अवरुद्ध सडक खुलाउन माग



जुम्ला ।

तातोपानी गाउँपालिका–७ र ८ का दर्जनौँ बस्तीलाई कर्णाली राजमार्गसँग जोड्ने त्रिवेणी–टोप्ला सडक करिब एक सातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा भेरीखोला क्षेत्रका नागरिकलाई आउजाउमा सकस भएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि तिला गाउँपालिका–४ क्षेत्रमा खसेको ठूलो पहिरोले सडक अवरुद्ध भएको थियो । त्यसपछि स्थानीयको आवतजावतदेखि दैनिक उपभोग्य वस्तुको आपूर्तिसम्म प्रभावित भएको हो ।

भौगोलिक रूपमा जुम्लाकै विकट मानिने तातोपानी–७ र ८ अन्तर्गत भेरीखोला क्षेत्रमा सडक अवरुद्ध भएपछि सदरमुकाम खलंगा आउजाउ गर्ने सर्वसाधारण गाउँमै रोकिएको तातोपानी–७ टोप्लाका स्थानीय सन्देश शाहीले बताए । उनका अनुसार वर्षायाम सुरु भएयता त्रिवेणी–टोप्ला सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । तर अवरुद्ध सडक समयमै नखुल्दा हरेक पटक स्थानीयले सास्ती खेप्नुपरेको उनको गुनासो छ ।

‘विशेषगरी बिरामीलाई उपचारका लागि सदरमुकाम ल्याउन समस्या भएको छ,’ उनले भने, ‘सडक अवरुद्ध हुँदा नियमित रूपमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीसाधन त्रिवेणीमै रोकिएका छन् ।’ सडक नखुल्दा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत समस्या देखिएको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा राज्यका स्रोतसाधन सधैँ कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक खुलाउन केन्द्रित हुन्छन् । त्रिवेणी–टोप्ला सडक भने अन्तिममा मात्रै खुलाउने विभेदपूर्ण व्यवहार भएको उनले बताए ।

त्रिवेणी–टोप्ला सडकमा वर्षायाममा पटक–पटक पहिरो जाने गरेको स्थानीय बताउँछन् । सडकको भौगोलिक अवस्था र पहिरोको जोखिमलाई हेरेर आवश्यक मेसिन तथा जनशक्ति उक्त क्षेत्रमा स्थायी वा नियमित रूपमा परिचालन गर्नुपर्ने उनीहरूको माग छ । यो सडक तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दाका लागि सदरमुकामसँगको महत्वपूर्ण सम्पर्कमार्ग हो । तर नागरिकको ठूलो निर्भरता रहेको सडकको स्तरोन्नति र नियमित मर्मतसम्भार सरकारको प्राथमिकतामा नपरेको भेरीखोलाका बासिन्दाको गुनासो छ ।

सडकको दीर्घकालीन समाधानका लागि पहिरो खसेपछि डोजर पठाउनेभन्दा जोखिमयुक्त स्थान पहिचान गरी स्थायी प्रकृतिका संरचना निर्माण गर्नुपर्ने उनीहरूको माग छ । यता सडक डिभिजन कार्यालय जुम्लाले भने सीमित स्रोतसाधनका कारण एकैपटक सबै सडकमा मेसिन परिचालन गर्न नसकिएको जनाएको छ । सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार अविरल वर्षापछि कर्णाली राजमार्गअन्तर्गत गगने खोला र राँचुली क्षेत्रमा ठूलो पहिरो गएपछि प्राथमिकताका आधारमा उक्त क्षेत्रको सडक खुलाउन मेसिन परिचालन गरिएको थियो ।

त्यसपछि नाग्म–गमगडी सडकसमेत सञ्चालनमा ल्याइएको उनले बताए । उनका अनुसार कर्णाली राजमार्गको अवरोध हटाएपछि मेसिन जुम्ला फर्किएको छ । अब त्रिवेणी–टोप्ला सडकको पहिरो पन्छाउन डोजर र टिप्परसहितको टोली परिचालन गर्ने तयारी गरिएको छ । यस वर्ष वर्षायाममा अवरुद्ध भएका सडक खुलाउन विगतको तुलनामा तीव्र रूपमा काम गरिएको छ । वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भए पनि प्राथमिकताका आधारमा सडक सञ्चालनमा ल्याउने काम भइरहेको कार्यालयको दाबी छ ।

नेपालीहरूको ठूलो पर्व दसैँ नजिकिँदै गर्दा त्रिवेणी–टोप्ला सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने दबाबसमेत बढेको छ । दसैँका बेला गाउँबाट सदरमुकाम तथा अन्य क्षेत्रमा आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले सडक समयमै सञ्चालनमा नआए सर्वसाधारणले थप समस्या भोग्नुपर्ने अवस्था छ । सडक डिभिजन जुम्लाले दसैँलाई लक्षित गर्दै जिल्लाका सडकलाई भरपर्दो र सहज बनाउने गरी सबै संयन्त्र परिचालन गर्ने तयारी गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार