हजारौँ बेपत्ता, शव राख्नै मुस्किल



नन्दराम जैशी । सुर्खेत ।

रसुवाको भोटेकोसी बाढीपछि खोज तथा उद्धार अभियानसँगै फेला परेका शवको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न चुनौती थपिएको छ । बाढीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा अस्पतालका शवगृहको सीमित क्षमता अपुग हुन थालेको हो । एकातिर हजारौँ व्यक्ति अझै सम्पर्कविहीन छन्, अर्कोतिर फेला परेका शव राख्ने ठाउँको अभावले प्रभावित क्षेत्रमा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार राति ८ बजेसम्म मात्र ६७५ जनाको शव फेला परिसकेको छ ।

तर देशभरका अस्पतालमा उपलब्ध शव राख्ने संरचनाको कूल क्षमता करिब ६ सय मात्रै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका अस्पतालमा रहेका शव राख्ने संरचनाको क्षमता जोड्दा करिब ६ सय शव व्यवस्थापन गर्न सकिन्छ । तर विपद्को केन्द्र आसपास तत्काल ती सबै संरचना प्रयोग गर्न सक्ने अवस्था छैन । हालसम्म १६ वटा अस्पतालको शव व्यवस्थापन क्षमता प्रयोगमा ल्याइएको उनले बताए । आवश्यकताअनुसार थप अस्पताल तथा अन्य संरचनाको उपयोग गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

बाढीले बगाएका शवहरू चितवन, नवलपरासीसहित त्रिशूली नदीका तटीय क्षेत्रमा बढी फेला परेका छन् । प्राधिकरणको विवरणले पनि शव व्यवस्थापनको मुख्य दबाब यही क्षेत्रमा रहेको देखाउँछ । सबैभन्दा बढी चितवन त्यसपछि नवलपरासी पूर्वमा शव भेटिएका छन् । नवलपरासी पश्चिम,, नुवाकोट, गोरखा, धादिङ, तनहुँ र रसुवा जिल्लाका विभिन्न स्थापनमा शव फेला परेको प्राधिकरणले जनाएको छ । शवको सङ्ख्या धेरै रहेका क्षेत्रमा अस्पतालका शवगृहले मात्रै धान्न नसक्ने अवस्था देखिएपछि सरकारले स्थानीयस्तरमै अस्थायी व्यवस्थापनको विकल्प खोज्न थालेको छ ।

डा. अधिकारीका अनुसार सबै शव काठमाडौँलगायत अन्य सहरमा ढुवानी गरेर व्यवस्थापन गर्नु व्यवहारिक देखिँदैन । प्रभावित क्षेत्रबाट लामो दूरीसम्म शव ल्याउँदा सडक तथा यातायातको अवस्था, समय, जनशक्ति र अन्य व्यवस्थापकीय चुनौती थपिने भएकाले शव फेला परेको क्षेत्रनजिकै अस्थायी संरचना बनाउने विषयमा छलफल भइरहेको छ । ‘शव व्यवस्थापनका लागि सरकारले अस्पतालका अतिरिक्त कोल्ड स्टोरेज, अस्थायी शवगृह र कन्टेनर प्रयोग गर्ने विकल्प अघि सारेको छ,’ उनले भने, ‘तत्काल प्रयोग गर्न सकिने कोल्ड कन्टेनर तथा अन्य संरचनाको खोजी भइरहेको छ ।’

विभिन्न सरकारी निकायसँग समन्वय गरेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेका वा तत्काल उपयोगमा ल्याउन सकिने संरचनासमेत शव व्यवस्थापनमा प्रयोग गर्ने सम्भावना खोजिएको उनले बताए । यसबारे भन्सारमा रोकिएका वा अन्यत्र उपलब्ध उपयोगी संरचनालाई समेत आवश्यकताअनुसार परिचालन गर्न सकिनेबारे छलफल भइरहेको छ । उनका अनुसार त्यस्ता संरचना कहाँ उपलब्ध छन् भन्ने खोजी भइरहेको छ । अरू निकायसँग समन्वय गरेर तत्काल प्रयोगमा ल्याउन सकिने सबै विकल्पमा काम गर्ने तयारी छ । शव व्यवस्थापनको चुनौती अझै बढ्न सक्ने संकेत सम्पर्कविहीनको तथ्यांकले पनि देखाउँछ । प्राधिकरणका अनुसार बाढीमा परी २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनाका कामदारको सङ्ख्या ठूलो छ । जलविद्युत् आयोजनाहरूबाट सबैभन्दा बढी ९३३ जना सम्पर्कबिहीन रहेका छन् । सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार रसुवामा ५६२, नुवाकोटमा ११५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन् । त्यस्तै ५८९ विदेशी नागरिक र विदेशमा बस्ने १२७ नेपालीको अवस्थासमेत अज्ञात छ । भन्सार कार्यालयका १५, अध्यागमनका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीनको सूचीमा छन् ।

सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले आगामी दिनमा थप शव फेला पर्न सक्ने सम्भावनाले शव व्यवस्थापनको दबाब अझ बढेको हो । विपद्को क्षति खोज तथा उद्धारको तथ्यांकमा मात्रै सीमित छैन । प्रत्येक फेला परेको शवसँग परिवारको प्रतीक्षा, पहिचान र अन्तिम संस्कारसँग जोडिएको संवेदनशील मानवीय पक्ष पनि जोडिएको छ । त्यसैले शव व्यवस्थापनलाई भण्डारणको प्राविधिक समस्या नभई पहिचान, सुरक्षित संरक्षण, आफन्तलाई हस्तान्तरण र सम्मानजनक अन्त्येष्टिसम्मको समग्र प्रक्रियाका रूपमा व्यवस्थापन गर्नुपर्ने चुनौती सरकारसामु छ ।

६० घन्टापछि ६ वर्षीया बालिकाको जीवितै उद्धार 

रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ । बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे क्षेत्रमा विध्वंस मच्चाएको थियो । उक्त बाढीमा परेकी ६ वर्षीया बालिकाको शुक्रबार साँझ सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले जीवितै उद्धार गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाढी गएको झन्डै ६० घन्टापछि बालिकाको जीवितै उद्धार भएको हो । बाढीले थुपारेको चट्टान र काठभित्रबाट बालिकालाई उद्धार गरिएको हो । उद्धार गरिएकी बालिकाको पहिचान खुलिसकेको छैन । बालिकाकालाई बोर्डर आउटपोस्ट टिमुरेबाट करिब २ सय मिटर नजिकबाट उद्धार गरिएको हो । उद्धारपश्चात् बालिकालाई सुरक्षित स्थानमा राखेर सशस्त्र प्रहरीका टोलीले प्राथमिक उपचार गरेको छ ।

चितवनमा गाड्न थालियो शव

बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्न सुरु गरिएको छ । पहिचान हुन नसकेका र सडे–गलेको अवस्थामा रहेका शवहरूलाई ट्याग लगाएर तथा डीएनए संकलन गरेर देवघाटनजिकैको जंगलमा शनिबारदेखि व्यवस्थापन गर्न थालिएको हो । शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै व्यवस्थापनका लागि यो कदम चालिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार शव भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडक खण्डमा पर्ने जंगल क्षेत्रमा गाड्न थालिएको छ ।

बाढीपछि चितवनमा भेटिएका २३३ वटा शवमध्ये हालसम्म ६ वटाको मात्रै पहिचान खुलेको छ । भरतपुर अस्पतालको फरेन्सिक विभागमा चार टोली निरन्तर शव परीक्षणमा खटिएका छन् । बाढीबाट बग्दै आएका शव चितवनमा भेटिन थालेपछि अस्पताललाई शव व्यवस्थापनमा सकस परेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टका डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालसँग यति धेरै शव राख्ने क्षमता छैन । २४ वटै शव राख्न मिल्ने फ्रिजर बेवारिसे शवले भरिएका छन् । थप शव व्यवस्थापन गर्ने अस्पतालसँग क्षमता नै छैन ।

‘बाढीमा बगेर आएका सबै शव एउटै अवस्थामा छैनन् । केही शव चिन्न सकिने अवस्थामा छन् । केही शव लामो समय पानीमा रहँदा कुहिन थालेका वा क्षतविक्षत अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘अस्पतालले तत्कालका सग्लो अवस्थामा रहेका शवको पहिचानलाई प्राथमिकता दिएको छ, पहिचान भएका शव आफन्तलाई दिन सके दाहसंस्कार गर्छन् ।’ अस्पतालमा फरेन्सिक विज्ञको टोलीले पोस्टमार्टम, फिंगरप्रिन्ट संकलन, फोटो तथा भिडियो र शरीरमा रहेका विशेष पहिचान चिह्नहरूको विवरण संकलन गरिरहेको उनले जानकारी दिए ।

अस्पतालमा सुरुमा दुई फरेन्सिक टोलीले मात्रै काम गरेको थियो । तर शवको चाप बढ्दै गएपछि अन्य अस्पतालसँग सहयोग मागेको छ । भेरी अस्पताल, लुम्बिनी क्षेत्रका अस्पताल र नेपाल मेडिकल कलेजलगायत संस्थाका फरेन्सिक विज्ञ त्यहाँ पुगेर एकैसाथ पोस्टमार्टमको काम गरिरहेका छन् । पोस्टमार्टम र प्रारम्भिक पहिचान प्रक्रिया पूरा भएका शवलाई अस्पतालबाट चितवन उद्योग संघ नजिकै रहेको एक सरकारी भवनमा राखिएको छ । अस्थायी शव व्यवस्थापन केन्द्रमा एयर कन्डिसन राखेर शव राख्ने ¥याक बनाउने काम भइरहेको छ ।

भने मृतकको खोजीमा आएका आफन्तका लागि पहिचानको व्यवस्था पनि मिलाइएको छ । शवको फोटो, भिडिओ र शरीरमा रहेका विशेष चिह्न डिस्प्लेमा राखिएको छ । हराएका आफन्त खोज्दै आएका व्यक्तिले ती दृश्य हेर्न सक्छन् । आफ्नो मान्छे जस्तो लागेमा सम्बन्धित शवको नम्बर टिपेर प्रहरीलाई जानकारी दिन सक्ने व्यवस्था गरिएको छ । त्यसपछि प्रहरीले सम्बन्धित नम्बरको शव आफन्तलाई देखाउने प्रक्रिया अघि बढाउँछ ।

खोज, उद्धार र राहतको काम तीव्र 

विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने हालसम्म ७ हजार ५१४ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये शुक्रबार १९१ जना र शनिबार ८८ जना गरी २७९ जनालाई जलविद्युत् आयोजनाका सुरुङबाट निकालिएको थियो । बाढीले खोज तथा उद्धारसँगै सञ्चार पूर्वाधारमा पनि ठूलो क्षति पु¥याएको छ । कूल १९८ टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १४४ वटा सञ्चालनमा ल्याइएको छ । सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई समेत तीव्रता दिएको जनाएको छ ।

रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रूपैयाँँ नगद राहत उपलब्ध गराइएको छ । १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रूपैयाँँ पठाइएको छ । हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हेलिकप्टरमार्फत सात उडान गरी थप राहत सामग्री तथा सञ्चार सेटसमेत पु¥याइएको छ । उद्धार अभियानलाई निरन्तरता दिन इन्धनको व्यवस्थापन पनि गरिएको छ । नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको प्राधिकरणले जनाएको छ । हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ । थप ९ हजार लिटर बाटोमा रहेको र हाल ८ हजार लिटर मौज्दात रहेको छ ।

उद्धार गरी काठमाडौँ लगिएका घाइतेहरूको उपचारका लागि राजधानीका विभिन्न १३ वटा अस्पतालहरूमा व्यवस्था मिलाइएको छ । घाइतेहरूको शीघ्र उपचार तथा उनीहरूका आफन्तलाई सहज सूचना पहुँच पु¥याउने उद्देश्यले सम्बन्धित अस्पतालहरूको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरिएको छ । जसअनुसार महाराजगन्जस्थित टिचिङ अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धस्थित वीर अस्पताल, नेपाल मेडिकल कलेज, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । यस्तै अन्य शिक्षण तथा निजी अस्पतालहरूमा पनि घाइतेहरूको उपचार कार्य निरन्तर जारी छ । स्वयम्भूस्थित मनमोहन अस्पताल, बसुन्धरास्थित ग्रिनसिटी अस्पताल, धुम्बाराहीस्थित हेम्स अस्पताल, थापाथलीस्थित नर्भिक अस्पताल, धापासीस्थित ग्रान्डी अस्पताल र मनमैजुस्थित मनमैजु शुभम् अस्पताल रहेका छन् ।

घाइतेका आफन्त तथा सरोकारवालाहरूले अस्पतालहरूमा सम्पर्क गरी बिरामीको अवस्था र उपचारबारे जानकारी लिन सक्नेछन् भने उद्धार गरीएकालाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ । सुरक्षाकर्मीले उद्धार गरी ल्याएका दुई सय पचासलाई येला गुम्बामा राख्नेगरी व्यवस्था मिलाइएको छ । नागार्जुन–२ स्थित गुम्बामा हाल करिब सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यबाहक प्रमुख सुशीला अधिकारीले जानकारी गराइन् ।

बिरामीलाई केयरटेकरको व्यवस्था

काठमाडौँ महानगरले बाढीबाट घाइते भई उपचाररत बिरामीहरूको लागि केयरटेकरको व्यवस्था गरेको छ । कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले डाक्टरहरूसँगको परामर्श र बिरामीहरूको अवस्था बुझ्दा केही बिरामीलाई निरन्तर साथ दिने र दैनिक हेरचाह गर्ने व्यक्ति आवश्यक भएकोे महसुस गरेर केयरटेकरको व्यवस्था गरिएको जानकारी दिइन् । उद्धार भनेको कसैलाई एउटा ठाउँबाट अर्को ठाउँमा ल्याएर छोडिदिनु मात्र नभएकाले परिवारका कोही साथमा नभएका बिरामीहरूका लागि काठमाडौँ महानगरपालिकाले केयरटेकरको व्यवस्था गरेको उनको भनाइ छ । उनले भनेकी छन्, ‘उद्धार भनेको ‘तपाईँ एक्लो हुनुहुन्न, तपाईँको ख्याल गर्ने कोही छ’ भन्ने अनुभूति दिलाउनु पनि हो ।

अझ एउटा कुरा आज झन् गहिरो गरी महसुस भयो हामीले उद्धारसँगै पुनस्र्थापनाको पनि सोच्नुपर्छ ।’ अस्पतालमा ‘दुख्यो कि’ भनेर सोध्ने, खाना खुवाउने, औषधि समयमै खुवाउने, लगायतका कार्यले बिरामीलाई ठूलो हिम्मत दिने डंगोलले बताइन् । यस्तै महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवा सयौँ नागरिकले लिएको महानगरले जनाएको छ । महानगरका अनुुसार शनिबारबाट २ वटा सवारीसाधन सञ्चालनमा ल्याइएका छन् । २ वटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने ००६ ख ९३३९ नम्बरको गाडी हो । यसको क्षमता १९ सिटको छ ।

अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो । यसमा १० जना यात्रु अटाउँछन् । निःशुल्क सञ्चालन गरिएका सवारीसाधन चिन्नका लागि सवारीसाधनको अगाडि र पछाडि ब्यानर राखिएको छ । यस्तै दुवै सवारीसाधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको सङ्ख्या बढाउने महानगरपालिकाको योजना छ । यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्मका लागि हो । यी सवारीसाधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार