सिधनियाघाटमा एघार सय चालिस मिटर पुल निर्माण गर्न दबाब



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदी सिधनियाँ घाटमा निर्माणाधीन पुलको लम्बाई छोटो भएकोले पूरा लम्बाईको पुल बनाउनुपर्ने माग स्थानीयहरूले गरेका छन्। नदीको वारपार पुलका लागि एक हजार एक सय ४० मिटरको पुल चाहिने भएपनि अहिले हुलाकी राजमार्ग आयोजना अन्तर्गत ७ सय मिटर लम्बाईको पुल मात्रै निर्माण भइरहेको छ ।

उक्त पुलले नदीको वारपार नहुने र वर्षायाममा बाढीले पुनः आवतजावतलाई ठप्प पार्ने जोखिम रहेको भन्दै बाँकेको डुडुवा गाउँपालिका र राप्ती सोनारीका स्थानीयवासीहरूले पूर्ण लम्बाईको पुल बनाउनुपर्ने माग गर्न थालेका हुन् । शुक्रबार पुल निर्माणधीन क्षेत्रमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूले पुलको लम्बाई एक हजार एक सय ४० मिटर नै बनाउन माग गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश पूर्वमन्त्री कृष्णा केसी नमुनाले आफूहरूकै पहलमा नदीको बहाव क्षेत्र वारपार हुनेगरी एक हजार एक सय ४० मिटरको पुलको टिप्पणी उठाइएपनि निर्माण गर्दा सात सय मिटर मात्रै भइरहेको भन्दै आपत्ति जनाइन् । उनले अहिलेको लम्बाईले वर्षामा राप्ती नदी उर्लिएर आउँदा यात्रा गर्नै नसक्ने स्थित आउने बताइन् ।

हुलाकी राजमार्गमा पर्ने उक्त पुल पछिल्लो समय नेपालगन्जबाट सिधँै राप्ती सोनारीको अगैया निस्केर पूर्वपश्चिम राजमार्गसम्म पुग्ने वैकल्पिक सडकको रूपमा प्रयोग आउने क्रम बढेको तर पुलको लम्बाई अधुरै हुनु गलत भएको उनको भनाइ छ । हाल निर्माणाधिन पुलपछि नदीको बहाव क्षेत्रमै पहुँच माग बनाएर वारपार गराउने योजना रहेको छ । तर, उक्त पहुँचमार्ग वर्षामा बाढी आएको बेला नजोगिने र थप विपत्ति पनि निम्त्याउन सक्ने स्थानीयवासीहरूको चिन्ता रहेको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंकबहादुर साउदले पनि अहिलेको लम्बाईको पुलले समस्या समाधान नहुने र नदीमै सडक बनाउँदा बाढीको कारणले फेरि विपत्ति निम्त्याउन सक्ने बताए । अहिले एक अर्ब १९ करोड लागता सात सय मिटर लम्बाइको पुल, एक हजार चार सय ८० मिटर पहुँच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने गरी निर्माणाधीन अवस्थामा रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार