कृति समीक्षाः कनिकनि लेखिएका कविता हैनन् यी



खगेन्द्र गिरि ‘कोपिला’

म प्रवाहित ज्वाला हुँ
म दीप्त प्रज्वलित सत्य हुँ
भस्ममुनि श्वास लिइरहेको
अमोघ कम्पन
म अग्नि स्पन्दन हुँ

कम्पन भएर पनि नचुक्ने र आगो भएर पनि बिस्तारै हल्लिन खोज्ने यो अनौठो रहर हो कवियत्री कल्पना पौडेल ‘जिज्ञासु’ को । खरानी हुँदा पनि श्वास लिएर जीवनको अस्तित्व समेट्न खोज्ने उनको यो रहर ‘अग्निस्पन्दन’ नामक पछिल्लो कविताकृतिमा छताछुल्ल भएर पोखिएको छ । बाउन्न वटा कविताको संगालोको रुपमा यस कविताकृतिले आफ्नो घुम्टो उघारेको हो विक्रम संवत् २०८३ को आगमनसँगै ।

तिमीलाई लाग्ला
म माटो मात्र हुँ
एक विलोपनशील खण्ड
माटो मात्रै होइन
म त ब्रह्माण्डको निषेचित गर्भ हुँ
जसबाट जन्मन्छन्
विषम समयका सभ्यताहरु
म त्यस्तो सघन रेखा हुँ
जसले जीवनको प्रादुर्भाव गर्छ

‘लेखन मेरालागि केवल अभिव्यक्ति मात्र होइन । यो अस्तित्वको धड्कन हो । जसले मेरो मनमा गुम्सिएका भित्री भावलाई शब्दमा रुपान्तरण गरिरहन्छ । मेरो कलमले मेरा भावनालाई कति न्याय गर्न सक्यो ? वा सकेन त्यो कुरा पाठकको जिम्मामा छाडेको छु’ । आफ्नो कविताकर्मको विषयमा कवियत्रीले व्यक्त गरेको भनाइ हो यो । यस भनाइको धरातलमा उभिएर लेखिएका अधिकांश कविताले गरेका पनि छन् यसको पुष्ट्याई । कवियत्रि कहिले कुनै बिम्बमा अनुवाद भएर आफ्नो चेतनाको उडान गरिरहन्छिन् । कहिले कुनै प्रतीकसितै उभिएर आफ्ना सपनामा रङ भरिरहेकी हुन्छिन् । कहिले जगाइरहेकी हुन्छिन् कुनै व्यञ्जनामा पोखेर आफ्नो अस्तित्वलाई । जुनसुकै प्रकारले कोरिएका भए पनि कविताका हरेक अक्षरहरुले कुनै न कुनै नवीन सत्यको उद्घाटन गरेकै छन् ।

म नदी हुँ
अन्त्यहिन यात्राको प्रतिबिम्ब
युगिन यात्राको संवाहक
कहिल्यै मागिनँ मैले सपनाहरु
तर सहरले मलाई सपनाको मोलमा बेच्यो
हरिया किनार कोपरिए
बगर लुछेर खोसिए
प्लाष्टिकका अवशेषले
मेरो हृदय खोतल्न थाले
दूषित पदार्थले बलात्कृत भएँ

प्रायः कविहरु सधैँ सिर्जनाको एउटै गोरेटोलाई पछ्याइरहेका हुन्छन् । विषय र विचारको उही पुरानै राग अलापिरहेका हुन्छन् । लेखनशैली, शब्द संरचना र विषयबस्तुको सधैँ एकरुपता हुने गर्छ । नयाँनयाँ पुस्तकमा पनि पुरानै कुराको पुनरावृत्ति गर्दै गनगन गरिहेका हुन्छन् । तर कल्पना पौडेल ‘जिज्ञासु’ ले भने यस प्रवृत्तिमाथि विजय पाएकी छन् । उनको कल्पना, भावना र सिर्जना पहिलेभन्दा निकै परिस्कृत भएर आएको छ । पहिलेका सिर्जना भन्दा उनका यी कवितामा चिन्तन र दर्शनको पाटो परिपक्क भएर आएको छ । शब्दको संयोजन र सम्प्रेषणमा स्तरियता आएको छ । सिर्जनात्मक परिपक्कताको उँचाई छोएकी छन् कवियत्रीले ।

‘म फर्किएर आउँछु’
समयसीमा र वाचामिश्रित शब्द ओकल्दै
निस्किएको थिएँ एक बिहान
झोलामा थिए
आमाले राखिदिएका बासी रोटी
र भुटेका मकै
बाबुले दिनु भएको बाटो खर्च
मनभरि थिए सपनाका अङ्कुरण
त्यसदिन
जन्मथलोको माटोले मेरो पैताला चुमेर भनेको थियो
‘चाँडै फर्किनू’

हुन त कवियत्रीले लेखेका कुरा उनै छन् । जो अरु कविले पनि लेख्ने गर्छन् । उनले भन्न खोजेको कुरो पनि नयाँ हैन । सुनिदै, भनिदै, लेखिदै आएका कुरा नै हुन् ।चिन्तनलाई निर्देशन गर्ने विचार र विचारलाई मलजल गर्ने विषय पनि उही हो । जो कवियत्रीसित पहिलेपहिले पनि थिए । तर यस कवितासङ्ग्रहका कवितामा उनै विषय, उनै विचार र उनै कुराहरुलाई भन्ने, पोख्ने र लेख्ने शैलीमा कला भने थपिएको छ । शब्दको सृङ्गार र अभिव्यक्तिको शैलीमा निखार आएको छ ।

न आकाश चिर्ने गर्जन छ
न धर्ती पोल्ने अग्नि
तर शान्त स्क्रिनभित्रै
चुपचाप फैलिरहेछ एक अदृश्य युद्ध
न देखिने सेना, न गर्जने तोप
न रगतका नदीहरु बग्छन्
न हाडमासुको थुप्रो
तर डिजिटल जालोका सुक्ष्म तरङ्गहरुले
मस्तिष्कका किल्लाहरु क्रमशः भत्काउँदै छन्
अक्षरहरु अस्त्र बनेका छन्
सूचना बारुद झैँ विस्फोट हुन्छन्

कुनै नयाँ कुरा भनेजस्तो लाग्छ ‘अग्निस्पन्दन’ भित्रका कविता पढ्दा । निकै तार्किक भएर पनि अति मार्मिक छन् यी कविता । समसामयिक कुरा नै बोलेका भए पनि भनाइ निकै अर्थपूर्ण छ । पढ्ने र सुन्ने मान्छेले कान थापेर, मनन गरेर नै बुझ्नु पर्ने हुन्छ यी भनाइहरु । कवियत्रीले के भनेकी होलिन् ? किन भनेकी होलिन् र कसलाई भनेकी होलिन् भनेर पाठकलाई सोच्न बाध्य पार्छन् यी कविताले ।

अपरिचित सहरको कृत्रिम उज्यालोभित्र
सडक बत्तीहरुको चमकमा
जब आफ्नै प्रतिबिम्ब खोज्छु
भेटिदैन अपनत्वको छाया
प्रवासी मान्छे म
निर्जिव ऐनाजस्तै लाग्छ प्रवास

समयका छालहरुसित पौडी खेलेर बाँच्ने चेष्टा गरिरहेका आम मान्छेका जीजिविषाका चित्कार हुन् यी कविता । नाम ‘अग्निस्पन्दन’ भए पनि पाखुरा खियाएर पसिना बगाउँदै जीवनयापन गरिरहेका मान्छेका आँसु बगेजस्ता लाग्छन् यी कविता । भुइँमान्छेको अपनत्व समेटेर लेखिएका हुनाले यी कवितामा माटोको सुगन्ध मगमगाएको छ।

म पुनः आफ्नै मातृभूमि फर्कने निर्णय गर्दैछु
कत्र्तव्यबोधले
कुट कुट भरिएको छ हृदय
म आफ्नो माटोलाई
फेरि अँगाल्न चाहन्छु
जहाँ लुकेको छ
मेरो अस्तित्व
मेरो पहिचान
र मेरो आत्माको वास्तविक सुवास

‘अग्निस्पन्दन’ को चित्रमा समाजको अनुहार छर्लङ्गै देखिन्छ । तर कवियत्रिले देखिएका सबै कुरा कवितामा देखाएकी छैनन् । आफूले अँगालेको विचारले देखाउन खोजेका कुरा मात्रै त्यही विचारको लेप लाएर देखाउन खोजेको जस्तो अनुभूत हुन्छ कताकता । कवियत्री समाजका अरु कुराभन्दा करिया, हलिया, कमलरी, देउकी, छाउपडी, दाइजो र छुवाछुतलाई मात्रै ठूला समस्या मानिरहेकी छन् । ती अवश्य पनि कुनै समयका ठूला समस्या थिए । आजको समयमा ती भन्दा कैँयौँ ठूला समस्या देखा परेका छन् । महङ्गी, पलायन, बेरोजगारी, भ्रष्टाचार, धनी तथा गरिबीको बढ्दो दुरी, गिर्दो मानवता र राजनीतिक हिंसाले समाजलाई सबैभन्दा धेरै प्रभावित पारेको छ अचेल । मान्छेको प्रगतिमा कवियत्री समाजलाई मात्र बाधक देख्छिन् । समाज भनेको उत्पीडन, छुवाछुत, विभेद, शोषण र प्रताडना मात्र होइन । समाज भनेको प्रेम, सदभाव, सहकार्य, सहअस्तित्व र प्रतिस्पर्धा पनि हो । यी सबैकुरा हिजो पनि थिए । आज पनि छन् । पात्र, ठाउँ र रुप फेरिएको छ प्रवृत्ति उस्तै छ । कवियत्रीले भने समाजका प्रेम, सदभाव, सहकार्य, सहअस्तित्व र प्रतिस्पर्धा पट्टि आँखा चिम्लेकी छन् । समाजमा केवल उत्पीडन, छुवाछुत, विभेद, शोषण र प्रताडना मात्रै थियो भन्ने भाष्य पस्केकी छन् । यो कवियत्रीको हेराईको एकांकी कोण भएन र ? छाड्नु पर्ने, बिर्सिनु पर्ने र त्याग्नु पर्ने कुरालाई कवि लेखकहरु किन घरिघरि त्यसैको पुनरावृत्ति गरिरहन्छन् होला? हराउँदै जानु पर्ने कुरालाई किन सम्झाइरहन्छन् होला ? कि कविहरुको मनभित्र उत्पीडन, छुवाछुत, विभेद, शोषण र प्रताडना नहटोस् भन्ने चाहना त छैन ? कि लेख्ने अरु विषय खोज्न, भेट्टाउन र पाउन नसकेको हो ? विषय र आग्रहको एउटै रोटेपिङमा कविहरु किन मच्चिन खोजिरहन्छन् । नयाँ समाज र नयाँ सामाजिक सौन्दर्यको निर्माण गर्ने प्रेम र सदभावका फूलहरु आफ्ना कवितामा उमार्नु पर्ने हैन र आजका कविहरुले ? अग्निस्पन्दन पढ्दै गर्दा र त्यसको काव्यिक स्वादमा लट्ठिरहँदा मलाई यी प्रश्नहरुले पनि लखेटिरहे । तैपनि कवियत्रीले सुन्दर भविष्यको कल्पना गरेकी छन् । मान्छे र समाजलाई सुधार्नु पर्छ भन्ने सन्देश दिएकी छन् । आजका निराश मान्छेलाई सुन्दर सपनाको स्पर्शले थम्थम्याउन खोजेकी छन् ।

जीवित पर्दामा छन्
ज्युँदा सपनाहरु
इतिहासका पाना पल्टाएर
चुप रहने छैनौँ अब हामी
सहने छैनौँ चुप लागेर
शोषण, अन्याय र अत्याचार
सपना हाम्रो हो, हामी आफै देख्छौँ

कवियत्रिले म नारीवादी हुँ भनेर स्वघोषणा पनि गरेकी छन् । तर उनका कवितामा नारीवादी चेत मात्र होइन मानवतावादी चेत पनि भेटिन्छ । तर उनको मानवतावादी चेतलाई नारीवादी चेतले थिचेर राखेको छ । चेतनाको आयाम फराकिलो भएर पनि आफ्नो परिचय नारीवाद मैं किन साँगु¥याइन् होला उनले ? मैले कारण नभेट्टयाएर गम खाइरहेँ । किन नारीबादलाई अनुशासन, परिवार र समाज नचाहिएको होला? बुवाको आदेश, आमाको अर्ती र दाजुको सल्लाहलाई कवियत्रीले किन प्रगतिको बाधक ठानिन् होला ? के कुनै अभिभावकले आफ्नो सन्तानलाई जन्मिने बित्तिकै विद्रोही बन्न प्रेरित गर्छ र? उसले त हुर्किन र बाँच्न पो सिकाउँछ । के ठिक? के बेठिक? भनेर छुट्टयाउन सिकाउँछ । यसरी सिकाउने आमाबाबु र अभिभावकप्रति हरेक मान्छेले जस्ते कवियत्रिले पनि अनुगृहित हुनु पर्ने हैन र ?

एकदिन सन्तानहरु
स्वयं आमा बन्छन्
स्वयं बाबु बन्छन्
निद्राविहिन रातका अभिभावक बन्छन्
भोकविहिन दिनका पर्यायवाची बन्छन्
अनि एउटै ज्वरोले
उनीहरुको आत्मा कम्पन गराउँछ
नेपथ्यको हाँसो पनि शूल बनेर गढ्छ

विषयबस्तुको उठान साँगुरो प्रकारले गरेको भए पनि कल्पना पौडेल ‘जिज्ञासु’ को कल्पनाशीलता निकै फराकिलो छ । शब्द सामथ्र्य र अभिव्यक्तिकौशलताको परिधि पनि विस्तृत छ । विषयबस्तुले छोएका कुरा पनि व्यापक छन् । तर उनी घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै उड्दाउड्दै फेरि उही क्रान्ति, परिवर्तन, विरोध, आक्रोश र असहमतिमै आइपुग्छिन् । कल्पनाशीलताको क्षितिज छुन खोज्ने चेतनाको उडानलाई उनले तानेर फेरि विचारको भाँडोमैं थुपारेर बिर्को लगाउन किन खोजिरहन्छिन् होला ? मेरो पाठक मनले आश्चर्य मानिरह्यो । शारीरिक शोषण, मानसिक प्रताडना, बेरोजगारी, महङ्गी, भौतिक सुविधाको अप्रयाप्तता, अवसरको अप्राप्ति, राजनीतिक बेइमानी र धनको असन्तुलित वितरणले आजका पुरुष र महिला दुबैलाई समान रुपमा प्रभावित पारेको छ । महिला भएकोले केही समस्या महिलाका मात्रै भएजस्तै पुरुष भएकोले केही समस्या पुरुषका मात्रै पनि छन् । समाजका यी यावत साझा समस्यालाई कवियत्रीले एउटा दर्शन र एउटा बादको कोणबाट मात्रै नहेरेको भए यी कवितामा सबैले अपनत्वको अनुभूत गर्थे होलान् । किनकि विचार र वादले जता पु¥याए पनि कवियत्रीको मनको इच्छा भने सबैको मन जित्ने नै हो । ‘यसभित्रका कविताहरु केवल पढिने शब्द मात्र नबनुन्, अनुभूत गरिने यथार्थ बनुन् ‘अग्नि’ अन्याय, विभेद र दमनविरुद्ध साहसिक प्रतिरोध बनोस् र ‘स्पन्दन’ प्रत्येक सचेत आत्माभित्र चलिरहने परिवर्तनको कम्पन बनोस् ।’ यो कवियत्रिको अभिलाषा हो । उनको अभिलाषाले त विचार र वादको घेरो नाँघेर मान्छेका मनमै पुगेर सुम्सुम्याउन खोजेको पनि छ ।
स्वतन्त्र उड्न खोजेको आफ्नो बहुआयामिक चिन्तनको उडानलाई विचारको डोरोले तानेर आफ्नै छेउनिर बसाल्न खोजेको भए पनि यी कविता कनिकनि लेखिएका विचारबादी कविता भने हैनन् । यी त हृदयको गहिराईबाट उर्लिएका स्वतन्त्र सदिच्छा हुन् । मनको तहबाट उठेर आत्माको तहमा उक्लिन खोजेका मानविय संवेदनाका फूल हुन् । जहाँ स्पष्ट देखिन्छ भुइँमान्छेहरुको निर्दोष मनले सुन्दर भविष्यको सुदूर सपना हेरिरहेको ः

सफलतामा अघोर चुलिनु हँुदैन
असफलतामा धुलिसात भएर भत्किनु हुँदैन
हिजो एउटा कालखण्ड हो
आज एउटा कालखण्ड हो
भोलि पनि एउटा कालखण्ड हो
तसर्थ
यात्रा निरन्तर हुनु पर्छ
अजेय पाइला चाल्नुपर्छ

  • No tags available
प्रकाशित मिति : २०८३ असार २० गते शनिबार