नन्दराम जैशी । सुर्खेत ।
वर्षभरी सुनसानजस्तै देखिने गाउँबस्ती यतिबेला भरिभराउ छन् । घरआँगनमा आफन्तको जमघट छ भने गाउँका बाटाघाटामा चहलपहल बढेको छ । कतै परिवारका सदस्य भेटघाटमा रमाइरहेका छन् त कतै दसैँका लागि घर लिपपोत र खानपिनको तयारी पनि चलिरहेको छ । दसैँको आगमनसँगै गाउँघरमा फर्किएको यो रौनकले सहरको व्यस्तता भने क्रमशः घटाउँदै लगेको छ । सुर्खेतको लेकवेशी नगरपालिका–१० साटाखानी गाउँ यसको एउटा प्रतिनिधिमूलक उदाहरण हो ।
अन्य समयमा सुनसान देखिने यो गाउँमा यतिबेला चहलपहल बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाहिर रहेका स्थानीय धमाधम फर्किन थालेपछि गाउँमा दसैँको रौनक छाएको हो ।स्थानीय कृष्णा शर्माका अनुसार दसैँ सुरु हुनुअघि गाउँमा महिला र वृद्धवृद्धा मात्रै बढी देखिन्थे । युवा पुस्ता अध्ययन र रोजगारीका लागि बाहिर हुँदा गाउँ सुनसानजस्तै हुन्थ्यो । तर, दसैँ नजिकिएसँगै बाहिर रहेका परिवारका सदस्य घर फर्किएपछि गाउँको माहोल फेरिएको उनले बताइन् ।
‘दसैँअघि गाउँमा महिला र वृद्धवृद्धा मात्रै देखिन्थे, अहिले सबै फर्किएपछि गाउँमा रमाइलो भएको छ,’ उनले भनिन् । दसैँले गाउँमा ल्याएको यो चहलपहल साटाखानीको दृश्य मात्रै होइन । रोजगारी, अध्ययन र अवसरको खोजीमा सहर पसेका नागरिक चाडपर्व मनाउन जन्मथलो फर्किएसँगै देशभरका अधिकांश गाउँबस्तीमा यस्तै रौनक देखिन थालेको छ । लामो समयदेखि घरपरिवारबाट टाढा रहेका सदस्यहरू एकै ठाउँमा भेला हुँदा गाउँमा भेटघाट, आत्मीयता र खुसीको माहोल बनेको हो ।
तर, गाउँमा दसैँको रौनक बढिरहँदा सहरका सडक, बजार र बस्ती भने क्रमशः सुनसान बन्दै गएका छन् ।विशेषगरी रोजगारी, व्यापार, अध्ययन र सेवाका कारण मानिसको बाक्लो बसोबास भएका सहरबाट दसैंँ मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेको हो । सुर्खेतको वीरेन्द्रनगरमा पनि यसको प्रभाव देखिन थालेको छ । सामान्य समयमा मानिसको चहलपहलले व्यस्त रहने बजार र सडकमा दसैँ नजिकिँदै जाँदा भीड घट्दै गएको छ ।
वीरेन्द्रनगरमा बसोबास गर्ने ठूलो जनसङ्ख्यामध्ये दसैँका बेला उल्लेख्य सङ्ख्यामा मानिस बाहिरिने गरेका छन् । स्थानीयका अनुमानअनुसार दसैँै अवधिमा करिब दुई लाख मानिसले वीरेन्द्रनगर छाड्ने गर्छन् । उनीहरू गाउँ फर्किएसँगै सहरको व्यस्तता घट्ने र गाउँको रौनक बढ्ने गरेको जुम्ला तातोपानी–४ का धनबहादुुर गौतमले बताए । ‘दसैँ पर्व परिवारसँग पुनर्मिलन हुने, आफन्तसँग सम्बन्ध नवीकरण गर्ने र आफ्नो जन्मथलो तथा संस्कृतिसँग जोडिने अवसर हो,’ उनले भने, ‘वर्षभरी कामको व्यस्ततामा रहेका मानिसका लागि दसैँ घर फर्किने र पारिवारिक सम्बन्धलाई समय दिने विशेष अवसर बनेको छ ।’
दसैँका बेला गाउँ फर्किनेहरूका लागि घरपरिवारसँग भेटघाट गर्नु नै सबैभन्दा ठूलो खुसी रहेको उनले बताए । ‘सहरको व्यस्त जीवनमा एकअर्कालाई पर्याप्त समय दिन नसकेका परिवारका सदस्यहरू चाडपर्वमा एकै ठाउँमा भेला हुन्छन्,’ उनले थपे, ‘घरमा पाक्ने परिकार, आफन्तसँगको भलाकुसारी, बालबालिकाको रमाइलो र गाउँघरको सामूहिक वातावरणले दसैँलाई थप विशेष बनाउँछ ।’ गाउँ फर्किएका मानिसले आफ्नो समुदायको संस्कार, परम्परा र चलनअनुसार चाड मनाउने तयारी पनि थालेका छन् ।
घरआँगन सफा गर्ने, परिवारका सदस्यका लागि आवश्यक सामग्री जुटाउने र टीकाको तयारी गर्ने कामले गाउँमा दसैँको वातावरण थप जीवन्त बनेको संस्कृतविद् रमानन्द आचार्य बताउँछन् । ‘विशेषगरी रोजगारीका लागि टाढा रहेका युवा घर फर्किँदा गाउँमा उनीहरूको उपस्थिति थप अर्थपूर्ण हुने गरेको छ,’ उनले भने, ‘परिवारका ज्येष्ठ सदस्यका लागि छोराछोरी तथा नातिनातिना भेट्ने अवसर जुट्छ भने बालबालिकाले गाउँको वातावरण, आफन्त र स्थानीय संस्कृतिसँग नजिक हुने मौका पाउँछन् ।’
चाडपर्वले जोड्दै गाउँ र सहर
दसैँका बेला गाउँ फर्किने प्रवृत्ति काठमाडौँ उपत्यकादेखि जिल्ला सदरमुकामसम्म देखिन्छ । काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै प्रमुख नाका र बसपार्कमा भीड बढेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्नुले पनि चाडपर्वमा घर फर्किने नागरिकको ठूलो सङ्ख्या रहेको देखाउँछ । व्यापार, जागिर, अध्ययन तथा अन्य कामका लागि जिल्ला सदरमुकाममा बस्दै आएका मानिस गाउँबस्ती फर्किएपछि बजार सुनसान देखिन थालेका छन् । पसलहरू कम खुल्ने र मानिसको आवागमन घट्ने हुँदा बजारको नियमित गतिविधिमा समेत प्रभाव पर्ने गरेको छ ।
यी दृश्यले दसैँको प्रभाव सहर र गाउँमा फरक ढंगले देखिने गरेको स्पष्ट हुुन्छ । गाउँमा मानिसको उपस्थिति बढेर सामाजिक गतिविधि चलायमान हुन्छन् भने सहरमा दैनिक कामकाज र बजारको चहलपहल केही समयका लागि घट्ने गरेको छ । गाउँबाट सहरतर्फ हुने बसाइँसराइ र अवसरको खोजी नेपाली समाजको नियमित यथार्थ बनेको छ । शिक्षा, रोजगारी र सुविधाको खोजीमा धेरै मानिस गाउँ छाडेर सहरमा बस्दै आएका छन् । तर, दसैँजस्ता ठूला चाडपर्वले उनीहरूलाई फेरी आफ्नो जन्मथलो र परिवारसँग जोड्ने गरेको छ । दसैँको यो आवागमनले गाउँमा चहलपहल बढाउने र सहरलाई केही समय शान्त बनाउने भए पनि यसको मूल पक्ष पारिवारिक पुनर्मिलन र सांस्कृतिक निरन्तरता हो ।
उपत्यकाबाट तीन लाखभन्दा बढी बाहिरिए
नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि शुुक्रबारसम्म तीन लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घटस्थापनायता करिब ४५ हजार सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो । उनका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये एक लाख ७५ हजार ८६ जना महिला र दुुई लाख १० हजार १६७ जना पुरुष छन् । दसैँ मनाउन घर फर्किनेक्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढिरहेको छ ।
उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको पनि आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । ती नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङुगा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्