फोटो सौजन्यः रामु ओली
वीरेन्द्र जैसी । नेपालगन्ज ।
एक किसान, जसले कृषि पेसालाई यसरी विस्तार गरिदिए कि जसले कैलालीको सुदूरपूर्वमा रहेको टीकापुरलाई केराको राजधानीको परिचय थपिदियो । औपचारिक अध्ययनसमेत कृषि विषयमै गरेका उनी केरामा पर्यटन उद्योगको एक यथार्थ हुँदै गइरहेको सपना देख्छन् । जसले केरामै देख्छन् नेपालको खाद्यान्नको अभाव पूर्ति गर्ने शक्ति पनि । उनी हुन्, कैलालीको टीकापुरका ‘बनाना किङ’को परिचय बनाएका कृषक कालु हमाल ।
व्यापारिक पारिवारिक पृष्ठभूमि भएका र कम दुःख गरी जीवन बिताउने अनेक विकल्प पाएका हमालले २०४० सालमा केरा खेतीको बाटो समाते । हुन त उनमा कक्षा ८ मा पढ्दाताकै ऐच्छिक कृषि विषयले मन जितेको थियो । त्यसपछि उनको जीवन नै कृषि पेसाको सौन्दर्य उत्खनन र त्यसको आर्थिक सम्भावनालाई यथार्थमा बदल्ने यात्रातर्फैै मोडियो । सरकारी जागिरका अवसर उनका लागि अर्थपूर्ण रहेनन् । २०३९ सालमा रामपुर कृषि क्याम्पस, चितवनबाट कृषि विज्ञानमा स्नातक गरेका थिए ।
सरकारी जागिर खाइदेओस् भन्ने परिवारको चाहना र अनेक अवसरलाई छोडेर उनले आफैँ मालिक बन्ने सपना देखे त्यो पनि कृषि कर्म गरेर । २०४० सालमा उनले केरा, तरकारी, कागती, बंगुर, हाँस, कुखुरा, गाईभैँसीपालन र नर्सरीसहित विविध कृषि सुरु गरे । तर, सबैभन्दा मन प¥यो, केराखेती जम्मा १० बोटबाट सुरु गरेको उनको केराखेतीले उनलाई देशकै उत्कृष्ट कृषकदेखि देश विदेशका पर्यटकहरूलाई लोभ्याउने पर्यटन व्यवसायीसमेत बनाएको छ । खासमा उनले अहिले उनले सबैलाई कृषि पर्यटनको नयाँ आयामको उदाहरण देखाइरहेका छन् र त्यसको बखान गरेर थाक्दैनन् ।
उनले केराखेती सुरु गर्दा टीकापुरमा केराको व्यावसायिक खेती गर्ने उनी एक्ला थिए । कुन जातको केरा उपयुक्त हुन्छ भनेर १६ वर्षसम्म परीक्षण गरे । २०५६–०५७ सम्म आइपुग्दा उनी ढुक्क भए, केराको ठूलो व्यावसायिक खेती सम्भव छ । त्यसपछि आफ्नो १४ बिघा र थप जग्गा भाडामा लिएर २६ बिघामा केराखेती विस्तार गरे ।
माओवादी सशस्त्र द्वन्द्वको चपेटाबाट हमाल पनि मुक्त रहेनन् । असुरक्षाका कारण करिब ६ वर्ष केराबाट टाढा रहेपछि उनको करिब ५० लाख रूपैयाँको नोक्सान भयो ।
जसै देशको माहोल शान्त भयो उनी पुनः केराखेतीमा फर्किए । र त्यसपछि उनको कृषि विस्तार भयो कृषि पर्यटनमा । २०६३ सालमा कालु हमालले टीकापुरमै केराका मात्रै परिकार पाइने ‘बनानाज रेस्टुरेन्ट’ सुरु गरे । खाद्य प्रविधि तथा गुणस्तर कार्यालयसँगको समन्वयमा केराका चिप्स, चिया, कफीलगायत उत्पादन गर्न थाले । सुरुमा मानिसलाई केराका परिकारको बानी बसाल्न निःशुल्क वितरण गरे । रेष्टुरेन्टमा पुग्ने पाहुनाहरूलाई उनले केराको चिप्स, चुकौनी, पराठा, समोसा, सलाद, खीर, अचार, पकौडा, मोमो, वाइनदेखि ब्रान्डीसम्म पस्किएर अचम्मित पार्न थाले ।
उनको रेष्टुरेन्टमा एक पटक आएका ग्राहक पटक–पटक फर्किन थाले । उनको केराका परिकारहरू यति लोकिप्रिय भए कि बिस्तारै परिकारको सङ्ख्या बढाउँदै अहिले ४२ भन्दा बढी केराकै परिकार उनले पारखीहरूलाई खुवाइरहेका छन् । टीकापुर पार्क जाने बाटोमै रहेको उनको ‘बनानाज रेस्टुरेन्ट’ टीकापुर पुग्ने पर्यटहरूको एक प्रमुख गन्तव्य बनेको छ । हमालले २०७१ सालमा ‘राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार’समेत प्राप्त गरेका थिए ।
हमालले कैलालीसहित देशका विभिन्न भूभागका किसानलाई केराखेती सिकाएका छन् । साथै उनले केराका परिकार बनाउन चाहनेहरूलाई तालिम पनि दिने गरेका छन् । ‘हामीले तालिम पनि दिने गरेका छौँ । सबैलाई यसको प्रयोग गरे समृद्ध बन्ने उपाय पनि सुझाइरहेका छौँ । तर यो काम गर्नका लागि अलिकति महत्वाकांक्षा र जाँगर पनि चाहिन्छ,’ हमालले मिसन टुडेसँग भने । हमाल केरालाई दुई ठूला आयाममा जोड्छन्, खाद्यवस्तुको विकल्प र कृषि पर्यटन ।
उनले भने, ‘केरालाई खाद्यवस्तुका रूपमा प्रयोग गर्न सके भारतलगायत देशबाट आयात हुने खाद्यान्न रोकिन्छ, अर्बौँ रूपैयाँ जोगिन्छ । अर्काेतिर हामीकहाँबाट नजिक रहेका दिल्ली र लखनउजस्ता गर्मी हुने सहरका मानिसहरूलाई यहाँ आकर्षित गर्ने गरी हाम्रा मौलिकताको प्रचार गर्न जरुरी छ । हामीले हाम्रै मौलिकता बेचेर मात्रै पर्यटनमा प्रगति गर्न सक्छौँ ।’
कृषि पर्यटनको विकास गर्न सके भारत र चीनका मात्रै २ करोड ८० लाख व्यक्तिलाई वार्षिक पर्यटकका रूपमा भित्र्याउन सकिने उनको तर्क छ । ‘भारतको उत्तरप्रदेशको एक प्रतिशत जनसङ्ख्या मात्रै भित्र्याउन सक्ने हो भने मुलुकको आर्थिक अवस्था निकै माथि पुग्छ,’ हमालले भने । उनले पश्चिम नेपालका गर्मी हुने स्थानहरूमा केराखेती गर्नु पर्यावरणीय हिसाबले पनि उपयुक्त हुने बताए । साथै टीकापुरलाई पर्यटकीय गन्तव्य बनाउन टीकापुर पार्क, कर्णाली पुल, डल्फिन अवलोकन, थारू संस्कृतिलाई जोडेर भारतीय र चिनियाँ पर्यटकलाई आकर्षित गर्नुपर्ने उनले बताए ।
कृषिलाई पर्यटनसँग जोडेर एक क्रान्तिकारी उदाहरण दिइरहेका हमाल सरकारले नेपालको पर्यटन सामथ्र्यलाई बुझ्नै नसकेको बताउँछन् । उनी नेपालहमा होटलहरू खोलेर पर्यटनको विकास हुने अवधारणासँग सहमत छैनन् । उनले भने, ‘नेपालमा होटल होइन, रेस्टुरेन्टहरूको विकास गर्नुपर्छ । स्थानीय उत्पादन बेच्ने र मानिसहरूलाई आराम गर्ने गन्तव्यको रूपमा विकास गर्ने नीति लिनुपर्छ । नभए ठूला ठूला होटल देखाएर हामीले पर्यटनको विकास गर्न सक्दैनौँ ।’









प्रतिक्रिया दिनुहोस्