कर्णालीमा आजदेखि प्रदेशस्तरीय फुटबल हुँदै



सुर्खेत ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता–२०८३ सुरु हुँदैछ । यो प्रतियोगिता असार २२ गतेसम्म सुर्खेतस्थित वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

परिषद्का सदस्यसचिव रवीन्द्र चन्दका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य प्रदेशका प्रतिभावान खेलाडीको पहिचान, फुटबल खेलको विकास तथा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जोड दिइनु रहेको छ । प्रदेशस्तरमा आयोजना हुने यस प्रतियोगिताले खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउनुका साथै राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारीमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघको प्रचलित नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रत्येक टोलीमा १८ देखि २० जना खेलाडी र पाँच जना अफिसियलसहित अधिकतम २५ जनाको टोली दर्ता गरिएको छ ।प्रतियोगितालाई निष्पक्ष र मर्यादित बनाउन रेफ्री तथा प्राविधिक समितिको निर्णयलाई अन्तिम मान्यता दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार रूपैयाँँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ, भने उपविजेता टोलीलाई एक लाख रूपैयाँँ नगद, ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फेयर प्ले टिमलाई १० हजार रूपैयाँँ, उत्कृष्ट खेलाडीलाई १० हजार रूपैयाँँ, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच–पाँच हजार रूपैयाँँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई एक हजार पाँच सय रूपैयाँँ पुरस्कार प्रदान गरिनेछ ।

कर्णालीका १० वटै जिल्लाका सहभागी प्रत्येक जिल्लाको टोलीलाई तयारी तथा सहभागिताका लागि ८० हजार रूपैयाँँ उपलब्ध गराइनेछ । साथै प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको एक लाख रूपैयाँँ बराबरको दुर्घटना बीमा पनि गरिएको परिषद्ले जनाएको छ । सदस्यसचिव चन्दले प्रतियोगिताले कर्णालीमा फुटबलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र आगामी दशौँ राष्ट्रिय खेलकुदका लागि प्रतिस्पर्धी टोली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार