चाडपर्वमा डिजिटल अपराध चुनौती



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपाल प्रहरीले दसैँतिहार लगायतका चाडपर्वमा डिजिटल प्लेटफर्म दुरुपयोगमार्फत हुनसक्ने अपराधलाई नयाँ चुनौतीको रूपमा हेरिएको जनाएको छ । नेपाल प्रहरीका अनुसार डिजिटल अपराधमा पनि ठगी र सामाजिक सद्भाव बिथोल्ने गतिविधि हुने जोखिम बढेको छ । प्रहरीले सबै चुनौतीहरूलाई केलाएर त्यसविरुद्ध सुरक्षा योजना चुस्त बनाएको जानकारी दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ताको कार्यालयले दिएको जानकारीअनुसार चाडपर्व सुरक्षा योजनामा परम्परागत अपराधसँगै डिजिटल तथा साइबर अपराधलाई विशेष चुनौतीका रूपमा समेटिएको छ ।

चाडपर्वमा नगद कारोबार, अनलाइन किनमेल र रेमिट्यान्सको प्रयोग बढ्ने भएकाले बैंक, वित्तीय संस्था, सुनचाँदी पसल तथा व्यक्तिगत खातालाई लक्षित गरी चोरी, ठगी र डिजिटल माध्यमबाट आर्थिक अपराध हुन सक्ने जोखिमको आकलन गरिएको हो । साथै, सामाजिक सञ्जालको दुरुपयोग गरी गलत, भ्रमपूर्ण वा द्वेषपूर्ण सूचना फैलाएर साम्प्रदायिक सद्भावमा खलल पु¥याउने तथा अनावश्यक त्रास सिर्जना गर्ने गतिविधिलाई पनि प्रहरीले निगरानीमा राखेको जनाएको छ ।

यसका साथै प्रहरीले चोरी, डकैती, लुटपाट, ठगी, दुर्घटना, साम्प्रदायिक तनाव, घरेलु हिंसा, जुवातास तथा सार्वजनिक स्थलमा हुने उच्छृंखल गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ । विशेषगरी चाडपर्वका बेला मानिसहरू घर तथा गाउँ फर्कने भएकाले सहरी क्षेत्रमा लामो समय घर खाली रहने र त्यसको मौका छोपेर चोरी तथा डकैती बढ्न सक्ने प्रहरीको आकलन छ । यिनै चुनौतीहरूलाई ध्यानमा राखेर प्रहरीले नागरिकको सहज आवागमन, जनधनको सुरक्षा तथा शान्तिपूर्ण रूपमा चाडपर्व मनाउने वातावरण सुनिश्चित गर्न ५० हजार चार सय ५८ प्रहरी परिचालन गर्ने गरि सुरक्षा योजना बनाइएको जनाएको छ ।

अपराधीहरूले प्रविधिको दुरुपयोग गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर सुरक्षामा पनि प्रविधिकै प्रयोग गर्ने रणनीति बनाएको जानकारी दिएको छ । त्यसका लागि साइबर ब्युरो तथा जिल्ला र स्थानीय तहसम्म सामजिक सञ्जाल मनिटरिङ युनिटहरूलाई सक्रिय बनाइएको पनि प्रहरीले जानकारी दिएको छ । यसैगरी, भिडभाड हुने व्यापारिक क्षेत्र, सीमा नाका र संवेदनशील स्थानमा ड्रोन क्यामेराको प्रयोग बढाएको र हजारभन्दा बढी स्थानमा जडान गरिएका सीसीटीभीको पनि अधिकतम प्रयोग गरिने जनाएको छ ।

साथै तालिमप्राप्त कुकुर परिचालन गरी विस्फोटक पदार्थ तथा शंकास्पद वस्तुको पहिचान गर्ने व्यवस्था पनि गरिएको प्रहरीले जानकारी दिएको । प्रहरीले सुरक्षा योजनामा जनचेतना, जोखिम न्यूनीकरणको पूर्वतयारी, कानुन उल्लङ्घन गर्नेलाई तत्काल कारबाही र प्रविधिको उच्च प्रयोगलाई समेटिएको जनाएको छ । भीडभाड तथा प्रमुख चोकमा नागरिकलाई तत्काल सुरक्षा सूचना र सतर्कताका सन्देश दिन सार्वजनिक उद्घोषणा प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ ।

बाँकेमा धार्मिक विवाद चुनौती 

२०८० सालमा सामाजिक सञ्जालमा सामाजिक रूपले कुनै भूमिका नभएका अपरिचित व्यक्तिले गरेको असामाजिक पोष्टले नेपालगन्जमा अशान्ति सिर्जना गरेको थियो । धार्मिक समुदायका केही व्यक्तिहरू एकआपसमा मुठभेडमा उत्रिने र ढुंगामुढा गर्न थालेपछि सहर नै अशान्त हुन पुग्यो । उक्त विवाद बढ्दै जाने खतराकाबीच प्रशासनले कफ्र्यु जारी गरेर स्थिति सामान्य अवस्थामा फर्काउनुपरेको थियो । एक जना गलत व्यक्तिका कारण कति गम्भीर समस्या निम्तन सक्छ भन्ने उदाहरण नेपालगन्जका सामु उक्त घटना रहेको छ ।

अहिले पनि त्यस्ता व्यक्तिहरूले शान्त वातावरण बिथोल्न सक्ने चुनौती रहेको छ । जसलाई सुरक्षा निकायले पनि यस वर्षको चाडबाडको सुरक्षामा आइपर्न सक्ने मुख्य चुनौतीमध्ये एक मानेको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौर यस वर्षको चाडबाडलक्षित सुरक्षा विश्लेषणमा धार्मिक विवाद, चोरी र सामाजिक सञ्जालको दुरुपयोग मुख्य चुनौतीको रूपमा आकलन गरिएको बताउँछन् । उनले यिनै चुनौतीहरूलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थालाई कडा पारिएको बताएका छन् ।

मुख्य चुनौतीहरूमा प्रहरीले शतर्कतापूर्वक ध्यान केन्द्रित गरेको र सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरी सक्रिय भएर लागेको उनले बताएका छन् । सामाजिक सञ्जालमा आउने नकारात्मक र एकअर्काको आस्थामा असर पार्ने सामग्रीहरूबारे नागरिकहरूले पनि सचेतता अपनाउनुपर्ने उनले बताए । डीएसपी राठौरका अनुसार चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत बाँके जिल्लामा एक हजार सात जना प्रहरी खटाइने पनि राठौरले जानकारी दिए । सुरक्षाका लागि प्रहरीले सबै किसिमका रणनीतिहरू अपनाउने पनि उनको भनाइ छ ।

यसैगरी, बाँकेमा चाडबाडलाई सुरक्षित, संयमित र हर्षाेल्लासपूर्वक मनाउने वातावरणका लागि जिल्ला प्रशासन कार्यालयले पनि समन्वय बैठक आह्वान गरिसकिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार समन्वय बैठक गरेर विभिन्न निर्णयहरू गरिएका छन् । विशेषगरी दुर्गा मूर्ति स्थापना र पूजास्थलको सुरक्षाका लागि त्यस्तो मूर्तिको लागि समुदायका अगुवाहरूलाई नै जिम्मेवार बनाइने, स्थानीय सरकार र स्थानीय अगुवाहरूबीच समन्वय गरिने लगायतका उपायमा उक्त बैठकमा छलफल गरिने उनको भनाइ छ ।

यसैगरी, जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बसी सुरक्षित यातायात व्यवस्थापनका लागि पनि विभिन्न निर्णयहरू गरिएका छन् । दसैँ, तिहार लगायतका चाडपर्वहरूलाई मध्यनजर गर्दै सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउने निर्णय गरेको छ । उक्त बैठकले सडक डिभिजन नेपालगन्ज र सम्बद्ध निकायले राष्ट्रिय राजमार्ग तथा अन्य सडकखण्डहरूको नियमित मर्मतसम्भार गर्ने र जिल्ला यातायात कार्यालयले ट्राफिक संकेतहरूको मर्मत तथा व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गर्ने निर्णय गरेको छ ।

यसैगरी, यातायात व्यवसायीहरूले सवारीसाधनको सिट क्षमताअनुसार दोहोरो नपर्ने गरी, पारदर्शी ढंगले तोकिएको मितिदेखि अग्रिम टिकट बिक्री खुला गर्ने, पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने र अनलाइन माध्यमबाट टिकट बुकिङ गर्दा ठगी नहुने गरी सुरक्षित तथा विश्वासनीय बनाउनुपर्ने पनि निर्णय गरिएको छ । सार्वजनिक सवारीसाधनहरूले तोकिएको स्थानमा मात्र यात्रु चढाउने, ओराल्ने र तोकिएको भाडादरभन्दा बढी भाडा लिन नपाउने व्यवस्था मिलाउने र यात्रुहरूको सामान सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

सार्वजनिक सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीहरूले फोटोसहितको अनिवार्य परिचयपत्र लगाउनुपर्ने तथा लामा दूरीका सवारीसाधनमा अनिवार्य रूपमा डिजिटल निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ । आरक्षित समूहका लागि तोकिएबमोजिम सिटको व्यवस्था मिलाउने, यातायात कर्मचारीलाई यात्रुमैत्री अभिमुखीकरण दिने तथा निश्चित काम गरेपछि आरामको व्यवस्था मिलाउने निर्णय पनि उक्त बैठकले गरेको छ ।

पाँचदेखि १० मिनेटमै घटनास्थल पुग्ने लक्ष्य 

प्रहरीले अपराध वा आकस्मिक घटना भएको अवस्थामा ५ देखि १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी रणनीति बनाएको दाबी गरेको छ । प्रहरीले मोटरसाइकल र गाडीसहित छिटो प्रतिक्रिया दिन क्विक रेस्पोन्स टिम, सादा पोसाकका गस्ती टोली तथा कोर्डन एण्ड सर्चको रणनीतिलाई यस वर्ष अझ विस्तृत रूपमा परिचालन गरिएको जनाएको छ । प्रहारीले प्रदेशगत रूपमा सबैभन्दा बढी प्रहरी कोशी प्रदेशमा परिचालन गर्ने भएको छ ।

कोशीमा आठ हजार एक सय ३३ प्रहरी परिचालन हुनेछन् भने लुम्बिनी प्रदेशमा सात हजार नौ सय २१, काठमाडौँ उपत्यकामा ७ हजार ६ सय ६८, मधेश प्रदेशमा सात हजार दुई ३०, कर्णालीमा पाँच हजार तीन सय १४, गण्डकीमा पाँच हजार एक सय ८८, सुदूरपश्चिममा चार हजार पाँच सय पाँच र बागमतीमा चार हजार चार सय ९९ प्रहरी परिचालन गर्ने योजना छ । प्रहरीले यात्रुहरूको सहजता र सुरक्षाका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । त्यस्ता सहायता कक्षहरूमा एक हजार एक सय ६५ प्रहरी जनशक्ति खटाइने जनाइएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा एक सय ८ वटा सहायता डेस्क स्थापना गरी सात सय ५० प्रहरी परिचालन गर्ने योजना छ । सीमा क्षेत्रमा सबैभन्दा बढी सहायता डेस्क कोशी प्रदेशमा ४२, मधेशमा २९ र सुदूरपश्चिममा १८ स्थानमा रहने जनाइएको छ । प्रहरीले यसवर्ष चाडपर्वमा हुने यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन यातायात व्यवस्था विभागसँग समन्वय गरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थामा हुने कारोबारलाई सुरक्षित बनाउनुका साथै बजार अनुगमन र नियमनलाई समेत कडाइ गरिने सुरक्षा योजनामा उल्लेख छ ।

नागरिकलाई सतर्क रहन आग्रह

नेपाल प्रहरी प्रधान कार्यालयले चाडपर्वका बेला नागरिक स्वयंले अपनाउनुपर्ने सावधानीलाई पनि सुरक्षा योजनाको महत्वपूर्ण पक्षमा राखेको जानकारी दिएको छ । लामो समय घर छाड्दा ढोका–झ्याल, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

त्यसैगरी ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण कसैलाई नदिन, शंकास्पद लिंक, क्युआर कोड, लटरी वा अनलाइन फेस्टिवल अफरमा विश्वास नगर्न पनि प्रहरीले आग्रह गरेको छ । यसैगरी, एआईबाट बनाइएका आवाज तथा भिडिओ वा अधिकारीको नाममा आउने असामान्य रकम मागसम्बन्धी सन्देशमा तत्काल विश्वास नगर्न प्रहरीले सचेत गराएको छ । मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, भीडमा बालबालिका तथा ज्येष्ठ नागरिकलाई एक्लै नछाड्न र जुवातास, अवैध सट्टेबाजी तथा लागूऔषधबाट टाढा रहन पनि प्रहरीले आग्रह गरेको छ ।

नेपाल प्रहरीले चाडपर्व सुरक्षित बनाउने काम प्रहरीको मात्र जिम्मेवारी नभई नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सम्बन्धित सबै निकायको साझा दायित्व भएको जनाएको छ । नागरिकबाट समयमै प्राप्त हुने सूचनाले अपराध रोकथाम तथा अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा आधिकारिक सम्पर्क माध्यममा जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार