चाडपर्वलक्षित बजार अनुगमन तीव्रः उपभोक्ता सचेतनामा जोड



वीरेन्द्रनगर ।

चाडपर्व नजिकिएसँगै सुर्खेतमा बजार अनुगमन तीव्र पारिएको छ । बजारमा खाद्यवस्तुको माग बढ्ने र यही अवसरमा म्याद गुज्रिएका, गुणस्तरहीन तथा अस्वच्छ खाद्यवस्तुको बिक्रीवितरण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अनुगमन तीव्र पारिएको हो । खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्न नियमित अनुगमनसँगै व्यवसायी तथा उपभोक्तालाई सचेत बनाउने अभियानलाई समेत प्राथमिकता दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले चाडपर्वको समयमा बजार, होटल, रेष्टुरेन्ट तथा खाद्य उद्योगको अनुगमनलाई तीव्र बनाएको जनाएको छ ।

कार्यालयका अनुसार बजार अनुगमनको उद्देश्य कमजोरी भेटिएका व्यवसायीलाई कारबाही गर्नु मात्रै नभई खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित उपभोगबारे जिम्मेवार बनाउनु पनि हो । यसका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम र उपभोक्ताबीच समन्वय तथा सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सचेतनामूलक सन्देश प्रवाहका लागि आयोजित कार्यक्रममा सहभागीहरूले चाडपर्वका बेला मात्रै नभई वर्षभरि नै खाद्यवस्तुको उत्पादन, भण्डारण, बिक्रीवितरण र उपभोगमा स्वच्छता कायम गर्नुपर्नेमा जोड दिएका हुुन् ।

बजारमा उपलब्ध खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्न अनुगमन प्रभावकारी हुनुपर्ने र त्यससँगै व्यवसाय सञ्चालनलाई व्यवस्थित तथा सहज बनाउने वातावरणसमेत निर्माण गर्नुपर्ने उनीहरूको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख श्रीराम न्यौपानेका अनुसार साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा बजार, होटल, रेष्टुरेन्ट तथा खाद्य उद्योगमा कुल ४८५ पटक अनुगमन गरिएको छ । अनुगमनका क्रममा एक लाख ८६ हजार ४७७ रूपैयाँँ बराबरका खाद्यवस्तु तथा सामान जफत गरी नष्ट गरिएको उनले जानकारी दिए ।

यस अवधिमा सर्भिलेन्स ऐनबमोजिम ४० वटा नमुना संकलन र ९४ वटा तरकारी तथा फलफूलमा विषादी परीक्षण गरिएको उनले बताए । ‘सामान्य अवस्थामा पनि बजार अनुगमन नियमित रूपमा हुँदै आएको छ,’ उनले भने, ‘तर चाडपर्वको समयमा खाद्यवस्तुको कारोबार र उपभोग बढ्ने भएकाले अनुगमनलाई थप तीव्र बनाएका छौँ ।’ कार्यालयले आफ्नै पहलमा अनुगमन गर्ने तथा अन्य सरकारी निकायसँगको समन्वयमा संयुक्त अनुगमनसमेत सञ्चालन गर्दै आएको उनले बताए ।

उनका अनुसार कार्यालयको कार्यक्षेत्र कर्णाली प्रदेशका सात जिल्लासम्म फैलिएकाले प्रत्येक व्यवसाय र बजारसम्म नियमित रूपमा पुग्न जनशक्ति तथा भौगोलिक अवस्थाका कारण चुनौती छ । त्यसैले खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको मात्रै नभई प्रदेश सरकार, स्थानीय तह र अन्य नियामक निकायको समेत भएको उनको भनाइ छ । ‘हामी नपुगेका व्यवसायी र बजारसम्म पुग्न स्थानीय तह तथा प्रदेश सरकारले पनि सक्रिय भूमिका खेल्नुपर्छ,’ न्यौपानेले भने, ‘बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय बढाउनुका साथै व्यवसायीलाई नियमको पालना गर्न प्रेरित गरिरहेका छौँ ।’

सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गर्ने व्यवसायीप्रति प्रशासन कडा हुनुपर्ने बताएका छन् । खाद्य स्वच्छता र गुणस्तरमा ध्यान नदिने व्यवसायीलाई एकपटक सुधारको अवसर दिन सकिने भए पनि त्यही गल्ती दोहो¥याए तत्काल कारबाही गर्नुपर्ने उनको निर्देशन छ । भान्साघर र शौचालयको स्वच्छतालाई विशेष महत्व दिनुपर्ने उनको तर्क छ । ‘प्राकृतिक स्रोत, कृषि सम्भावना र विविधताका दृष्टिले उन्नत कर्णाली प्रदेशलाई खाद्य स्वच्छता र गुणस्तरका क्षेत्रमा पनि उदाहरणीय बनाउन सबै निकाय लाग्नुपर्छ,’ उनले भने, ‘यहाँ उत्पादन हुने खाद्यवस्तुको स्वच्छता, सुरक्षित उपभोग र गुणस्तरीय बजार व्यवस्थापनमा समेत कर्णालीलाई अब्बल बनाउनुपर्छ ।’

उद्योग वाणिज्य संघ सुर्खेतका उपमहासचिव पूर्णदेव अधिकारीले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको बताए । खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने अभियानमा व्यवसायीलाई अनावश्यक झन्झट दिनेभन्दा नियमको पालना गराउँदै व्यवसाय सञ्चालनलाई व्यवस्थित बनाउनु आवश्यक रहेको उनको तर्क छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका कोषाध्यक्ष ईश्वर अधिकारीले खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी जनचेतना विस्तारमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

समाचार, सूचना तथा सचेतनामूलक सामग्रीमार्फत उपभोक्तालाई जिम्मेवार बनाउनुका साथै व्यवसायीलाई पनि नियम पालना गर्न प्रेरित गर्न सकिने उनको धारणा छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतको स्थापना र कार्यक्षेत्र विस्तारसँगै कर्णाली प्रदेशमा खाद्य स्वच्छता तथा गुणस्तर निगरानीको संस्थागत जिम्मेवारी अघि बढाइएको छ । कार्यालयका अनुसार विसं २०७५ भदौ ९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका रूपमा स्थापना भएको यो कार्यालय विसं २०७८ कात्तिक १ गतेदेखि प्रयोगशालासहितको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका रूपमा स्तरोन्नति भएको हो ।

कार्यालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० जिल्लामा फैलिएको छ । तीमध्ये सात जिल्लामा कार्यालयले प्रत्यक्ष रूपमा काम गर्दै आएको छ । यसअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जुम्ला पनि रहेको छ, जसको कार्यक्षेत्र जुम्ला, कालीकोट र मुगु जिल्ला रहेको कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार