काठमाडौँ ।
सुरुङविज्ञसहितको चिनियाँ टोली रसुवा बाढीमा फसेकाहरूको खोज तथा उद्धारमा खटिएको छ । माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ टोली नेपाल आइपुगेको हो ।नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले दिएको जानकारी अनुसार सुरुङविज्ञसहितको टोली उद्धार र अन्य सहयोगका लागि नेपाल आइपुगेको हो । उक्त टोली बाढी प्रभावित क्षेत्रमा पुगिसकेको छ ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । सरकारको अनुमतिपश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको बताइएको छ ।
चिनियाँ हेलिकप्टरमार्फत् सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम गरिरहेको छ । सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्