कोहलपुरमा घरमै सुत्केरी हुँदा आमा–शिशुको मृत्यु



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

घरमै बच्चा जन्माउँदा बाँकेको कोहलपुरमा एक १७ वर्षीया किशोरीको निधन भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया निवासी १७ वर्षीया लालमती पुनमगरको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो । लालमतीले शनिबार बिहान ५ः३० बजे आफ्नो पहिलो बच्चालाई जन्म दिएकी थिइन् । तर, बच्चाको पनि जन्मिने वित्तिकै निधन भयो । बच्चा जन्मेपछि लालमतीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।

कोहलपुर– १३ का वडा सदस्य बल बहादुर घर्ती भन्छन्, ‘वडामा निकै दुःखद् घटना घटेको छ । सुत्केरी अवस्थामा एक किशोरीका साथै नवजात शिशुको समेत निधन भएको छ ।’ वडा सदस्य घर्तीका अनुसार गम्भीर अवस्थामै अस्पताल पु¥याइएकी लालमतीलाई शनिबार बिहान ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । अत्यधिक रक्तस्रावका कारण किशोरीको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक लालमतीको केही दिनदेखि स्वास्थ्यमा समस्या आएको थियो । पारिवारिक स्रोतका अनुसार उनले अत्याधिक पेट दुखिरहेको बताइरहेकी थिइन् । शनिबार बिहान एक्कासी सुत्केरी व्यथा लागेपछि उनले घरमै बच्चा जन्माइन् ।

‘जन्मिने बित्तिकै बच्चा निधन भयो । लगत्तै आमाले बच्चा मरेको थाहा पाइन । उत्ति बेला बेहोस भएकी थिइन् । हतारहतार अस्पताल लैजादाँ पनि बचाउनँ सकिएन,’ वडा सदस्य घर्तीले भने । मृतक लालमती पुनमगरको जन्म वि.स. २०६५ सालमा सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा भएको कोहलपुर नगरपालिका वडा नम्बर १३ ले जनाएको छ । वडा अध्यक्ष डम्बर बहादुर खड्काका अनुसार मृतक लालमती भरैया निवासी अंक बहादुर पुन मगरकी श्रीमती हुन् । अंक बहादुर र लालमतीको एक वर्ष अघि विवाह भएको थियो । अंक बहादुर अहिले मजदुरीका लागि भारतमा छन् ।

लालमती घरमा सासू र ससुरासँग बस्दै आएकी थिइन् । पुनमगरको परिवार एक वर्षअघि मात्रै सल्यानबाट कोहलपुर–१३ भरैया गाउँमा बसाइँसराइँ गरेर आएका थिए । वडाध्यक्ष खड्काले उनको परिवारले २०८३ असार महिनामा मात्रै आधिकारिक रूपमा वडा कार्यालयमा बसाइँसराइँ गरेको जानकारी दिए । श्रीमतीको उपचारको शिलशिलामा हाल काठमाडौँमा रहेको वडा अध्यक्ष खड्काले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै भने, ‘मैले पनि दुःखद् खबर सुने । उनको परिवार अघिल्लो वर्षमात्रै वडामा आएका हुन् । गाउँ छैन् उनीहरू भएको ठाउँमा दुई–चार वटा घर मात्रै छन् ।’ मृतक लालमतीको सल्यानमै हुँदा विवाह भएको परिवारले बताएको वडाध्यक्ष खड्काले जानकारी दिए ।

बालविवाह मुक्त वडामै किशोरीको मृत्युले उब्जाएको प्रश्न ?

स्वास्थ्यका दृष्टिले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिँदैन । कानुनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख छ । तर, अझै पनि भागी र लुकिछिपी २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन् । त्यसको ज्वालन्त उदाहरण बनेको छ, कोहलपुर १३ भरैयामा घटेको घटना । कम उमेरमा शारीरिक अंग परिपक्क भइनसकेको र २० वर्षभन्दा कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् । यता, सुत्केरी अवस्थामा नवजात शिशु र १७ वर्षीया किशोरीको निधन भएको कोहलपुर नगरपालिका वडा नम्बर १३ कोहलपुर नगरपालिकाको पहिलो बाल विवाह मुक्त वडा हो ।

‘हामी सबैको प्रतिबद्धताः बालविवाहविरुद्ध साँझा प्रतिबद्धता’ भन्ने नारासहित २०७७ चैत महिनामा कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । घोषणा पूर्व वडा नम्बर १३ का १४ वटा टोलहरूमा ४ हजार ५ सय ७७ मध्ये १ सय ५० घरधुरीको सर्वेक्षण गरिएको थियो । शनिबार घरमै असुरक्षित सुत्केरी गराउँदा शिशु र किशोरीको निधन भएपछि बालविवाह मुक्त घोषणा भइसकेको वडाको घटनाले घोषणा कार्यान्वयनमा गम्भीर प्रश्न उब्जाएको छ । कोहलपुर नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य तथा अधिवक्ता नारायण वली बालविवाह मुक्त वडामै बाल विवाहका कारण शिशु र आमाको अकालमा ज्यान जानु गम्भीर विषय भएको बताएकी छन् ।

सामाजिक अभियान्ता शिव लाल पाण्डेले ५ वर्ष अघि नै बालविाह मुक्त वडा घोषणा भइसकेको वडामा शिशु र आमाको निधन हुुनु चिन्ताजनक विषय भएको बताएका छन् । उनका अनुसार बालविवाह मुक्त वडा घोषणालाई कार्यान्वयनमा लैजान वडा र सरोकारवालाले ध्यान नदिदाँ यस्तो अवस्था सिर्जना भएको हो । आगामी दिनमा यस्ता घटना नहुन नदिन अहिलेदेखि नै सतर्क हुनुको विकल्प नरहेको उनको भनाइ छ । जनप्रतिनिधि र समाजका अगुवाहरूले बालविवाह हुन नदिन पहल गर्नुपर्ने पाण्डेले बताएका छन् । कतिपयले बालविवाह मुक्त वडा घोषणा घोषणामै सीमित भएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार