
oplus_0
लम्की (कैलाली) ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गरेका छन् । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले सुरक्षा घेराभित्र प्रादेशिक अस्पताल उद्घाटन गरेका हुन् । नगरप्रमुख शाही र सुदूरपश्चिम प्रदेश सरकारबीच अस्पताल सञ्चालनका विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।
ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गर्दै अस्पताल उद्घाटन गरिएको हो । सो क्रममा नगर प्रहरीलाई भने उद्घाटन कार्यक्रममा जान रोक लगाइएको थियो । उद्घाटन समारोहमा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरी, नगर उपप्रमुख जुना चौधरीलगायत सहभागी थिए ।
४ पुस २०८१ मा कैलालीको लम्कीचुहा नगरपालिकाले प्रदेश सरकारलाई पत्र पठाउँदै प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिदिन अनुरोध ग¥यो । १८ पुसमा लम्कीचुहा अस्पताल विकास समितिले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई प्रादेशिक अस्पतालमा स्तरोन्नतिका लागि विवरण पनि पठायो । कर्मचारीहरू पनि प्रदेशमा समायोजन हुन इच्छुक रहेको भन्दै सहमतिपत्र पनि मन्त्रालयलाई पठाइएको छ ।
सोही वर्षको २१ फागुनमा प्रदेश सरकारले संघीय सरकारलाई लम्कीचुहा अस्पताललाई प्रदेशमातहत सञ्चालनका लागि अनुमति माग्यो । २६ जेठ २०८२ मा संघीय सरकारको मन्त्रीपरिषद् बैठकले १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा प्रदेशमातहत सञ्चालन गर्ने निर्णय ग¥यो । संघले प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरेको सात महिनापछि प्रदेशको सामाजिक विकास मन्त्रालयले २० पुस २०८२ मा सम्झौताका लागि उपस्थित भइदिन आग्रह गर्दै लम्कीचुहाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठायो ।
उक्त पत्रमा २३ गतेभित्रै सम्झौताका लागि उपस्थित हुन अनुरोध गरिएको थियो । तर, लम्कीचुहा नगरपालिकाले सम्झौताका लागि प्रतिनिधि नपठाएपछि सामाजिक विकास मन्त्रालयले ७ माघमा दोस्रोपटक सम्झौताका लागि नगरपालिकालाई पत्र पठायो । तर, दोस्रो पत्रमा पनि लम्कीचुहा नगरपालिका भने सम्झौता गर्न तयार भएन । नगरपालिकाले प्रदेश सरकार र नगरपालिकाबीच आर्थिक, कानुनी र प्रशासनिक विषयमा छलफल भएपछि मात्रै सम्झौताका लागि स्वीकृति प्रदान गर्ने भन्दै सामाजिक विकास मन्त्रालयलाई पत्र पठायो ।
माघ १३ गते सामाजिक विकास मन्त्रालयले छलफल र सम्झौताका लागि भन्दै २० गतेभित्र उपस्थित हुन फेरि नगरपालिकालाई पत्र लेख्यो । तर, प्रादेशिक अस्पताल सञ्चालनका लागि सम्झौता हुन सकेन । पटकपटक प्रदेश सरकारले बोलाउँदा पनि सम्झौताका लागि लम्कीचुहा नगरपालिका उपस्थित नभएपछि १ चैतमा प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल भइसकेको भन्दै विकास समिति गठन गरिदियो ।
सोही दिनदेखि लम्की नगरप्रमुख शाही प्रदेश सरकारको खुलेरै विरोध गरिरहेकी छन् । प्रादेशिक अस्पतालका लागि सम्झौता नै नभई समिति गठन गरेर प्रदेश सरकारले मुठभेडतर्फ धकेल्न खोजिरहेको नगरप्रमुख शाही बताउँदै आएकी थिइन् ।
‘अब विवाद होइन, सेवा चाहिन्छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब विवादभन्दा माथि उठेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । केही दिनदेखि अस्पतालको विषयलाई लिएर देखिएको तनावका बीच मुख्यमन्त्री शाहले संयमित र सकारात्मक सन्देश दिँदै अस्पताल सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।
‘पहिलोपटक मलाई मुख्यमन्त्री भएजस्तो महसुस भयो,’ उनले भने, ‘तर यसलाई अन्यथा बुझ्न आवश्यक छैन, सबैभन्दा माथि आम नागरिक नै हुन् ।’ मुख्यमन्त्री शाहले अब अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु नै सबैको साझा दायित्व भएको बताए । ‘हिजो के भयो भन्नेभन्दा अब अस्पताल कसरी राम्रोसँग चलाउने भन्ने विषय महत्वपूर्ण हो,’ उनले भने, ‘प्रशासनिक निकायलाई बिनाअवरोध काम गर्न दिऔँ, यो समाधान हुने विषय हो ।’









प्रतिक्रिया दिनुहोस्