
बाँके ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ । सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु पाँच सय छुट गरी बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार शुक्रबारसम्म अरुवा मोटा चामल ५० किलो, अरुवा मध्यम चार दशमलव ७५ क्विन्टल, मध्यम सिल्की चामल एक दशमलव ५० क्विन्टल, स्टिम जिरा मसिनो चाम ६४ दशमलव ५० क्विन्टल र स्टिम जिरा फोर्टिफाइड चामल पाँच क्विन्टल बिक्री भइसकेको छ ।
मोटा चामल रु पाँच हजार ६००, अरुवा मध्यम चामल रु पाँच हजार ८००, मध्यम सिल्की चामल रु पाँच हजार ९००, स्टिम जिरा मसिनो र स्टिम जिरा फोर्टिफाइड चामल रु आठ हजार ५०० प्रतिक्विन्टलका दरले सहुलियतसहित बिक्री गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । कार्यालयले बजार मूल्यभन्दा कम दरमा विभिन्न प्रकारका चामल बिक्री गर्न थालेपछि उपभोक्ताले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयातमा नेपालगन्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्र पुग्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्