कोहलपुर (बाँके) ।
धनुषाको राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले पैसा नभएर अस्पतालको गेटमै बच्चा जन्माउनुपरेपछि सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि फुटपाथमै बच्चा जन्माउनुपरेको विषयमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले सरकारको चर्को आलोचना गरेका हुन् ।
सुत्केरी व्यथा लागेपछि बबिता अस्पताल गएकी थिइन् । तर, पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेको बबिताका श्रीमान् हरेराम पासवानको दाबी छ । सो विषयमा शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनाको छानबिन हुनुपर्ने माग गरेका थिए ।पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सांसदहरुले सरकारसँग जवाफसमेत माग गरेका छन् ।
बैठकमा बोल्दै सांसदहरुले यो विषय सरकारको नीतिसँग सम्बन्धित रहेको भनेर जवाफ मागेका हुन् ।नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो विषयमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । कहिले तीन वर्षीय बालिकामाथि बलात्कार र जघन्य हत्या भएको घटनाबाट रुनुपरेको त कहिले भोटेकोशीमा आएको अकल्पनीय बाढीको पीडाबाट प्रताडित भइरहेका बेला गजेन्द्रनारायण सिंह स्पतालमा सुत्केरी सुरक्षित मातृत्व प्रदान गर्न पुग्दा पैसा नभएर अस्पतालको गेटमा सुत्केरी गराउनुपर्ने बाध्यतामा पुगेको दर्दनाक कथा सामान्य घटनाको रुपमा नआएको उनले बताए । यस्ता विषय सम्बोधन गर्न के गर्नुपर्ने हो, त्यो गर्न र जवाफदेहिता प्रकट गर्न उनले आग्रह गरे । रास्वपाकी सांसद तो
सिमा कार्कीले सुरक्षित मातृत्वका लागि के कस्ता नीति बदल्नुपर्ने हो त्यो गर्न आवश्यक रहेको बताइन् । सरकारले आवश्यक नीति लिनुपर्ने र त्यसमा संसद्ले सहयोग गर्ने बताइन् । नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दुःखद् घटना मात्रै नभएको बताइन् । यो सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको उनको भनाइ छ । उनले भनिन्, ‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दुःखद् इतिहासको पनि जन्म भएको छ ।’नेपाली काँग्रेसकी सांसद गीता गुरुङले भनिन्, ‘सप्तरीमा आर्थिक अभावका कारण अस्पतालबाहिर एक जना महिलाले बच्चा जन्माउनुपरेको घटनाले लज्जवोध भएको छ । सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन ? कि तपाईँहरू (रास्वपा)को शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?’ राप्रपा सांसद खुश्वु ओलीले चुनावको बेला प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको चुनावी एजेण्डा सुनाउँदै सरकारको चर्को आलोचना गरिन् ।







प्रतिक्रिया दिनुहोस्