‘एउटा अल्बाट्रस’को गृह विमोचन र कृति संवाद



कोहलपुर (बाँके) ।

निबन्धकार तथा नियात्राकार सागर गैरेद्वारा लिखित नियात्रा संग्रह ‘एउटा अल्बाट्रसः प्रशान्त महासागरदेखि कालासागरसम्म’को गृह विमोचन तथा कृति संवाद सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा लेखक गेरैको चौथो कृति ‘एउटा अल्बाट्रसः प्रशान्त महासागरदेखि कालासागरसम्म’को गृह विमोचन तथा कृति संवाद सम्पन्न भएको हो ।

बाँकेको कोहलपुरलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका गैरेको पछिल्लो नियात्रा संग्रहको यसअघि २०८३ जेठ ३० गते सर्वनाम थिएटर कालिकास्थानमा लोकार्पण भइसकेको छ । माया पब्लिकेशन प्रालिले प्रकाशन गरेको नियात्रा संग्रह लोकार्पण भएको एक महिनापछि कोहलपुरमा गृह विमोचन सम्पन्न भएको हो ।

वागेश्वरी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको विमोचन कार्यक्रममा नियात्राकार भरत रानाभाटले उक्त कृतिको समीक्षा गरेका थिए । विश्व साहित्यमा प्रमुख विधाको रुपमा रहेको नियात्रा विधालाई विधागत गहिराइमा गएर विभिन्न सन्दर्भ र पृष्ठभूमिसहित लेखिएको एउटा अल्बाट्रस निकै पठनीय भएको बताए ।

उनका अनुसार पाँच वटा देश घुमेर लेखिएको पुस्तकले शब्दका माध्यमबाट पाठकहरुले सो क्षेत्रमा यात्रा गरेको अनुभूति दिलाउँछ । नियात्रा संग्रह मलेसिया, भियनाम, गोवा (भारत), फिलिपिन्स र जर्जिया यात्राको संस्मरण मात्रै नभएर त्यहाँका भाषा, संस्कृति, राजनीतिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्ष समेटेर लेखिएकोले पुस्तक झन् पठनयोग्य रहेको उनको भनाइ थियो ।

निबन्धकार तथा नियात्राकार गैरे र कवि तथा सञ्चारकर्मी वीरेन्द्र जैशी (वीपी अस्तु)का बीच ‘नियात्रा, साहित्य र अनेक अनुभूतिहरु’ विषयमा संवाद कार्यक्रम भएको थियो । जहाँ लेखक गैरेले पुस्तकमा आफूले भ्रमण गरेका देश र त्यहाँका यात्राका क्रममा भोगेका भोगाइहरु सुनाएका थिए । गैरेले ती देशहरुमा हिँडेर, महशुस गरेर, छोएर, हेरेर र अनुभूत गरेर नियात्रा लेखेको बताए ।

उनी भन्छन्, ‘मलाई डुलेर खान पुग्दैन । आफू बाँचिरहेको समयको संसार देख्ने रहर छ । पृथ्वीका कुनाकन्दरामा के भइरहेको छ, जिज्ञासा छ।’ आफूलाई घुम्न मन पर्ने र आकस्मिक रुपमा झोला बोकेर कहिले समुद्रमा, कहिले अग्ला पहाडमा र कहिले ग्रामीण इलाका पुग्न मन लाग्ने र सकभर धेरैभन्दा धेरै ठाउँ पुग्ने खोज्ने गैरेको भनाइ छ ।

कृति संवादको अन्त्यमा गैरेले चर्को गर्मी र तातो कोठामा अनेक व्यस्ततालाई थाती राखेर पुस्तकको प्रमोसन र लेखकको हौसला बढाउन कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष डा.पुस्कर रिजालले प्रतिष्ठानका सल्लाहकार गैरेको कृतिको गृह विमोचन भव्य रुपमा सम्पन्न भएको बताए । उनका अनुसार कोहलपुरमा व्यवसायसँगै साहित्य सिर्जनामा सक्रिय गैरेको पछिल्लो कृति विगतका भन्दा उत्कृष्ट लेखनशैलीमा बजारमा आएको छ ।

पाल्पामा जन्मिएर बर्दियामा हुर्के बढेका र बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका गैरेका यसअघि तीन कृति प्रकाशित छन् । निबन्ध सङ्ग्रह ‘लकडाउन’ उनको पहिलो कृति हो । गैरेका नियात्रा संग्रह ‘बलइगाउँदेखि बाकुसम्म’ र ‘मोहर’ उपन्यास प्रकाशित छन् । गृह विमोचन कार्यक्रममा बाँकेका साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार