विशाल सांस्कृतिक जनसभालाई सम्बोधन गर्दै अध्यक्ष के।सी।ले यस्तो आव्हान गर्नुभएको हो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष के।सी।ले वर्तमान राजनीतिक अवस्थामाथि लामो टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई अमेरिकी साम्राज्यवादले खटाएका प्रतिनिधिहरूको ‘ससुराली’को संज्ञा दिनुभएको छ । विदेशी शक्तिको आडमा अघि बढ्ने र घरज्वाइँ बनेर बस्नेहरूले देश निर्माण गर्न नसक्ने उहाँको टिप्पणी छ । राष्ट्रिय स्वाधीनता जोगाउन नेपाली जनता सचेत र संगठित हुनुपर्नेमा जोड दिँदै अध्यक्ष के।सी।ले आवश्यक परे देशका लागि ज्यान दिन समेत तयार रहनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वाधीनताको पक्षमा इरानका नागरिकजस्तै दृढतापूर्वक उभिन नेपाली जनतालाई उहाँको अपिल छ ।

संघीयतामाथि प्रश्न उठाउँदै अध्यक्ष के।सी।ले यसले देशको अर्थतन्त्रमा अनावश्यक भार थपेको दाबी गर्नुभयो । संघीयता खारेज नगरे मुलुककै अस्तित्व संकटमा पर्न सक्ने चिन्ता व्यक्त गर्दै उहाँले देशको आर्थिक अवस्था र भविष्यलाई ध्यानमा राखेर यसबारे गम्भीर निर्णय तत्काल गर्नुपर्ने धारणा राख्नुभयो । सत्तामा पटक–पटक पुगेका पुराना राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष के।सी।ले विगतमा पटक–पटक गल्ती सच्याउन र आफूलाई सुधार्न आग्रह गर्दा पनि नसुनेका कारण भदौ २३ र २४ गतेको परिस्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो । राजनीतिक दलहरूले अबपनि जनताको भावना र असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके गम्भीर परिणाम भोग्नुपर्ने उहाँको चेतावनी छ ।

जनतालाई पनि राजनीतिक भ्रममा नपर्न आग्रह गर्दै अध्यक्ष के।सी।ले ‘रुखको बाँदर झुक्किए जसरी’ झुक्किन नहुने बताउनुभयो । राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र देशको भविष्यलाई केन्द्रमा राखेर राजनीतिक शक्तिको मूल्याकंन गर्नुपर्नेमा उहाँको जोड छ । विभिन्न वक्ताद्वारा समसामयिक राजनीतिक विषयमा धारणाः राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के।सी।को अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष कल्पना पोखरेल, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष कुलराज खनाल, अखिल छैठौंका केन्द्रिय महासचिव पुरन पोख्रेल र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य ठाकुर खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।

नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, राजनीतिक दलहरूको भूमिका र जनताको पक्षमा आवाज उठाउनुपर्ने आवश्यकताबारे आ–आफ्ना धारणा राख्नुभएको छ । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम सहितका केन्द्र तथा जिल्ला तहका रक्तिम कलाकारले विभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । हजारौँ दर्शकको उपस्थितिमा प्रस्तुत गरिएका गीत तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाउनुका साथै नेपाली मौलिक संस्कृति संरक्षण, सामाजिक विकृतिविरुद्ध जनचेतना र वर्गीय एकताको सन्देश प्रवाह गरेका छन् ।

रानीगैरामा पञ्चायतकालदेखि राजमोको जनसभाः राष्ट्रिय राजनीतिदेखि सांस्कृतिक जागरणसम्म राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले कोजाग्रत पूर्णिमाको अवसरमा ऐतिहासिक अर्घा–रानीगैरामा हरेक वर्ष यस्तो सभा तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । पञ्चायतकालदेखि निरन्तरता दिंदै आएको यस कार्यक्रमलाई राष्ट्रिय राजनीतिको समीक्षा, जनतामाझ पार्टीको धारणा सम्प्रेषण र सरकार तथा सत्तासीन दललाई खबरदारी गर्ने महत्वपूर्ण मञ्चका रूपमा राष्ट्रिय जनमोर्चाले उपयोग गर्दै आएको छ । कार्यक्रम मार्फत राष्ट्रिय राजनीतिको अवस्था, पार्टीको भूमिका र समसामयिक विषयमा जनतालाई जानकारी गराउने, सरकारको ध्यानाकर्षण गराउने र जनताका मुद्दामा राजनीतिक बहस सिर्जना गर्ने उद्देश्य राखिएको उक्त पार्टीले जनाएको छ ।

सभाको अर्को महत्वपूर्ण पक्ष जनवादी सांस्कृतिक अभियान पनि हो । रक्तिम सांस्कृतिक अभियानका गीत तथा नृत्यमार्फत पाश्चात्य संस्कृतिको हस्तक्षेप रोक्न, नेपाली मौलिक संस्कृति संरक्षण गर्न र समाजमा बढ्दै गएका सांस्कृतिक विकृतिका विरुद्ध जनचेतना फैलाउन आह्वान गरिँदै आएको छ । अर्घा, कोजाग्रत पूर्णिमा र वर्गीय आन्दोलनको ऐतिहासिक महत्वलाई जनस्तरमा स्थापित गर्न जनगायक जीवन शर्माले ‘अर्घाको डाँडैमा पूर्णिमाको दिन, आऊ सबै दुःख बिसाई बसौँ एकैछिन’ बोलको गीत समेत गाउनुभएको छ ।

यस गीतले अर्घाको भौगोलिक पहिचानलाई मात्रै होइन, पूर्णिमाको अवसरमा हुने जनभेला, श्रमजीवी जनताको जीवन र वर्गीय एकताको भावनालाई समेत सांस्कृतिक रूपमा अभिव्यक्त गरेको छ । अर्घाको रानीगैरामा हरेक कोजाग्रत पूर्णिमामा आयोजना हुने यो कार्यक्रम राष्ट्रिय जनमोर्चाका लागि राजनीतिक विचार सम्प्रेषण, सत्ता र सरकारलाई खबरदारी र जनवादी संस्कृतिको संरक्षणलाई एकै ठाउँमा जोड्ने वार्षिक मञ्चका रूपमा स्थापित हुँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार