
सङ्घीय संसद् भवन सिंहदरबारमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित सांसदहरू । तस्बिर : किरणराज विष्ट/रासस
काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवादका कारण प्रतिनिधिसभा बैठक पुनः प्रभावित भएको छ । विपक्षी दलहरूले आफ्नो विरोध कायम राखेपछि मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी आगामी २५ जेठसम्मका लागि स्थगित गरिएको छ । निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको बैठकमा विपक्षी सांसदहरूले सुरुदेखि नै उठेर विरोध जनाएका थिए ।
संसद्को अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख डोलप्रसाद अर्यालले केही विपक्षी सांसदलाई धारणा राख्न समय दिए पनि सहमतिको वातावरण बन्न सकेन । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले हालै सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिबारे स्पष्ट तथ्य प्रस्तुत गर्नुपर्ने माग दोहो¥याएका छन् ।
उनीहरूको भनाइमा प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न सक्नुपर्छ, अन्यथा संसद् र जनतासमक्ष स्पष्टीकरणसहित माफी माग्नुपर्छ । बैठकमा विपक्षी सांसदहरूले उक्त विषयमा सरकारको औपचारिक धारणा माग्दै नाराबाजी जारी राखेपछि सभामुखले कार्यसूची अघि बढाउने प्रयास गरेका थिए । तर लगातारको अवरोधका कारण संसद्को नियमित कारबाही सञ्चालन हुन नसकेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो ।
बजेट अधिवेशनमै बढ्यो राजनीतिक तनाव
सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेको अवस्थामा संसद्मा देखिएको अवरोधले विधेयक तथा अन्य संसदीय कार्य प्रभावित हुने संकेत देखिएको छ । बजेटमाथिको छलफल सुरु हुनुअघि नै प्रमुख राजनीतिक दलहरूबीच विवाद चर्किँदा संसदीय प्रक्रिया प्रभावित भएको हो ।
सोही बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, विभिन्न संसदीय प्रक्रियालाई अघि बढाउने तथा अन्य नियमित कार्यसूची रहेका थिए । तर राजनीतिक विवादका कारण ती सबै कार्यसूची प्रभावित भएका छन् ।
सीमासम्बन्धी अभिव्यक्तिबाट सुरु भयो विवाद
प्रधानमन्त्रीको हालैको सार्वजनिक अभिव्यक्तिमा नेपालको सीमा र भूभागसम्बन्धी विषय उठेपछि विपक्षी दलहरूले त्यसलाई गम्भीर विषयका रूपमा लिएका छन् । राष्ट्रिय सार्वभौमिकता र सीमा जस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणबिना अभिव्यक्ति दिन नहुने भन्दै उनीहरूले संसद्मार्फत जवाफदेहिता खोजिरहेका छन् । यसअघि पनि संसद्मा यही विषयलाई लिएर पटक–पटक अवरोध हुँदै आएको थियो । सत्ता पक्ष र विपक्षबीच सहमति नजुट्दा विवाद समाधानको कुनै स्पष्ट संकेत देखिएको छैन ।
सहमति खोज्ने प्रयास जारी
संसद् अवरोध हटाउन सभामुख तथा प्रमुख दलका नेताहरूबीच अनौपचारिक छलफल जारी रहेको बताइएको छ । आगामी बैठकअघि सत्ता पक्ष र विपक्षबीच सहमति जुटाउने प्रयास भए पनि अहिलेको अवस्था हेर्दा राजनीतिक गतिरोध तत्काल अन्त्य हुने निश्चित देखिएको छैन ।
यससँगै बजेट अधिवेशनको महत्वपूर्ण चरणमा संसद् पुनः राजनीतिक विवादको केन्द्र बनेको छ भने आगामी २५ जेठको बैठकले यो गतिरोध तोड्न सक्छ कि सक्दैन भन्ने चासो बढेको छ ।









प्रतिक्रिया दिनुहोस्