नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेश सरकारको नेतृत्व परिवर्तनको बहस निर्णायक मोडमा पुगेको छ । सरकारमा सहभागी नेपाली काँग्रेसका चार मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएसँगै प्रदेश सरकार पुनर्गठन हुने कि नयाँ राजनीतिक समीकरण बन्ने भन्ने विषयमा चासो बढेको छ । काँग्रेसले यो राजीनामालाई सामान्य मन्त्री हेरफेर नभई विगतमा एमालेसँग भएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गराउने राजनीतिक दबाबका रूपमा अघि सारेको छ । तर एमालेले नेतृत्व हस्तान्तरण गर्ने कि नयाँ गठबन्धनको विकल्प खोज्ने भन्नेबारे अझै औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।
सत्तापक्ष दलका प्रमुख सचेतक तथा नेकपा एमालेका प्रदेशसभा सदस्य टेकराज पछाँईलेले यस विषयमा छलफल भइरहेको बताए । ‘एमाले नेतृत्वकै सरकारमा काँग्रेस सहभागी हुन्छ, काँग्रेसले नयाँ मन्त्री पठाउनेमा एमालेको बुझाइ छ,’ उनले भने, ‘अहिले नयाँ गठबन्धनबारे एमालेले पार्टीभित्र छलफल चलाएको छैन, र बाहिर अन्य दलसँग पनि कुनै छलफल भएको छैन ।’ यता सत्तापक्षका प्रमुख सचेतक तथा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य हिक्मतबहादुर बिष्टले सरकारको नेतृत्व परिवर्तनका लागि नै मन्त्रीहरूले राजीनामा दिएको दाबी गरे ।
उनका अनुसार पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे छलफल भइसकेको र त्यसकै निर्णयअनुसार मन्त्रीहरूले पद त्यागेका हुन् । अबको निर्णय मुख्यमन्त्री यामलाल कँडेल र एमालेको कदममा निर्भर रहने उनले बताए । एमालेको निर्णयपछि मात्रै काँग्रेसले सरकार पुनर्गठन गर्ने वा नयाँ मन्त्री पठाउने विषयमा निर्णय गर्ने उनको भनाइ छ । ‘मुख्यमन्त्रीसहितको नेतृत्व परिवर्तन गर्ने विषयमा पार्टीभित्र संवाद भएको थियो । सोही निर्णय कार्यान्वयनका लागि काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएका हुन्,’ उनले भने, ‘यो विषयलाई मुख्यमन्त्री कँडेलले कसरी अघि बढाउँछन् । हामी हेर्छौँ, एमालेको निर्णयपछि सरकार पुनर्गठन वा नयाँ मन्त्री पठाउनेबारे काँग्रेसले आवश्यक निर्णय लिनेछ ।’
राजीनामापछि काँग्रेसले तत्काल नयाँ मन्त्रीको नाम नपठाउने स्पष्ट गरेको छ । काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिले मन्त्रीहरूको राजीनामा मात्रै बुझाइएको र नयाँ मन्त्री नियुक्तिका लागि सूची तत्काल नबुझाइने जानकारी दिए । उनका अनुसार केही समयअघि काँग्रेस र एमालेबीच प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे संवाद भएको थियो । बजेट पारित भएपछि प्रदेश सरकारहरूको नेतृत्व हेरफेर गर्ने समझदारी बने पनि त्यसपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । अहिले बजेट पारित भइसकेकाले प्रदेश सरकार परिवर्तनको विषय फेरि सक्रिय भएको उनले बताए ।
शर्माले कर्णालीका मन्त्रीहरूको सामूहिक राजीनामालाई पनि विगतमा दुई दलबीच भएको राजनीतिक समझदारीको निरन्तरताका रूपमा लिनुपर्ने धारणा राखेका छन् । बुधबार राजीनामा दिने काँग्रेस मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी रहेका छन् । राजीनामा दिएका मन्त्री सुरेश अधिकारीले दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने स्पष्ट सहमति भए पनि एमाले त्यसप्रति इमान्दार नदेखिएकाले सामूहिक रूपमा राजीनामा दिएको बताएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेल २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । प्रारम्भमा तत्कालीन सत्ता समीकरणअनुसार माओवादी केन्द्रको समर्थनमा सरकार गठन भएको थियो । पछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँगै काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेको थियो र त्यसअनुसार २०८१ साउनदेखि काँग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो । यसअघि दुई दलबीच प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने सहमति भएको चर्चा भए पनि त्यसको औपचारिक कार्यान्वयन हुन सकेको छैन ।
अहिले काँग्रेसले मन्त्री फिर्ता बोलाएर त्यही सहमति कार्यान्वयन गर्न दबाब बढाएको देखिन्छ । तर एमालेले नेतृत्व काँग्रेसलाई हस्तान्तरण गर्ने वा प्रदेशसभाको अंकगणितलाई आधार बनाएर अर्को राजनीतिक समीकरण निर्माण गर्ने भन्नेमा अझै खुलाएको छैन । काँग्रेसले मन्त्रीहरूको राजीनामासँगै सरकारमा आफ्नो सहभागिता स्थगित गरेकाले अब मुख्यमन्त्री कँडेलले सरकार पुनर्गठन गर्ने, विश्वासको मत लिने वा नयाँ राजनीतिक सहमतिको प्रयास गर्ने विकल्पमध्ये कुन बाटो रोज्छन् भन्नेमा कर्णालीको राजनीति केन्द्रित भएको छ ।
कर्णाली प्रदेशसभामा हाल नेपाली काँग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले) का १०, राप्रपाका १, नेकपा (एकीकृत समाजवादी) का १ र एक स्वतन्त्र सदस्य रहेका छन् । यही अंकगणितका आधारमा आगामी सरकारको स्वरूप निर्धारण हुने भएकाले काँग्रेस–एमाले सहकार्य कायम रहने वा नयाँ गठबन्धन बन्ने भन्ने विषय अहिले कर्णाली प्रदेशको सबैभन्दा महत्वपूर्ण राजनीतिक बहस बनेको छ ।
यता प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक तथा नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले सरकारमा सहभागी हुने वा नयाँ गठबन्धन बनाउने विषयमा एमालेसँग कुनै औपचारिक छलफल नचलेको बताए । तर केही समयअघि काँग्रेससँग भने संवाद भएको उनले संकेत दिए । ‘अहिले एक्कासि राजीनामा किन दिए ? यसबारे उनीहरूलाई नै थाहा होला । यसमा पहिलो कुरा एमाले नेतृत्वको सरकारको कामकारबाहीबारे असन्तुष्टि पनि देखिन्छ भने दोस्रो कुरा काँग्रेसले मन्त्री फर्ने सम्भावना पनि हुनसक्छ,’ उनले भने, ‘तर नेकपा सरकारमा सहभागी हुनेबारे पार्टीभित्र आन्तरिक वा बाह्य कुनै संवाद भएको छैन ।’









प्रतिक्रिया दिनुहोस्