काठमाडौँ।
गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा ६३.८२ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरूले गत आर्थिक वर्षमा कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रूपैयाँँ नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको खुद नाफा ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रूपैयाँँ रहेको थियो । समीक्षा अवधिमा आठै वटा विकास बैंकहरूको नाफा बढेको छ । कूल नाफाको हिसाबले गरिमा विकास बैंक राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये शीर्षमा रहेको छ । बैंकले गत आर्थिक वर्ष १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रूपैयाँँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख रूपैयाँँको तुलनामा ३५.३४ प्रतिशतले बढी हो ।
प्रतिशतका आधारमा सर्वाधिक नाफा बढाउनेमा ज्योति विकास बैंक पहिलो स्थानमा छ । बैंकले अघिल्लो आर्थिक वर्षको १० करोड रूपैयाँँ नाफालाई बढाएर गत आर्थिक वर्षमा १ अर्ब ५९ करोड ५२ लाख रूपैयाँँ पु¥याएको छ । यो अघिल्लो आवको तुलनामा ९०३.७४ प्रतिशतको उच्च वृद्धि हो । त्यस्तै, लुम्बिनी विकास बैंकले पनि नाफामा २५२.९६ प्रतिशतको उल्लेख्य सुधार गर्दै ८५ करोड १० लाख रूपैयाँँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको नाफा २४ करोड ११ लाख रूपैयाँँ रहेको थियो ।
अन्य बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड ८३ लाख रूपैयाँँ नाफा कमाउँदै १२.४४ प्रतिशतको वृद्धि दर्ज गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३५ करोड ३६ लाख रूपैयाँँ रहेको थियो । यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८२.९७ प्रतिशतले नाफा बढाएर १ अर्ब १८ करोड रूपैयाँँ पु¥याएको छ भने कामना सेवा विकास बैंकले ३३.५१ प्रतिशतको वृद्धिसहित ८९ करोड ४१ लाख रूपैयाँँ नाफा आर्जन गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ४६.६९ प्रतिशतले नाफा बढाएर ८८ करोड ९९ लाख रूपैयाँँ कमाएको छ । महालक्ष्मी विकास बैंकको नाफा पनि ४८.४६ प्रतिशतले बढेर ६२ करोड ९९ लाख रूपैयाँँ पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्