नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव आज



?

नेपालगन्ज ।

नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि आज मतदाता हुँदैछ । अध्यक्षसहित अधिकांश पदाधिकारी र सदस्यका लागि मतदान हुनेछ । दुई उपाध्यक्ष र एशोसिएट तथा सम्बद्ध सदस्यमा भने निर्विरोध चयन भइसकेको छ । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा बिहान ८ बजेदेखि मतदात सुरु हुने र मतदानपछि मतगणना गरिने संघले जनाएको छ । संघका एक अध्यक्ष, एकजना महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्यसहित १५ जना मतदानबाट निर्वाचित हुँदैछन् । संघको निर्वाचनका लागि तीन हजार ८ सय ६३ मतदाता सदस्यहरू रहेका छन् ।

संघले फोटोसहितको मतदातापत्र बनाउन नसकेपछि मतदाताहरूलाई सरकारी निकायबाट जारी परिचय खुल्ने फोटोसहितको पहिचानपत्र अनिवार्य गरेको छ । संघले एक सूचना जारी गर्दै आज शनिबार मतदानमा सहभागी हुने सम्पूर्ण मतदाताहरूलाई सरकारी निकाय वा संघबाट जारी आधिकारिक प्रमाणपत्र बोकेर मात्र मतदानस्थलमा आउन आग्रह गरेको छ । संघका महासचिव भीम बहादुर रानाभाटका अनुसार शुक्रबार बेलुकी ८ बजेसम्म पनि परिचयपत्र वितरण गरिएको थियो भने आज शनिबार समेत संघको कार्यालयबाट परिचयपत्र वितरण गरिनेछ ।

संघको परिचयपत्रमा मतदाताको फोटो नरहेपछि अध्यक्षमा उम्मेदवारी दिएका ध्रुव दाहाल पक्षले पहिचान खुल्ने अर्काे परिचयपत्र अनिवार्य गर्न माग गर्दै त्यसो नगरिए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएको थियो । संघले मतदाताहरूलाई नागरिकताको प्रमाणपत्र, सरकारले जारी गरेको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, वाणिज्य, घरेलु तथा पालिकामा दर्ता भएको फोटोसहितको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयबाट जारी भएको प्यान नम्बरको प्रमाणपत्र, संघले जारी गरेको फोटोसहितको सदस्यता प्रमाणपत्रमध्ये कुनै एक अनिवार्य साथमा ल्याउन सूचना जारी गरेको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस निर्वाचनलाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउन प्रतिबद्ध रहेको संघले जनाएको छ । संघको अध्यक्षमा चिरन्जीवी ओली र ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदा उपाध्यक्ष महिलामा ओलीको टिमबाट रुपा ओझा सानु र दाहालको टिमबाट उमा ग्राण्डनबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै महासचिवमा ओलीको टिमबाट विष्णु श्रेष्ठ र दाहालको टिमबाट दिपेन्द्रकुमार जोशीबीच प्रतिस्पर्धा हुँदा उपमहासचिवमा शिवप्रसाद दाहाल र प्रदीप आचार्यबीच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्षमा भने टीकामणि उपाध्याय, सूर्यकुमार श्रेष्ठबीच र नारायण प्रसाद प्रसाई तीन जना उम्मेदवार रहेका छन् । उपाध्याय ओलीको टिमबाट हुन् भने श्रेष्ठ दाहालको टिमबाट हुन् ।

यसैगरी प्रत्यक्ष निर्वाचित हुने १० जना सदस्यको कोटामा १३ जनाले उम्मेदवारी दिएका छन् । ओलीको टिमबाट सदस्यमा सन्तोष पौडेल, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, शैयद जहाँगिर मुसमान, तोप बहादुर थापा, आदित्य गुप्ता, नन्दराम जैसी, चाँदबाबु अन्सारी र नरेन्द्र शाहीले उम्मेदवारी दिएका छन् भने दाहालको टिमबाट रामकुमार वैश्य र विकास थापाले उम्मेदवारी दिएका छन् । यसैगरी सदस्यमै सुरजबहादुर भण्डारीले पनि उम्मेदवारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार