नेपालमा बि.स. २००६ सालमा पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्दा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भएकाले यहाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो र प्रमुख कार्यभार रहेको बताएका थिए । यही कार्यभार पुरा गर्न कस्तो कार्यदिशा अर्थात कार्यनीति बनाउने भन्ने विषयमा नेपालका कम्युनिष्टहरु विभिन्न चिरामा विभाजित भए ।
पुष्पलालले बि.स. २०३५ सालमा नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्न पनि राजनीतिक स्वतन्त्रता आवश्यक रहेको भन्दै काँगे्रससँग मिलेर संयुक्त आन्दोलन गरी नेपालमा राजनीतिक स्वतन्त्रता स्थापना गर्ने कार्यदिशा अगाडि सार्दा नेपालका धेरै वामपन्थी भन्नेहरुले पुष्पलाललाई संशोधनवादी भन्दै गद्दार समेत घोषणा
गरे । पुष्पलालको ‘विडो’ सम्हालेका तत्कालिन नेकपा माक्र्सवादीका अध्यक्ष मनमोहन अधिकारीको पहलमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारी समेतको सहकार्यमा नेपाली काँगे्रससँग मिलेर २०४६ सालमा बहुदलिय प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि संयुक्त आन्दोलन गर्ने तत्कालिन कार्यक्रम बनाए । बहुदलीय प्रजातन्त्र प्राप्तीको त्यो कार्यनीति सफल भयो र नेपालमा एक हद सम्मको राजनीतिक स्वतन्त्रता प्राप्त भयो ।
नेपाली काँगे्रसको नेतृत्वमा भएको बहुदलिय प्रजातान्त्रिक व्यवस्थामा नेपालका कम्युनिष्ट पार्टीहरुले आत्म सन्तुष्टि लिएनन्, बरु राजनीतिक स्वतन्त्रता प्राप्त भएको र यसलाई प्रयोग गर्दै शान्तिपूर्ण राजनीति बाटोबाट पनि नेपालको नयाँ जनवादी क्रान्ति पुरा गर्न सकिन्छ भन्ने निष्कर्ष सहित मनमोहन अधिकारी र मदन भण्डारीको पहलमा तत्कालिन नेकपा माक्र्सवादी र नेकपा माले एकिकरण भई नेकपा एमाले बनाए ।
नेपालमा शान्तिपूर्ण ढंगबाट पनि जनवादी क्रान्ति पुरा गर्न सकिन्छ भन्ने आत्मविश्वास सहित मदन भण्डारीले २०४९ सालमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनमा ‘जनताको बहुदलीय जनवाद’ भन्ने तत्कालिन कार्यनीति अगाडि सारे । त्यो कार्यनीति महाधिवेशनबाट पारित भयो र एमालेको राजनीतिक यात्रा हालसम्म यसैमा केन्द्रित रहेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको अर्को धारा माओको विचारधारालाई आत्मसाथ गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति बल प्रयोग (सशस्त्र संघर्ष ) को बाटोबाट मात्र सम्भव छ भन्दै संगठित भयो । त्यसको नेतृत्व तत्कालिन नेकपा माओवादीले ग¥यो । नेपाली वाम आन्दोलनका स्पष्ट दुई धाराहरु सशक्त र जबरजस्त रुपमा अगाडि बढे । नेकपा एमालेले शान्तिपूर्ण राजनीतिक बाटो (संसदीय व्यवस्थामा श्रेष्ठता हासिल गर्दै) बाट नेपाली जनताको जनमतद्वारा बहुमत तथा दुईतिहाई प्रतिनिधि निर्वाचित भई नेपाली अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको राज्यसत्तालाई नयाँ जनवादी चरित्रको बनाउने अठोट सहित त्यसैमा लागिरह्यो । तर त्यो पनि सफल हुन
सकेन ।
त्यस्तै नेकपा माओवादीले सशस्त्र विद्रोहद्वारा पुरानो अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको नेपाली राज्यसत्तालाई बल प्रयोगबाटै कब्जा गर्न सैन्य संगठन समेत निर्माण गरी सशस्त्र आक्रमण र प्रत्याक्रमणको कार्यनीति दश वर्षसम्म सञ्चालन ग¥यो । सशस्त्र क्रान्तिले नेपाली राज्यसत्ताको जग त हल्लियो तर राष्ट्रि तथा अन्तरराष्ट्रिय शक्ति सन्तुलनका कारण बल प्रयोगबाटै नेपालको केन्द्रीय राज्यसत्ता कब्जा गर्न सकिने स्थिति बनेन । त्यसैले बहुदलीय संसदीय व्यवस्थालाई आत्मसाथ गरिरहेका शक्तिहरु र सशस्त्र विद्रोह गरिरहेको शक्ति बीच नेपाली राज्यसत्ताको पुनः संरचना गर्ने सहमतिमा गाउँमा सशस्त्र र शहरमा शान्तिपूर्ण जनक्रान्ति सृजना गरी नेपाललाई गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरण गर्ने सहमति भयो । सोही अनुसार माओवादी नेतृत्वको ग्रामिण ईलाकामा चलायमान युद्ध शहरी मोर्चामा शान्तिपूर्ण क्रान्तिमा आइपुग्यो । यसबाट नेपालमा नयाँ राजनीतिक प्रणाली मात्र होइन , नेपाली राज्य सत्ता कै पुनः संरचना भयो र अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ ।
नेपालका कम्युनिष्ट पार्टीहरु खास गरी दुई प्रमुख विचारधाराको प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैले अख्तियार गरेका तत्कालिन कार्यनीति जे सुकै गरेर भएको होस् , नेपालमा जनवादी क्रान्ति (मुलतः पूँजीवादी जनवादी) पुरा भएको छ र त्यो दुबै पार्टीले स्वीकार गरिसकेका पनि छन् । हिजो शान्तिपूर्ण बाटोबाट पनि जनवादी क्रान्ति पुरा गर्न सकिन्छ भन्ने मदन भण्डारीको ‘जबज’ को कार्यदिशा र सशस्त्र क्रान्ति (बलप्रयोग) को बाटोबाट मात्र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ भन्ने माओवादको कार्यदिशा मूलतः नेपालमा जनवादी क्रान्ति पुरा भएपछि ती दुबै कार्यदिशाको सान्दर्भियता पनि सकिएको
छ । आज मूलतः जनवादी क्रान्ति पुरा भएको र नेपाली राज्यको अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र बदलिएको अवस्थामा नेपाली क्रान्ति अब जनवादी होइन समाजवादी क्रान्तिको मार्गतर्फ उन्मुख हुनेछ ।
नेपालको संविधानमै समाजवाद उन्मुख अर्थनीति र सामाजिक व्यवस्थाको स्थापना गर्ने विषय आइसकेपछि यो देखाउनलाई मात्रै हो कि साँच्चिकै व्यवहारमा लागु गर्नलाई पनि हो भन्ने विषय गम्भीर रुपमा उठ्छ र उठाउनु पर्छ । त्यसो हो भने नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने कम्युनिष्ट पार्टीहरुका कार्यनीति पनि अब नयाँ हुनु आवश्यक छ । समाजवादी क्रान्ति सम्पन्न गर्ने कार्यनीति कस्तो हुनु पर्दछ र त्यसले आजको नेपाली समाजका के के विशेषताहरुलाई आत्मसाथ गरेको हुनु पर्छ भन्ने विषयमा बहसको आवश्यकता छ । दुई फरक कार्यनीति र विचारधारा बोकेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अब एउटै पार्टी हुने सहमत भइसकेपछि दुबै पार्टीका नेता कार्यकर्ताहरुले अब हिजोको ‘जबज’ र हिजोको ‘माओवाद’ को होइन नयाँ कार्यनीतिको बहसमा लाग्नु आवश्यक छ । जसबाट नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्न दुबै पार्टीका नेता कार्यकर्ताहरुलाई पनि एकता पश्चात नयाँ ठाउँमा पुगेको आत्मवोध होस् र एकतालाई मजबुत बनाउन सहयोग गरोस् । अब साच्चिकै नेपाली राज्यको चरित्रलाई समाजवादी चरित्रको बनाउने हो भने नेपालका कम्युनिष्ट पार्टीहरुले अब अपनाउने कार्यनीति कस्तो बनाउनु
पर्दछ ? त्यसको बारेमा नयाँ बहस आवश्यक छ । हामीले जे पढ्यौं, जे देख्यौं र जे भोग्यौं, ती अभ्यासहरु अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको नेपाली समाजको चरित्रलाई बदल्ने अर्थात नेपालमा
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यनीतिकै बाटाहरु
थिए । अब नेपाली समाज र राज्यको चरित्र फेरियो । जनवादी क्रान्ति मूलतः सम्पन्न भइसक्यो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रुपान्तरण भइसक्यो । यस्तो अवस्थामा नेपालमा अब हुने समाजवादी क्रान्तिका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न राज्य प्रणालीमा के के गर्न आवश्यक छ ? समाजवाद उन्मुख व्यवस्थाको अर्थव्यवस्था कस्तो हुनु
पर्दछ ? समाजवादी क्रान्तिको तयारीको लागि पार्टीको संगठनको ढाँचा कस्तो हुनु पर्दछ ? र यी सबैलाई निर्देशित गर्ने क्रान्तिको तयारीको लागि पार्टीको राजनीतिक कार्यदिशा कस्तो अख्तियार गर्नु पर्छ भन्ने बारेमा विचार र बहस नगरी वर्तमान अवस्था मै रमाउन खोजियो भने समाजवादी क्रान्ति संभव छैन । त्यसैले अब एमाले र माओवादी
केन्द्र बीच पार्टी एकता सँगै समाजवादी क्रान्तिको नयाँ कार्यनीति ठोस गर्न आवश्यक छ । समाजवादी क्रान्तिको कार्यनीति कस्तो हुनु पर्छ भन्दै गर्दा नेपालको वर्तमान परनिर्भर अर्थव्यवस्थामा समाजवादी क्रान्तिको कार्यनीति एउटा जटिल विषय पनि रहेको कुरालाई नेताहरुले हेक्का राख्नु जरुरी छ ।
जय होस्
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्