दाङ, २४ पुस/ लामो समयदेखि अवरुद्ध रहेको दाङको टरिगाउँ विमानस्थलमा आइतबारदेखि हावाई सेवा सुरु भएको छ ।
आइतबार दिउँसो समिट एयरको जहाजले उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा, क्षेत्र नम्बर ३ प्रतिनिधिसभा कै सदस्य हिराचन्द्र केसी, सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे सहित टरिगाउँमा जहाज अवतरण गरेपछि औपचारिक रुपमा शुरु भएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
लामो समयदेखि बन्द रहेको दाङको हावाई सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रका सबैमा खुसियाली आएको प्रमुख पाण्डेको भनाई छ । विसं २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल ४ पटकसम्म सञ्चालन हुँदै बन्द भएको थियो ।
अहिले तुलसीपुर उपमहानगरपालिकाको सक्रियतामा सुरु भएको विमानस्थल २०७३ साल चैत २ गतेदेखि बन्द भएको थियो । बाजागाजा सहित नाचगान गरेर विमान र विमानमा सवारी व्यक्तिहरुलाई स्वागत गरिएको थियो ।
रोकिएको विमान सेवा पुनः सुरु हुँदा प्रमुख जिल्ला अधिकारी गहेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख दुर्गा सिंहलगायत स्वागतका लागि पुगेका थिए । तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महरालगायत चुनाव जितेका जनप्रतिनिधिहरुले स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा चुनावका बेला अवरुद्ध विमानस्थल पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । आफ्नो प्रतिवद्धताअनुसार जनप्रतिनिधिहरुले दाङमा हावाई सेवा सञ्चालनमा ल्याएकोमा स्थानीयहरु खुसी व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्