भोजपुर ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् ।
किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताए । गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उनले जानकारी दिए । उत्पादन लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
“हामीले व्यावसायिक अदुवा खेतीमा जोड दिएका छौँ,” वडाध्यक्ष राईले भने, “खेती गर्न इच्कुछ किसानलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गरेको छ । किसानलाई अनुदानमा अदुवाको बीउ वितरण गरेका छौँ ।”आवश्यक अनुदान सहयोगसँगै कृषि ज्ञान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध भएसँगै अदुवाखेतीमा लाग्न सहजता भएको स्थानीय किसान मनोज राईले बताए ।
अदुवाखेती परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने स्थानीय किसान कमल राईले बताए। अदुवालाई अन्यबालीको तुलनामा बाँदरले पनि कम क्षति पु-याउने भएकाले किसानले खेती विस्तारमा जुटेको उनको भनाइ छ ।किसानले व्यक्तिगत तथा सामूहिक रूपमा अदुवाखेती विस्तार गर्दै आएका आएको स्थानीय किसान देवकुमार राईले बताए ।
आफूले अहिले करिब तीन रोपनी क्षेत्रमा अदुवा विस्तार गरेको उनले जानकारी दिए।स्थानीय तहले अदुवाखेतीको विस्तारसँगै प्रशोधन, भण्डारण र बजारीकरणमा समेत जोड दिने योजना बनाएको छ । यसले खोक्सिक क्षेत्रलाई अदुवा उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने वडाले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्