निर्माणाधीन घरमा घाइते अवस्थामा रावत फेला



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर– ११ स्थित शिक्षण अस्पताल कोहलपुर नजिकैको निर्माणाधीन घरमा एकजना किशोर घाइते अवस्थामा फेला परेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाँभारका योगेश रावत घाइते अवस्थामा फेला परेका हुन् । उनी निर्माणाधीन घरको एउटा कोठामा घाइते अवस्थामा फेला परेका थिए । सामान्य घाइते अवस्थामा भेटिएका रावत प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार रावतलाई शनिबार बिहान ३ः१५ बजेतिर फेला पारिएको हो । लगत्तै प्रहरीको टोली गएर उनलाई उद्धार गरेको डीएसपी डमरपालले बताए । उनलाई आवश्यक सोधपुछसमेत गरिएको उनको भनाइ छ । रावतले आफूहरू कोहलपुर–१ बाट लक्ष्मी मावि हुँदै कोहलपुर आउने बेलामा मोटरसाइकल दुर्घटनामा परेको बताएको डीएसपी डमरपालले जानकारी दिए ।

रावतसँगै कोहलपुर– १ का अन्दाजी १८ वर्षीय आर्यन विक र बर्दियाको बाँसगढी– ५ घर भई हाल कोहलपुरको कौशिलानगरमा बस्ने सौर्य भन्ने विवेक सुनारसमेत मोटरसाइकलमा सवार थिए । ‘कोहलपुर–२ लक्ष्मी माविनजिकै मोटरसाइकल सामान्य दुर्घटनामा परेको रहेछ । मोटरसाइकलमा सामान्य क्षति देखिन्छ । रावतलाई पनि त्यतिबेला नै सामान्य चोट लागेको रहेछ । उनीहरूको अवस्था हेर्दा मादक पदार्थ सेवन गरेर चलाएको देखिन्छ । सामान्य दुर्घटनालगत्तै उनीहरू आत्तिँदै त्यहाँबाट हिँडेका रहेछन्,’ उनले भने ।

घटनापछि रावत दशबिघा क्षेत्रको निर्माणाधीन घरमा भेटिएको र फरार रहेका अरु दुई जनालाई आइतबार साँझ नियन्त्रणमा लिइएको कोहलपुर प्रहरीले जनाएको छ । उनीहरूले चलाएको लु६०प ५३५२ नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिइएको डीएसपी डमरपालले बताए । मोटरसाइकल विवेकले चलाएको पाइएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार