लायन्स क्लबद्वारा ५१ प्वाइन्ट रगत संकलन



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरस्थित लायन्स क्लबले ५१ प्वाइन्ट रगत संकलन गरेको छ । क्लबद्वारा शुक्रबार कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममार्फत कूल ५१ प्वाइन्ट रगत संकलन गरिएको हो । बृहत रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, लायन्सका सदस्य, नियमित रक्तदाता लगायतले रक्तदान गरेका थिए ।

‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित आयोजना गरिएको रक्तदानमा ५ जना नेपाल प्रहरी, १९ जना महिला र २७ जना पुरुषले रक्तदान गरेको आयोजक लायन्स क्लब कोहलपुरले जनाएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५एनका निवर्तमान गर्भनर ज्ञानेन्द्रप्रसाद श्रेष्ठले रक्तदान गर्दै कार्यक्रमको सुरुवात गरेका थिए ।

उक्त अवसरमा बोल्दै श्रेष्ठले रगतदान गर्नु सामाजिक पुण्यको कार्य भएको बताए । उनका अनुसार कुनैपनिले रगतदान गर्नु भनेको अरुको जीवन बचाउने प्रयास हो । ‘रगतदान कार्यक्रम राम्रो कार्यक्रम हो । यहाँ धेरै जना आउनु भएको छ । सम्पूर्णलाई नियमित रगतदान गर्न आह्वान गर्न चाहन्छु,’ उनले भने । उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लक्ष्मणराज पौडेलले स्वस्थ्य शरिरका लागि पनि नियमित रक्तदान आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार कोहलपुरमा रगत अभाव हुन नदिनको लागि सचेत नागरिकहरूले रगतदान कार्यक्रम आयोजना गरिरहेका छन् । रक्तदान कार्यक्रम आयोजनाका लागि लायन्स क्लब कोहलपुर, लायन्स क्लब कोहलपुर, सयपत्री, लायन्स क्लब कोहलपुर, प्रोफेसनलन, लायन्स क्लब कोहलपुर, भ्यू लगायतले सहकार्य गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार