
ललितपुर, २७ पुस/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहबीच बिहीवार बिहान भेट भएको छ । भेटका क्रममा राष्ट्रियसभा निर्वाचनमा पनि एमाले–माओवादी केन्द्र र मसालबीच चुनावी तालमेल कायम राख्ने विषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७.३० बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए । सो क्रममा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।
भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।
भेटमा दुबै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका थिए ।









प्रतिक्रिया दिनुहोस्