कोहलपुर नगरपालिकाले ल्यायो १ अर्ब ७ करोड बजेट



काेहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब सात करोड ५१ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको बुधबार सुरु भएको २० औँ नगरसभा अधिवेशनमा नगरप्रमुख पूर्ण आचार्यले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नगरप्रमुख आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोहलपुरलाई हरित सहरसँगै वातावरणमैत्री सहरका रूपमा स्थापित गर्दै भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई विशेष प्राथमिकता दिइएको छ।

यसै गरी नगरसभामा नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले आगामी आर्थिक वर्षका लागि एक अर्ब सात करोड ५१ लाख रुपियाँको अनुमानित आयव्यय (बजेट) प्रस्तुत गरीन । उपप्रमुख सुवेदीले प्रस्तुत गरेको बजेटमा आन्तरिक कर, गैरकर राजस्व र अल्यासमेत गरी २१ करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ। यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १९ करोड १४ लाख, ससर्त अनुदान ३१ करोड छ लाख, समपूरक अनुदान ६५ लाख र राजस्व बाँडफाँटबाट प्राप्त हुने आय १६ करोड ९१ लाख ५९ हजार रुपियाँ रहने अनुमान छ।

प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ३२ लाख २२ हजार, राजस्व बाँडफाँटबाट एक करोड १५ लाख, ससर्त अनुदान एक करोड ८४ लाख, समपूरक अनुदान एक करोड २० लाख र विशेष अनुदान २० लाख रुपियाँ प्राप्त हुने लक्ष्य राखिएको छ।

स्थानीय राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित १३ करोड तीन लाख १९ हजार रुपियाँसमेतका आधारमा आगामी आर्थिक वर्षको कुल बजेट एक अर्ब सात करोड ५१ लाख रुपियाँ प्रस्ताव गरिएको उपप्रमुख सुवेदीले जानकारी दिईन । कुल विनियोजित बजेटमध्ये चालुतर्फ करिब ६१ प्रतिशत र पुँजीगततर्फ करिब ३९ प्रतिशत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार