ग्रीनल्याण्ड एकेडेमीको सफलताः दुई विद्यार्थीले ल्याए ४ जीपीए, लगातार शतप्रतिशत नतिजा



नन्दराम जैशी । सुर्खेत ।

वीरेन्द्रनगर–३ तातापानी सुर्खेतस्थित ग्रीनल्याण्ड एकेडेमीले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम गर्दै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा फेरि ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयले आफ्नो १३औँ वसन्त पार गरिरहँदा यस वर्षको एसइई नतिजाले कर्णाली प्रदेशमै थप चर्चा बटुलेको हो ।

२०८० सालमा पहिलोपटक एसइईमा सहभागी भएको विद्यालयले पहिलो प्रयासमै कर्णालीकै उत्कृष्ट नतिजा ल्याएर सबैको ध्यान खिचेको थियो। उक्त वर्ष छात्रा स्मारिका शाहीले ३.९५ जीपीए प्राप्त गर्दै छात्रातर्फ कर्णाली प्रदेश प्रथम बन्न सफल भएकी थिइन् । विद्यालयबाट एसइई दिएका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसको निरन्तरतास्वरूप २०८१ सालको एसइईमा पनि विद्यालयले उत्कृष्ट नतिजा कायम राख्यो ।

सहभागी सबै विद्यार्थीले ३ देखि ३.९५ जीपीएसम्म प्राप्त गर्दै शतप्रतिशत उत्तीर्ण हुन सफल भए । यस वर्ष २०८२ को एसइई नतिजामा भने विद्यालयले अझ उल्लेखनीय प्रगति गरेको छ । कूल ३० जना विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुँदै विद्यालयले पुनः ऐतिहासिक फड्को मारेको हो । यस वर्ष छात्र विमल तिमिल्सेना र छात्रा सन्ध्या खड्काले ४ जीपीए प्राप्त गरी विद्यालयलाई नयाँ उचाइमा पु¥याएका छन् । अन्य विद्यार्थीहरूले पनि ३ देखि ३.९५ जीपीएसम्मको उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

शनिबार विद्यालयमा सम्मान तथा पुरस्कार वितरण एवम् अभिभावक उत्प्रेरणा कार्यक्रमको आयोजना गर्दै छात्र विमल र छात्रा सन्ध्यालाई नगद रकमसहित सम्मान गरिएको छ । विद्यालय व्यवस्थापनका अनुसार हरेक वर्षको नतिजालाई आधार बनाएर थप सुधार र गुणस्तरीय शिक्षामा जोड दिइँदै आएको छ । विद्यालयका प्रबन्धक प्रकाश शाहीले विद्यालयको सफलता अन्य विद्यालयसँगको प्रतिस्पर्धाभन्दा आफ्नै मेहनत, अनुशासन र विगतको नतिजालाई अझ राम्रो बनाउने संकल्पको परिणाम भएको बताए ।

‘हामी अरूसँगभन्दा पनि आफ्नै नतिजासँग प्रतिस्पर्धा गरिरहेका छौँ । विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक मेहनतले विद्यालयलाई यो सफलता दिलाएको हो,’ उनले भने, ‘निरन्तर उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणका कारण ग्रीनल्याण्ड एकेडेमी कर्णाली प्रदेशकै भरोसायोग्य शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।’ आगामी दिनमा पनि प्रदेशकै उत्कृष्ट नतिजा ल्याउने गरी शिक्षण क्रियाकलाप जारी रहेको उनले बताए ।

सीमित श्रोत साधन, सानो समुदाय र थोरै विद्यार्थीहरुबाट गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापित भएको ग्रीनल्याण्ड प्रदेशकै एक प्रतिष्ठित र गुणस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाको रुपमा स्थापित हुन थालेको हो । विद्यालयले शिक्षा संस्कार, प्रकृति र प्रविधिलाई जीवन रुपान्तरणका मुख्य मानकका रुपमा स्थापित गरेको छ । हाल यस विद्यालयमा पीजि कक्षादेखि कक्षा १० सम्म सञ्चालित छ ।

स्थापना हुँदा जम्मा ३३ जना विद्यार्थीबाट अध्यापन सुरु भएको थियो । तर विद्यालय स्थापनाको १३ वर्षमा झण्डै १३ सय विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् । आगामी वर्षमा व्यावसायिक शिक्षासहितको प्लस–टु कक्षा सञ्चालन गर्ने तयारी छ । हाल विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला, पुस्तकालय, स्मार्ट कक्ष, खेलमैदान, क्यान्टिन र बस सुविधा रहेको छ भने विद्यार्थीको नेतृत्व विकासमा जोड दिने गरिएको छ ।

शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गर्नुका साथै अनुभवी शिक्षक, विद्यार्थीमैत्री सिकाइ, डिजिटल टुल्स र प्रयोगात्मक कक्षा अभ्यासले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको छ । यसले भविष्यमा विद्यार्थी र अभिभावकहरूको विश्वास अझै बढ्ने सम्भावना छ । ‘ग्रामीण र अर्धसहरी क्षेत्रका विद्यार्थीहरूलाई निजीस्तरमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनु नै स्कुलको ठूलो योगदान हो,’ प्रबन्धक शाहीले भने, ‘कमजोर भनिएको क्षेत्र कर्णालीबाट पनि राष्ट्रियस्तरको प्रतिस्पर्धा सम्भव छ भन्ने ग्रीनल्याण्ड स्कुलले आत्मविश्वास जगाएको छ ।’

