जुम्ला ।
जिल्लाको त्रिवेणी–टोप्ला सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा भेरीखोला क्षेत्रका स्थानीयवासी प्रत्येक वर्ष वर्षायाममा सास्ती खेप्न बाध्य भएका छन् । जिल्लाको तातोपानी गाउँपालिका–७ र ८ का हजारौँ नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सडक सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा स्थानीयले स्थानीयले सास्ती खेप्नुुपरेको हो । सडकको दयनीय अवस्थाप्रति असन्तुष्टि जनाउँदै तातोपानी गाउँपालिका स्तरीय नागरिक समाज सञ्जालले बुधबार सडक डिभिजन कार्यालय जुम्लामा ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
तत्काल सडक स्तरोन्नति, नियमित मर्मत र आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्न माग गरिएको छ । नागरिक समाजका संयोजक सागर परियारले भेरीखोला क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिको मुख्य आधार मानिने त्रिवेणी–टोप्ला सडक वर्षौँदेखि हिलाम्मे, धुलाम्मे र जोखिमपूर्ण अवस्थामा रहँदा स्थानीयको जनजीवन नै प्रभावित भएको बताए ।
उनका अनुसार सडक बन्द भएपछि भेरीखोला क्षेत्रका बासिन्दाको आवतजावत ठप्प हुनुका साथै खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित बनेको छ । तातोपानी–८ का स्थानीय सन्देश शाहीका अनुसार सडक बन्द हुँदा सबैभन्दा बढी समस्या महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीले भोग्नुपरेको छ । भने सामान ढुवानी रोकिएको छ । बिरामी अस्पताल लैजान र सामान्य आवतजावतसमेत कठिन बनेको हो ।
जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाबीच भएको छलफलपछि सडक आंशिक रूपमा सञ्चालनमा आए पनि अत्यधिक हिलोका कारण सवारीसाधन सहज रूपमा सञ्चालन हुन सकेका छैनन् । स्थानीय हेमन्त शाहीले पनि गाडी पटक–पटक हिलोमा फस्ने, यात्रुले आफैँ बेल्चा लिएर बाटो सफा गर्नुपर्ने अवस्था रहेको बताए ।
उनका अनुसार ध्यानाकर्षण पत्रमा वर्षायामभर सडकमा आवश्यक जनशक्ति, डोजर तथा अन्य उपकरण स्थायी रूपमा तयारी अवस्थामा राख्न, नियमित मर्मत तथा दीर्घकालीन स्तरोन्नतिको काम तत्काल अघि बढाउन माग गरिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाले सीमित बजेट र स्रोत–साधनका कारण अपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गरेको छ । त्रिवेणी–टोप्ला सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालय र विभागमा ध्यानाकर्षण गराइने तथा चालु आर्थिक वर्षमा स्रोत उपलब्ध भए सुधारका काम अघि बढाइने कार्यालयले जनाएको छ ।
यता तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले त्रिवेणी–टोप्ला सडक संघीय सरकारअन्तर्गत सडक डिभिजनको क्षेत्राधिकारमा पर्ने भएकाले गाउँपालिकाले प्रत्यक्ष रूपमा काम गर्न नसक्ने बताए । सडक सुधारका लागि सडक डिभिजनसँग निरन्तर समन्वय र पहल भइरहेको उल्लेख गर्दै सम्बन्धित निकायले चाँडो पहल गर्ने उनले अपेक्षा व्यक्त गरे ।
यता भेरीखोला क्षेत्रका बासिन्दाले सडक स्तरोन्नतिका लागि तत्काल काम सुरु नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार सडकको अवस्था सुधार नभएसम्म वर्षेनी जनधनको जोखिम, आर्थिक क्षति र दैनिक सास्ती दोहोरिने भएकाले अब सम्बन्धित निकायले जिम्मेवारीबाट पन्छिन नहुने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्