एसियाली खेलकुदका लागि नेपालको बन्द प्रशिक्षण सुरू



काठमाडौँ ।
आसन्न २०औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा सुरु भएको छ । साउन १८ देखि सुरु भएको बन्द प्रशिक्षणमा रहेका खेलाडी प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ । रोयलमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, करातेको काता टोली, डान्स स्पोट्र्स, साइक्लिङ, गल्फ, एथेटिक्स र आर्चरीका खेलाडी र प्रशिक्षकलाई राखिएको छ ।

पशुपतिमा करातेको कुमुते टोली, तेक्वान्दो, सफ्ट टेनिस, टेनिस, पौडी, स्क्वास, ब्याडमिन्टन र टेबलटेनिस टोलीलाई व्यवस्थापन गरिएको छ । १५ खेल मध्ये उसु, साइक्लिङ, गल्फ, तेक्वान्दो, टेनिस, पौडी र टेबलटेनिसका केही खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । त्यस्तै स्केटबोर्ड, कुस्ती, क्यानोइङ र पुरुष÷महिला कबड्डीका सबै खेलाडी वैदेशिक प्रशिक्षणमा रहेका छन् । एसियाली खेलकुद जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुँदैछ । नेपालबाट विभिन्न २२ खेलमा ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार