गजेन्द्र गुरुङ
कुनै समय नेपाली समाजमा परिवार केवल रगतको सम्बन्ध मात्र थिएन, विश्वास, अनुशासन र आत्मीयताको साझा संसार पनि थियो । छोराछोरीका लागि बुवाआमा पहिलो गुरु, पहिलो साथी र पहिलो आदर्श हुन्थे । परिवारभित्रको संवादले धेरै समस्या समाधान गथ्र्यो । तर समयसँगै समाज बदलियो । प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको विस्तार, बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र उपभोक्तावादी संस्कृतिले परिवारभित्रको सम्बन्धको स्वरूप पनि परिवर्तन गरिदियो । एउटै घरमा बस्ने मानिसहरूबीच भौतिक दूरी नभए पनि भावनात्मक दूरी बढ्न थालेको छ । आज अधिकांश अभिभावकको साझा गुनासो छ—‘हामीले आफ्ना छोराछोरीलाई बुझ्न छाड्यौँ कि, उनीहरूले हामीलाई ?’ यो प्रश्न केवल एउटा परिवारको होइन, नेपाली समाजकै गम्भीर सामाजिक चिन्ताको विषय बन्दै गएको छ । विशेषगरी किशोर तथा युवा उमेर समूहमा देखिएको व्यवहारगत परिवर्तन, गलत सङ्गत, लागूपदार्थको जोखिम, राति घर नफर्कने प्रवृत्ति, परिवारसँग संवादको कमी र डिजिटल संसारमा बढ्दो निर्भरताले अभिभावकलाई असुरक्षित र असहाय महसुस गराइरहेको छ । यही बदलिँदो पारिवारिक यथार्थको गहिरो समीक्षा आजको आवश्यकता बनेको छ ।
बदलिँदो पुस्ता, बढ्दो दूरी र अभिभावकको मौन पीडा
बिहानदेखि बेलुकासम्म पसिना बगाएर घर फर्किएका एक बुवाले छोरालाई फोन गर्छन् । फोन बज्छ, तर उठ्दैन । केहीबेरपछि फोन नै बन्द हुन्छ । राति १० बज्छ, ११ बज्छ, १२ बज्छ । घरको ढोका अझै खुल्दैन । आमाको आँखामा निद्रा हुँदैन । बुवाको मनमा एउटै प्रश्न घुमिरहन्छ— ‘कतै केही भयो कि ? गलत साथीको सङ्गतमा त परेको छैन ?’ यो कुनै एक परिवारको कथा होइन । आज नेपालका हजारौँ परिवारले यस्तै पीडा भोगिरहेका छन् । विशेषगरी कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत किशोर तथा युवाका अभिभावकहरू सन्तानको व्यवहारका कारण गहिरो मानसिक तनावमा छन् । उनीहरू भन्छन्— ‘हामीले भविष्य बनाउन सबै कुरा त्याग्यौँ, तर आफ्नै छोराछोरीले हाम्रो मन बुझेनन् ।’ किशोरावस्था आफैँमा परिवर्तनको उमेर हो । यही समयमा व्यक्तित्व निर्माण हुन्छ, स्वतन्त्रताको चाहना बढ्छ, साथीहरूको प्रभाव बलियो हुन्छ र जोखिमपूर्ण निर्णय गर्ने सम्भावना पनि बढ्छ । यही कारण अभिभावक र सन्तानबीचको सम्बन्धमा तनाव देखिनु अस्वाभाविक होइन । तर पछिल्ला वर्षहरूमा यो तनाव सामान्य पुस्तान्तरिक मतभेदमा सीमित छैन । घरबाट झुट बोलेर निस्किने, राति सम्पर्कविहीन हुने, मोबाइल बन्द गर्ने, अभिभावकको सल्लाहको ठीक उल्टो गर्ने र गलत सङ्गतमा फस्ने घटना बढ्दै गएको अनुभव अभिभावकहरूले साझा गरिरहेका छन् । यस्ता व्यवहारलाई केवल ‘अटेरीपन’ भनेर बुझ्दा समस्या झन् जटिल हुन सक्छ । विभिन्न अध्ययनहरूले देखाउँछन् कि किशोरसँग विश्वासमा आधारित सम्बन्ध, सम्मानजनक संवाद र अभिभावकको सकारात्मक संलग्नता लागूपदार्थको प्रयोग र अन्य जोखिमपूर्ण व्यवहार कम गराउने महत्वपूर्ण पक्ष हुन् । नेपालमै गरिएको एक गुणात्मक अध्ययनले पनि अभिभावकको ध्यानको कमी, परिवारभित्र खुला संवादको अभाव, साथीहरूको प्रभाव र भावनात्मक समस्याले युवाहरूलाई लागूपदार्थतर्फ धकेल्न सक्ने देखाएको छ । अत्यधिक नियन्त्रण वा कठोर सजायले कहिलेकाहीँ समस्या झन् बढाउन सक्ने निष्कर्ष पनि अध्ययनमा उल्लेख छ । यसको अर्थ सबै गल्ती अभिभावककै हो भन्ने होइन ।समाज पनि तीव्र रूपमा बदलिएको छ । मोबाइल, सामाजिक सञ्जाल, रात्री जीवन, अनियन्त्रित डिजिटल सामग्री, साथीहरूको प्रभाव र लागूपदार्थको बढ्दो पहुँचले आजका किशोरलाई पहिलेभन्दा धेरै फरक वातावरणमा हुर्काइरहेको छ । उनीहरूलाई उपलब्ध स्वतन्त्रता र उनीहरूले सामना गरिरहेका जोखिम दुवै बढेका छन् । अर्कोतर्फ अभिभावकको पीडा पनि वास्तविक छ । उनीहरू सन्तानलाई नियन्त्रण गर्न होइन, सुरक्षित राख्न चाहन्छन् । ‘फोन उठाइदेऊ’, ‘घर फर्किने समय भनिदेऊ’, ‘गलत साथीबाट बच’ भन्ने आग्रह नियन्त्रणको भाषा होइन, चिन्ताको भाषा हो । सन्तानले यसलाई हस्तक्षेप ठान्छन् भने अभिभावकले त्यसलाई जिम्मेवारी ठान्छन् । यही बुझाइको दूरीले सम्बन्धमा दरार ल्याइरहेको छ ।
किन टाढिँदैछन् छोराछोरी ? साथी, सामाजिक सञ्जाल र लागूपदार्थको प्रभाव
कुनै समय थियो, जब घर नै बच्चाको पहिलो विद्यालय थियो र अभिभावक नै सबैभन्दा ठूलो आदर्श । आज पनि त्यो सत्य पूर्ण रूपमा हराएको छैन, तर त्यसको स्वरूप भने बदलिएको छ । अहिले धेरै किशोर–किशोरीको दैनिक जीवनमा परिवारभन्दा बढी प्रभाव साथीहरूको समूह, मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेटको छ । उनीहरूले धेरै कुरा अब बुवाआमाबाट होइन, टिकटक, इन्स्टाग्राम, युट्युब वा साथीहरूबाट सिकिरहेका छन् । यही परिवर्तनले पुस्ताबीचको दूरी अझ बढाएको छ ।
किशोरावस्था यस्तो चरण हो, जहाँ स्वतन्त्रताको चाहना स्वाभाविक रूपमा बढ्छ । आफ्ना निर्णय आफैँ गर्न चाहने, नयाँ अनुभव खोज्ने र परिवारभन्दा साथीहरूसँग बढी समय बिताउने प्रवृत्ति विकास मनोविज्ञानले पनि स्वीकार गरेको तथ्य हो । समस्या त्यतिबेला सुरु हुन्छ, जब यही स्वतन्त्रता जिम्मेवारीविहीन बन्छ । घरमा कहाँ जाँदैछु भन्ने नबताउने, ढिलोसम्म बाहिर बस्ने, फोन नउठाउने वा बन्द गर्ने, झुट बोलेर हिँड्ने जस्ता व्यवहारले अभिभावकको विश्वास कमजोर बनाउँछ । विश्वास टुटेपछि सम्बन्धमा संवादभन्दा शंका बढी हुन थाल्छ । धेरै अभिभावकको अनुभव उस्तै छ— ‘जसको सङ्गत नगर भन्यो, उसैसँग घुम्छ ।’ यसको एउटा कारण किशोर उमेरमा साथीहरूको स्वीकृति परिवारको स्वीकृतिभन्दा महत्त्वपूर्ण ठानिनु पनि हो । यदि साथीहरूको समूह सकारात्मक छ भने त्यसले राम्रो प्रभाव पार्छ । तर समूहमा लागूपदार्थ सेवन, मदिरा, धूमपान, हिंसात्मक व्यवहार वा गैरजिम्मेवार जीवनशैली सामान्य मानिन्छ भने त्यसको असर अन्य सदस्यमा पनि पर्ने सम्भावना धेरै हुन्छ । नेपालमा पछिल्ला वर्षहरूमा लागूपदार्थको पहुँच र प्रयोगबारे चिन्ता बढ्दै गएको छ । विद्यालय तथा कलेज पढ्ने उमेरका युवामाझ चुरोट, मदिरा, गाँजा मात्र होइन, अन्य प्रतिबन्धित लागूपदार्थसम्मको पहुँच पहिलेभन्दा सहज भएको प्रहरी, स्वास्थ्यकर्मी र सामाजिक संस्थाहरूले बारम्बार औँल्याइरहेका छन् । सुरुमा ‘साथीले एकपटक मात्र प्रयोग गर’ भन्ने दबाबले सुरु भएको बानी पछि लतमा बदलिन सक्छ । धेरै युवाले यसलाई ‘फेसन’, ‘तनाव कम गर्ने उपाय’ वा ‘आधुनिक जीवनशैली’ ठानेर सुरु गर्ने गरेको अध्ययनहरूले देखाएका छन् ।
यससँगै अर्को गम्भीर पक्ष मानसिक स्वास्थ्य पनि हो । धेरै किशोर आफ्ना तनाव, असफलता, प्रेम सम्बन्ध, पढाइको दबाब वा भविष्यको अन्योलबारे घरमा खुलेर कुरा गर्न सक्दैनन् । उनीहरूलाई लाग्छ— ‘बुवाआमाले बुझ्नुहुन्न’, ‘गाली मात्र गर्नुहुन्छ’ वा ‘मेरो कुरा सुन्ने फुर्सद कसैलाई छैन ।’ यही मौनताले उनीहरूलाई बाहिरी प्रभावतर्फ धकेल्न सक्छ । भावनात्मक रूपमा एक्लिएको किशोर गलत समूहको प्रभावमा पर्न सजिलो हुन्छ । यसको अर्थ अभिभावकले माया गरेका छैनन् भन्ने होइन । बरु धेरै अभिभावकको जीवनको केन्द्र नै सन्तान हुन्छ । उनीहरू आफ्ना इच्छा दबाएर, दिनरात मेहनत गरेर, ऋण काढेर समेत छोराछोरीलाई राम्रो विद्यालय वा कलेजमा पढाउँछन् । तर कहिलेकाहीँ आर्थिक जिम्मेवारी पूरा गर्ने क्रममा भावनात्मक सम्बन्ध कमजोर बन्छ । एउटै घरमा बस्दा पनि परिवारबीच संवाद हराउन सक्छ । सबैजना आफ्नै मोबाइलमा व्यस्त हुन्छन्, तर एकअर्काको मन बुझ्ने समय निकाल्दैनन् । यतिबेला एउटा गम्भीर प्रश्न उठ्छ—के हामी छोराछोरीलाई केवल राम्रो शिक्षा दिइरहेका छौँ, कि राम्रो जीवन पनि सिकाइरहेका छौँ ? विद्यालयले गणित, विज्ञान र भाषा सिकाउँछ । तर सत्य बोल्ने, जिम्मेवारी लिन सिक्ने, परिवारको पीडा बुझ्ने, ‘होइन’ भन्न सक्ने साहस र गलत सङ्गतबाट जोगिने चेतना मुख्यतः घरबाटै विकसित हुन्छ । अर्कोतर्फ किशोरहरूले पनि बुझ्नुपर्ने कुरा छ । अभिभावकले फोन गर्दा त्यो निगरानीका लागि मात्र होइन, सुरक्षाका लागि पनि हो । राति अबेरसम्म सम्पर्कविहीन हुँदा अभिभावकले शंका होइन, चिन्ता गर्छन् । दुर्घटना, हिंसा, लागूपदार्थ, आपराधिक गतिविधि वा अन्य अप्रिय घटनाका समाचारहरू दैनिक सुनिरहेका बुवाआमाको मनमा डर आउनु स्वाभाविक हो । त्यसैले एउटा सानो फोन, एउटा सन्देश वा ‘म सुरक्षित छु’ भन्ने जानकारीले उनीहरूको ठूलो चिन्ता कम गर्न सक्छ । यस समस्याको समाधान कसैले कसैलाई जितेर सम्भव छैन । न त केवल कडा अनुशासनले, न त असीमित स्वतन्त्रताले । समाधानको आधार भनेको विश्वास, संवाद, समय र पारस्परिक सम्मान हो ।
समाधानको बाटो—विश्वास, संवाद र साझा जिम्मेवारी
हरेक अभिभावकको एउटै सपना हुन्छ—आफ्नो सन्तानले आफूभन्दा राम्रो जीवन बाँचोस् । त्यसका लागि उनीहरू आफ्नो खुसी, आराम र चाहना त्याग्न पनि पछि पर्दैनन् । तर जब त्यही सन्तान घरभन्दा बाहिरको संसारलाई बढी विश्वास गर्न थाल्छ, अभिभावकको मनमा असहायपन जन्मिन्छ । कतिपयले भन्ने गरेका छन्, ‘सानो हुँदा हात समातेर हिँडाउने छोरा–छोरी ठूला भएपछि मनबाटै टाढा भए ।’ तर यसको समाधान निराशा होइन, सम्बन्धको पुनर्निर्माण हो । सबैभन्दा पहिले, अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने आजका किशोर हिजोका किशोर होइनन् । उनीहरू सूचना प्रविधिको संसारमा हुर्किएका छन् । उनीहरूको सोच, मित्रता, मनोरञ्जन र सिकाइको तरिका फरक छ । त्यसैले केवल ‘हामीले भनेको मान’ भन्ने शैलीले मात्र उनीहरूलाई प्रभावित गर्न सकिँदैन । उनीहरूको कुरा धैर्यपूर्वक सुन्ने, प्रश्नलाई सम्मान गर्ने र निर्णयमा सहभागिता गराउने संस्कृतिले सम्बन्ध बलियो बनाउँछ । यसको अर्थ अनुशासन आवश्यक छैन भन्ने होइन । स्वतन्त्रतासँगै जिम्मेवारी पनि हुनुपर्छ । घर फर्किने समय, साथीहरूको जानकारी, फोन सम्पर्क र परिवारसँगको नियमित संवादजस्ता आधारभूत नियम परिवारभित्र सहमतिमै तय गर्न सकिन्छ । नियम डरले होइन, विश्वासले पालना हुने वातावरण बनाउनुपर्छ । छोराछोरीको पनि उत्तिकै जिम्मेवारी छ । बुवाआमाले कहिलेकाहीँ कडा स्वरमा बोले पनि त्यसको जडमा घृणा होइन, माया र चिन्ता हुन्छ । आफू सुरक्षित भएको जानकारी दिनु, झुट नबोल्नु, समस्या परे खुला रूपमा भन्नु र गलत सङ्गतबाट टाढा रहनु कुनै बोझ होइन, परिवारप्रतिको जिम्मेवारी हो । एउटा सानो फोनले, एउटा सन्देशले वा ‘म ढिलो आउँछु’ भन्ने जानकारीले अभिभावकको रातभरको चिन्ता हटाउन सक्छ । विद्यालय र कलेजको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण छ । शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनु हुँदैन । जीवन–सीप, मानसिक स्वास्थ्य, डिजिटल साक्षरता, लागूपदार्थको जोखिम, साथी छनोट र पारिवारिक सम्बन्धबारे नियमित परामर्श तथा अभिमुखीकरण आवश्यक छ । अभिभावक–शिक्षक भेटघाट परीक्षा नतिजा बुझ्ने कार्यक्रममा मात्र सीमित नभई विद्यार्थीको व्यवहार र मानसिक अवस्थाबारे साझा छलफल गर्ने माध्यम बन्नुपर्छ ।
समाजको भूमिका पनि कम छैन । अहिले सफलताको मापन धेरै हदसम्म पैसा, महँगा मोबाइल, मोटरसाइकल वा बाहिरी देखावटी जीवनशैलीबाट हुन थालेको छ । यस्तो प्रतिस्पर्धाले धेरै किशोरलाई गलत बाटो रोज्न प्रेरित गर्न सक्छ । त्यसैले समाजले श्रम, अनुशासन, इमानदारी र नैतिकतालाई सम्मान गर्ने वातावरण बनाउनुपर्छ । खेलकुद, साहित्य, संगीत, स्वयंसेवा र सिर्जनात्मक गतिविधिमा युवाको सहभागिता बढाउने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ । राज्यको जिम्मेवारी अझ ठूलो छ । विद्यालय वरिपरि र युवाहरूको पहुँचमा लागूपदार्थको कारोबार नियन्त्रण गर्ने, मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, विद्यालय–कलेजमा परामर्शदाता (काउन्सेलर) व्यवस्था गर्ने र परिवारलाई लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने काममा राज्यले प्राथमिकता दिनुपर्छ । कानुन बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि अपरिहार्य छ । अन्ततः यो पुस्ताको लडाइँ होइन, सम्बन्धको परीक्षा हो । किशोरले अभिभावकलाई शत्रु ठान्नु हुँदैन, अभिभावकले पनि किशोरलाई केवल अवज्ञाकारी भनेर निष्कर्ष निकाल्नु हुँदैन । दुवै पक्षले एकअर्काको दृष्टिकोण बुझ्ने प्रयास गरे मात्र विश्वासको पुल पुनः निर्माण हुन सक्छ । घर केवल बस्ने ठाउँ होइन, सुरक्षित महसुस गर्ने स्थान हो । त्यहाँ डरभन्दा संवाद, आदेशभन्दा विश्वास र दूरीभन्दा आत्मीयता बलियो हुनुपर्छ । आजका किशोर भोलिका नागरिक हुन् । उनीहरूलाई सही दिशा दिन परिवार, विद्यालय, समाज र राज्य सबैको साझा दायित्व हो ।किनकि सन्तान सफल हुनु मात्र पर्याप्त छैन, उनीहरू असल, जिम्मेवार र संवेदनशील नागरिक बन्नु अझ महत्त्वपूर्ण छ । र त्यो यात्रा घरबाटै सुरु हुन्छ ।









प्रतिक्रिया दिनुहोस्