कपिलवस्तु।
केही वर्षअघि सार्वजनिक कार्यक्रममा आफ्नो परिचय दिन पनि हिच्किचाउने पुनम लोनिया आज निर्धक्क भएर आफ्ना विचार राख्छिन् । गाउँका समस्या, विकास र सामाजिक मुद्दामा खुलेर बोल्ने उनको आत्मविश्वासको स्रोत बनेको छ तुलसी आत्मनिर्भर महिला समूह । मायादेवी गाउँपालिका–३ पड्सरामा २०७८ सालमा गठन भएको उक्त समूहले महिलाको आर्थिक अवस्था मात्र होइन, सामाजिक र व्यक्तिगत जीवनमा समेत उल्लेखनीय परिवर्तन ल्याएको छ ।
दलित सामाजिक विकास केन्द्रमार्फत सञ्चालित सीवाईसीस परियोजनाको सहयोगमा गठन भएको समूहलाई सुरुवाती चरणमा ६० हजार रूपैयाँँ सहयोग उपलब्ध गराइएको थियो । त्यही सहयोग र सदस्यहरूको निरन्तर प्रयासले आज समूहलाई आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ । समूहकी सदस्य पुनम लोनिया भन्छिन्, ‘पहिला आफ्नो परिचय दिन पनि डर लाग्थ्यो । मानिसहरूको अगाडि बोल्न सक्दिनथेँ । समूहमा बसेपछि आत्मविश्वास बढ्यो । अहिले जहाँ गए पनि सहज रूपमा आफ्नो कुरा राख्न सक्छु ।’
समूहमा आबद्ध महिलाहरूले सुरुदेखि नै मासिक ५० रूपैयाँँका दरले बचत गर्दै आएका छन् । सानो रकमबाट सुरु भएको बचत अहिले बढ्दै गएको छ । समूहको बचत कोषमा रहेको रकम आवश्यक पर्दा सदस्यहरूलाई विभिन्न कामका लागि ऋणस्वरूप उपलब्ध गराउने गरिएको छ । यसले महिलाहरूलाई साहु–महाजनको चर्को ब्याजबाट जोगाउनुका साथै साना व्यवसाय सञ्चालन गर्न सहज बनाएको छ ।
समूहको सहयोगबाट आत्मनिर्भर बनेकाहरूमा पुष्पावती रैदास पनि एक हुन् । उनले समूहबाट पाएको प्रेरणा र आर्थिक सहयोगलाई आधार बनाएर भैँसीपालन व्यवसाय सुरु गरिन् । अहिले दूध बिक्रीबाट नियमित आम्दानी गर्दै आएकी छन् । ‘पहिला परिवारको खर्च धान्न कठिन थियो,’ पुष्पावती रैदास भन्छिन्, ‘समूहबाट हौसला र सहयोग पाएपछि भैँसीपालन सुरु गरेँ । अहिले आफ्नै आम्दानी छ । घरखर्च चलाउन र बालबालिकाको पढाइ खर्च जुटाउन सहज भएको छ ।’
तुलसी आत्मनिर्भर महिला समूह आर्थिक सशक्तीकरणमा मात्र सीमित छैन । समूहले गाउँमा सरसफाइ अभियान सञ्चालन गर्ने, विद्यालय उमेरका तर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन पहल गर्ने, खानेपानीका लागि धारा जडानमा सहजीकरण गर्ने तथा बालविवाहविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
समूहकी अध्यक्ष औतारी लोनियाले समूहले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनका अनुसार महिलाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र आर्थिक आत्मनिर्भरता बढ्दै गएको छ । ‘हामीले बचतसँगै सामाजिक कामलाई पनि प्राथमिकता दिएका छौँ,’ अध्यक्ष लोनियाले भनिन्, ‘आउने दिनमा पनि समाजका विभिन्न समस्या समाधान र समुदायको विकासका लागि अझ सक्रिय रूपमा काम गर्दै जाने योजना छ ।’
एक समय घरधन्दामा सीमित महिलाहरू आज गाउँको विकास र सामाजिक रूपान्तरणका अभियानमा अग्रपंक्तिमा उभिएका छन् । पुनम लोनियाको बढेको आत्मविश्वास, पुष्पावती रैदासको आर्थिक आत्मनिर्भरता र समूहको सामाजिक सक्रियताले देखाएको छ कि सानो बचत, सामूहिक प्रयास र दृढ इच्छाशक्तिले ठूलो परिवर्तन सम्भव हुन्छ । मायादेवी–३ को तुलसी आत्मनिर्भर महिला समूह अहिले महिला सशक्तीकरण, आत्मनिर्भरता र सामुदायिक विकासको प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ ।









प्रतिक्रिया दिनुहोस्