
नेपालगन्ज, ९ साउन
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा सेवाग्राहीको गुनासो सुन्नका लागि प्रभावकारी संयन्त्र निर्माण गरिएको छ । अस्पतालमा सेवाग्राहीका गुनासो सुन्ने अधिकारी तोक्दै उनीहरुका गुनासाको संवोधनका लागि अलग्गै गुनासो सुनुवाई समिति नै बनाइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार सेवाग्राहीका गुनासोहरु सुनेर प्रभावकारी रुपले महसुस हुने सम्बोधन गर्नका लागि यस्तो व्यवस्था गरिएको हो । उनका अनुसार अस्पतालको गुनासो सुन्ने अधिकारीका रुपमा डा. रुपेश रोशनलाई तोकिएको छ ।
सूचना अधिकारीमा भने पहिलेदेखि नै डा. प्रविण गुप्ता रहेका छन् । समितिमा वरिष्ठ नर्सिङ प्रशासकको संयोजकत्वमा प्रशासनको प्रतिनिधि वरिष्ठ नर्सिङ प्रशासक, फार्मेसी इन्चार्ज, ल्याब इन्चार्ज, चिकित्सक तथा मेडिकल अफिसरका प्रतिनिधिसमेत सम्मिलित रहेका डा. भट्टराईले बताए ।
अब अस्पतालमा सेवाग्राहीले डा. रोशनलाई सिधै फोन गरेर आफ्नो गुनासो दर्ज गराउन सक्ने र ती गुनासोउपर पहिलो समाधानको पहल स्वयं गुनासो सुन्ने अधिकारीले गर्ने निर्देशन गरिएको छ । गुनासो सुन्ने अधिकारीले समाधान गर्न नसकेको गुनासाहरु गुनासो सुनुवाई समितिबाट समाधान गर्ने र त्यहाँबाट पनि समाधान नभएका गुनासाहरु कार्यकारी निर्देशकले समाधान गर्नेगरी संयन्त्र बनाइएको डा. भट्टराईले जानकारी दिए ।
डा. भट्टराईले सुशासन नियमावली २०६५ मा भएको गुनासो सुन्ने अधिकारीको व्यवस्था अस्पतालमा पहिलोपटक कार्यान्वयन गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्