जाजरकोट ।
बाढीपहिरोबाट विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेका सयौँ व्यक्तिहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ । विपद्को पीडामा रहेका नागरिक दूषित खानेपानीले थप जोखिममा परेका हुुन् । जाजरकोटको भेरी नगरपालिका–२ र ३ बाट विस्थापित भई विद्यालयमा आश्रय लिएर बसेकाहरूमा रुघाखोकी र ज्वरोका लक्षण देखिन थालेका छन् । चिकित्सकहरूले जाँचका क्रममा ठूलो सङ्ख्यामा यस्तो स्वास्थ्य समस्या देखिएको हो ।
हाल भेरी नगरपालिका–२ स्थित विजया प्राथमिक विद्यालय र त्रिभुवन प्राथमिक विद्यालयमा विस्थापित परिवारलाई राखिएको छ । एउटै स्थानमा ठूलो सङ्ख्यामा मानिसहरू बस्नुपर्ने अवस्था, खानेपानीका स्रोत प्रदूषित हुनु तथा सरसफाइको चुनौतीका कारण संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी शिविरमा बसिरहेका विस्थापितहरूमा पछिल्ला दिनमा स्वास्थ्य समस्या देखिन थालेको छ ।
बाढीपहिरोपछि सुरक्षित स्थानमा सारिएका नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर परीक्षण तथा उपचार सुरु गरिएको उनले बताए । सोमबार भेरी नगरपालिका र कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेल्टरमा रहेका ९० जना विस्थापितको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो । नगर स्वास्थ्य शाखाका अनुसार विस्थापितहरूमा पछिल्लो समय ज्वरो, रुघाखोकीलगायतका लक्षण पनि बढ्दै गएका छन् ।
भने विस्थापितका लागि सुरक्षित खानेपानीको उपलब्धता मुख्य चुनौती बनेको छ । बाढीपहिरोका कारण अधिकांश खानेपानीका स्रोत प्रदूषित भएकाले दूषित पानीको प्रयोगबाट पानीजन्य रोग फैलिन सक्ने जोखिम उच्च रहेको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू बताउँछन् । प्राकृतिक विपद्ले घरबारविहीन बनाएपछि विद्यालय र अन्य अस्थायी संरचनामा आश्रय लिन बाध्य परिवारहरूमा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा सुत्केरी आमासमेत छन् ।
एउटै स्थानमा ठूलो सङ्ख्यामा मानिस बस्दा हावा र पानीबाट सर्ने संक्रमणको जोखिम बढ्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । खानेपानीको स्रोत प्रदूषित हुनुका साथै सरसफाइ र फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान पुग्न नसकेमा रुघाखोकी तथा ज्वरोसँगै झाडापखाला, टाइफाइडलगायत पानीजन्य रोगसमेत फैलिन सक्ने जोखिम छ । त्यसैले तत्काल औषधि वितरणसँगै सुरक्षित पानी, सरसफाइ र अस्थायी बसोबासको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
उनका अनुसार विस्थापित परिवारका लागि शुद्ध खानेपानी व्यवस्थापनको तयारी भइरहेको छ । भने तत्कालका लागि खाना तथा लत्ताकपडाको समस्या नरहेको र आवश्यक राहत वितरण भइरहेको छ । ‘जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको छ’ उनले भने, ‘विभिन्न व्यक्ति तथा संघसंस्थाले उपलब्ध गराउन चाहेको नगद तथा जिन्सी सामग्री प्रशासनमार्फत वितरण गर्ने व्यवस्था गरिएको छ ।’
नगरप्रमुख घर्तीले राहत तथा पुनःस्थापनाका क्रममा देखिएका समस्या क्रमशः समाधान हुँदै जाने बताए । रुघाखोकी र ज्वरोका बिरामीका लागि औषधि वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण भइरहेको उनको भनाइ छ । तर विस्थापितको तत्कालीन आवश्यकता राहत सामग्रीभन्दा बाहिर पुगिसकेको छ । सुरक्षित खानेपानी र व्यवस्थित सरसफाइको अभाव कायम रहेमा अहिले देखिएको सामान्य स्वास्थ्य समस्याले ठूलो रूप लिन सक्ने जोखिम छ । त्यसैले राहत व्यवस्थापनसँगै स्वास्थ्य जोखिम न्यूनीकरणलाई पनि समान प्राथमिकता दिनुपर्ने देखिएको छ ।
बाढीपहिरोबाट जिल्लामा १६८ घरधुरीका ८९३ जना प्रभावित भएका छन् । प्रभावित नागरिकका लागि विभिन्न स्थानमा चार वटा अस्थायी शिविर सञ्चालनमा रहेका छन् । ती शिविरमा अहिले १०८ जना बालबालिका, ६ जना सुत्केरी र पाँच जना गर्भवती महिला आश्रय लिएर बसिरहेका छन् । विपद्का कारण घर तथा अस्थायी आवासमा समेत ठूलो क्षति पुगेको छ । भूकम्पपछि निर्माण गरिएका १३ वटा अस्थायी टहरा पूर्ण रूपमा क्षति भएका छन् भने १२ वटा आंशिक क्षति भएका छन् ।
त्यस्तै १९३ वटा अस्थायी टहरा तथा घर जोखिममा रहेका छन् । बाढीपहिरोले ३१ वटा गोठमा क्षति पु¥याएको छ भने ३१ वटा पशुचौपायाको मृत्यु भएको विवरण छ ।
जाजरकोटमा बुुधबारदेखि नै भौगभविद् तथा मौसम विज्ञ पुगेर भेरी नगरपालिका १,२,३ र ४ को जमिनको अध्ययन गर्न काम सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाका अनुसार तत्काल अस्थायी शिविर कहाँ बनाउदा सजिलो हुन्छ, र व्यवस्थापनको अवस्था कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेमा एक हप्ता सम्ममा अध्ययन हुनेछ ।
बिरामी बढे, चिकित्सक अभाव
बाढीपहिरोपछि बिरामीको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य सेवा थप दबाबमा परेको छ । तर ५० शय्याको जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सकको अभाव भएपछि तत्काल चिकित्सकको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीसँग आग्रह गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिकी पूर्वअध्यक्षसमेत रहेकी कार्यदल सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्रीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनका अनुसार चिकित्सक अभावका कारण अस्पतालको सेवा प्रवाहमा समस्या गहिरिँदै गएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि जनशक्ति पर्याप्त नहुँदा नियमित सेवा सञ्चालनमै कठिनाइ भइरहेको उनले बताए ।
‘विशेषगरी बाढीपहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ’ उनले भने, ‘ज्वरो, रुघाखोकी, चोटपटक तथा अन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको सङ्ख्या बढे पनि सीमित जनशक्तिका कारण प्रभावकारी उपचार दिन स्वास्थ्यकर्मीलाई कठिन भइरहेको छ ।’ उनका अनुसार चिकित्सकको अभावले आकस्मिक तथा नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवा र उपचार प्रभावित भएको छ ।
यता सामान्य उपचारका लागि समेत बिरामीले लामो समय कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ । स्थानीयवासीले जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्नुका साथै विशेषज्ञ चिकित्सकको नियमित सेवा उपलब्ध गराउन प्रदेश तथा संघीय सरकारसँग माग गरेका छन् । कर्णालीका मुख्यमन्त्री शाहीले जाजरकोट अस्पतालमा चिकित्सक व्यवस्थापनका विषयमा आफू गम्भीर रहेको बताएका छन् । तर दूषित खानेपानी र भीडभाडयुक्त सेल्टरका कारण प्रभावितको स्वास्थ्य समस्या देखिन थालेको छ, भने जाजरकोटमा बिरामीको चाप बढ्दा अस्पताल स्वयं जनशक्ति अभावको संकटमा परेको छ ।
यसले विपद् व्यवस्थापनमा राहत सामग्री वितरण मात्रै पर्याप्त नहुने देखाएको छ । विस्थापित नागरिकका लागि सुरक्षित खानेपानी, सरसफाइ, पोषण, अस्थायी आवास र नियमित स्वास्थ्य निगरानी एकसाथ अघि बढाउनुपर्ने अवस्था आएको छ । अन्यथा प्राकृतिक विपद्बाट सुरु भएको संकट दूषित पानी र कमजोर स्वास्थ्य पूर्वाधारका कारण अर्को सार्वजनिक स्वास्थ्य संकटमा परिणत हुन सक्ने खतरा छ ।









प्रतिक्रिया दिनुहोस्