लागूऔषधविरुद्ध प्रभातफेरी र अन्तक्र्रिया



नेपालगन्ज ।

बाँकेमा सञ्चालित लागूऔषध विरुद्धको सचेतनामूलक सप्ताहव्यापी कार्यक्रम समापन भएको छ । समापनका अवसरमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतनामूलक प्रभातफेरी तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके तथा नेपालगन्ज उपमहानगरपालिकाको आयोजना एवम् लागूऔषधविरुद्ध क्रियाशील विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा शुक्रबार बिहान जयसपुरदेखि जमुनाहा नाकासम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्टले लागूऔषधको समस्या अहिले घरघरको दशा बनेको बताए ।लागूऔषधको नियन्त्रणका लागि युवालाई सकारात्मक सोच, सीप र रोजगारीसँग जोड्न सके लागूऔषधको जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।
यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसारको चुनौती उच्च रहेको बताए । उनले सम्बन्धित सबै निकायबीच समन्वय र सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।

लागूऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले समाज लागूऔषधको दलदलमा फस्दै गएको उल्लेख गर्दै यो दुष्चक्रबाट निस्किन साझा संकल्प आवश्यक रहेको बताएका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार