शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
२५ असारमा मुगुको सोरु–१ घर भई काठमाडौँमा बस्दै आएका २५ वर्षीय गणेश नेपालीले जिउँदै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरे । २६ असारमा काठमाडौँको बुद्धनगरका २० वर्षीय आश्विन राउतले पनि गणेशकै बाटो रोजे । सोही दिन सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले समेत शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । ३१ असार (बुधबार) पनि रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ का २८ वर्षीय गौतमकुमार साहनीले आत्मदाहको प्रयास गरे ।
नेपालमा असार २५ गतेदेखि ३१ गतेसम्म एक साताको अवधिमा मात्रै चार जनाले आत्मदाहको प्रयास गरेका छन् । उनीहरुध्ये तीन जनाको त निधन नै भइसकेको छ । नेपालीको वीर अस्पताल र राउतको मण्डलको कीर्तिपुर बर्न अस्पतालमा निधन भएको हो । कर्णाली प्रदेशको मुगुका गणेश, राजधानी सहर काठमाडौँका राउत र मधेश प्रदेशको सर्लाहीका मण्डलले मृत्युको एउटै बाटो रोजे । त्यो हो, जिउँदै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास । फरक पृष्ठभूमिका उनीहरुले जीवन समाप्तिको एउटै उपाय रोजेपछि नेपाली समाजभित्र आम नागरिकमा रहेको साझा समस्या एकैपटक उजागर गरिदिएको छ ।
घटना फरक–फरक, परिस्थिति र पृष्ठभूमि छन् । तर, एउटा साझा प्रश्न उब्जिएको छ, ‘के नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै गएको हो ?’ उनीहरुको मृत्युलाई नेपाली समाजमा अहिले विभिन्न कोणबाट विश्लेषणसमेत भइरहेको छ । त्योमध्येको एक हो, उनीहरुले मानसिक समस्याका कारण आत्मदाह रोजे वा अन्य कुनै कारणले । राइड सेयरिङ एपमार्फत राइडरको काम गर्ने गणेशले मोटरसाइकल किन्न घरको जग्गा बन्धकी राखेका थिए ।
छोरी र श्रीमतीसहित काठमाडौँमा बस्दै उनलाई पारिवारिक बोझ धेरै थियो । उनले आत्मदाह गर्नुपूर्व नगर प्रहरीसँग पार्किङ शुल्कका विषयमा विवाद भएको देखिएको छ । यस प्रकरणमा सरकारले छानबिन समिति गठनको तयारी गरिरहेको छ । सिराहा लहानका स्थायी बासिन्दा रहेका ५० वर्षीय राउतको आत्मदाह प्रयासको प्रकरण व्यवसाय धराप भएपछि तनाव सहन नसकेर त्यस्तो कदम चालेको देखिन्छ । उता, विज्ञान विषयमा एमएससी गरेका मण्डलले राजनीति र पारिवारिक दबाबका कारण मृत्युको बाटो रोजेको प्रमुख कारण रहेको भनिएको छ ।
उनी स्थानीय विद्यालयमा पढाउँथे । तर, विद्यालयभित्रको राजनीतिका कारण पछिल्लो समय बेरोजगार थिए । माथि उल्लेखित केही प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा आत्महत्याको तथ्यांक भने कहाली लाग्दो छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने विभिन्न कारणमा मानिसहरुले आत्महत्या र आत्मदाहको बाटो रोजेको देखिन्छ ।
प्रहरीका अनुसार झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार प्रयोग गरेर र पेट्रोल छर्किएर आत्मदाह गरिरहेका छन् ।
आर्थिक वर्ष २०८२–०८३ को वैशाख मसान्तसम्म पाँच हजार ५६७ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ । ६७७ जनाले विष सेवन गरी ज्यान गुमाएका छन् । यसैगरी, आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा दर्ता हुने मुद्दाको संख्या पनि उल्लेखनीय छ । चालू आर्थिक वर्ष २०८२–०८३ को वैशाखसम्म मात्रै १६२ वटा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । जसले आत्महत्या व्यक्तिगत मानसिक अवस्थासँग मात्र नभई सामाजिक, पारिवारिक र कानुनी आयामसँग पनि गाँसिएको गम्भीर सार्वजनिक सरोकारको विषय भएको संकेत गर्छ ।
‘सामाजिक सुरक्षा संयन्त्र मजबुत बनाउनुपर्छ’
समाजशास्त्री डा. विष्णु दाहालका अनुसार नेपालमा बढिरहेका आत्महत्याका घटना केवल व्यक्तिको मानसिक अवस्थासँग जोडेर मात्र व्याख्या गर्न पर्याप्त हुँदैन । पछिल्ला घटनाहरु राज्यको संरचना, सामाजिक परिवर्तन र त्यसप्रति व्यक्तिका प्रतिक्रियाको संयुक्त परिणामका रूपमा देखिन थालेको उनी बताउँछन् । अब गाउँमा वृद्ध आमाबुबा मात्र बस्ने, काम र अध्ययनका लागि युवा पुस्ता सहर वा विदेश जाने प्रवृत्ति बढेको छ ।
डा. दाहालले आत्महत्याबाट जोगाउने सामाजिक सुरक्षा संयन्त्र कमजोर बन्दै गएको र सहरमा पनि बिस्तारै एक्लोपनाको संस्कृति बढ्दै गएको देखिन्छ । यस्तो एक्लोपनाले मानसिक तनावलाई झन् गहिरो बनाउने र आत्महत्याको जोखिम बढाउने उनको भनाइ छ । आत्महत्या कुनै एक कारणको परिणाम मात्र नभई मानसिक, सामाजिक, आर्थिक र वातावरणीय अवस्थाको जटिल अन्तरसम्बन्धबाट उत्पन्न हुने व्यवहार भएको मनोवैज्ञानिक कृपा सिग्देल बताउँछिन् ।
उनका अनुसार, प्रत्येक आत्महत्याका घटना एकै कारणसँग जोडेर व्याख्या गर्न मिल्दैन । कतिपय अवस्थामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रमुख कारण बन्छ भने कतिपयलाई आर्थिक अभाव, बेरोजगारी, पारिवारिक तनाव, सामाजिक सम्बन्धमा आएको दूरी वा असहायताको अनुभूतिले चरम निराशातर्फ धकेल्न सक्छ । वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीका अनुसार आत्महत्या जस्तो चरम निर्णय प्रायः एकाएक लिइने निर्णय नभई लामो समयदेखि मनमा थुप्रिँदै आएको निराशा, कुण्ठा, असहायपन र कहिलेकाहीँ प्रतिशोधको भावनाको परिणाम हुने गर्छ ।
उनका अनुसार धेरैजसो आत्महत्याका घटनामा व्यक्तिले आफ्नो जीवनका समस्याबाट बाहिर निस्कने कुनै विकल्प नदेखेपछि आत्महत्या अन्तिम उपायका रूपमा रोज्ने अवस्था सिर्जना हुन्छ । परिवार, समुदाय, विद्यालय, कार्यस्थल र राज्य सबैले जोखिममा रहेका व्यक्तिको मानसिक अवस्थाप्रति संवेदनशील बन्नु, समयमै संवाद र सहयोगको वातावरण निर्माण गर्नु तथा सहज रूपमा मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको उनको जोड छ ।









प्रतिक्रिया दिनुहोस्