शिक्षक प्रविणकुमार शाहीका अनुसार विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरु वादविवाद, विज्ञान प्रदर्शनी, खेलकुद, नृत्य, संगीत आदि कार्यक्रममार्फत विद्यार्थीमा बहुआयामिक विकास भइरहेको छ । विद्यालयले विद्यार्थीलाई नेतृत्व, अनुशासन र जिम्मेवारी सिकाउने वातावरण पनि विकास गरेको छ । भविष्यमा ग्रिनल्याण्डले ई–लर्निङ, अनलाइन टेस्टिङ, तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै डिजिटल युगअनुकूल शिक्षा दिने योजना बनाएको छ भने विद्यालयले समुदायसँग समन्वय गरेर शिक्षा र सामाजिक जिम्मेवारी जोड्ने कार्य जारी राखेको छ ।

दुई पुरस्कार घोषणा गर्ने कर्णालीकै पहिलो

ग्रीनल्याण्ड एकेडेमीले विद्यालय तहबाटै शिक्षा, कला र पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यसहित स्थापना गरिएको ‘ग्रीनल्याण्ड शिक्षा पत्रकारिता पुरस्कार’ र ‘मोतिपुरा स्मृति प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । विद्यालयले कर्णाली प्रदेशमै पहिलोपटक विद्यालय क्षेत्रबाट यस्ता पुरस्कार स्थापना गरी वितरण गरेको हो ।

यस वर्षको ‘ग्रीनल्याण्ड शिक्षा पत्रकारिता पुरस्कार–२०८२’बाट पत्रकार रमा केसी सम्मानित भएकी छन् भने ‘मोतिपुरा स्मृति प्रतिभा पुरस्कार–२०८२’बाट कलाकार नन्दा बस्याल सम्मानित भएकी छन् । सम्मानित व्यक्तित्वहरूलाई नगद रकम, प्रमाणपत्र, माला तथा दोसल्लासहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार शिक्षा, कला र पत्रकारिताको माध्यमबाट समाज तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्तिहरूलाई हौसला र सम्मान प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो । विद्यालयले आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
शिक्षासँगै सिर्जनशीलता, कला र सञ्चार क्षेत्रलाई पनि समाज परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा विद्यालयले आत्मसात् गरेको छ ।

समाजमा सकारात्मक प्रभाव पार्ने व्यक्तित्वहरूलाई सम्मान गर्नु विद्यालयको सामाजिक उत्तरदायित्व भएको उल्लेख छ । विद्यालय पाठ्यपुस्तकको ज्ञान दिने संस्था मात्र नभई समाजमा प्रेरणा र सकारात्मक सन्देश फैलाउने थलो पनि रहेको भन्दै शिक्षा पत्रकारिता र प्रतिभा पुरस्कार स्थापना गरिएको हो ।

अभिभावकलाई उत्प्रेरणा

ग्रीनल्याण्ड एकेडेमीले शनिबार अभिभावक उत्प्रेरणा कार्यक्रम आयोजना गर्दै अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गरेको छ । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन र विद्यार्थीमैत्री वातावरणको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विद्यालयले समयानुकूल गुणस्तरीय शिक्षामा दिएको जोड प्रशंसनीय रहेको बताए । आधुनिक प्रविधिको प्रयोगमार्फत सैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई प्रभावकारी बनाउने कार्यमा विद्यालयले उदाहरणीय भूमिका खेलेको उनले उल्लेख गरे ।

कार्यक्रममा रंगकर्मी प्रेमदेव गिरीले कला र संस्कृतिको संरक्षणमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे । विद्यार्थीको प्रतिभा पहिचान र सिर्जनात्मक विकासमा विद्यालयले निरन्तर काम गरिरहेको उनले बताए । विद्यालयका प्रधानाध्यापक ज्योती पौडेलले विद्यालयले १३औँ वर्ष पार गर्दै गर्दा अनेकौँ संघर्ष पार गरेको स्मरण गराइन् । अहिलेको सफलता मेहनत, अनुशासन र समर्पणको परिणाम भएको उनको भनाइ छ ।

‘विद्यालयसँग संघर्षका कथासँगै सफलता र खुसीका अनुभव पनि जोडिएका छन् । निजी शिक्षा क्षेत्रमा गुणस्तरीय र प्रभावकारी शिक्षाको नयाँ मोडेल स्थापित गर्दैछौँ,’ उनले भनिन्, ‘विद्यालयले शैक्षिक उपलब्धिसँगै सहशैक्षिक तथा अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।’ उनका अनुसार २०८० सालको वीरेन्द्रनगर नगरस्तरीय कक्षा ८ को परीक्षामा विद्यालय उत्कृष्ट बनेको थियो । साथै नगर तथा जिल्लास्तरका वक्तृत्वकला, नृत्य, चित्रकला, खेलकुदलगायत विभिन्न प्रतियोगितामा पनि विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् ।

हाल विद्यालयमा ४० भन्दा बढी शिक्षक कार्यरत रहेका छन् । विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतिभा पहिचान कार्यक्रम, धूम्रपान तथा मद्यपानविरुद्ध सचेतना, कक्षा ५ देखि १० सम्मका छात्राका लागि महिनावारी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै वृक्षारोपण, ज्येष्ठ नागरिकसँग मिलन, स्वास्थ्य परीक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई विद्यालयले नियमितता दिएको छ ।

आर्थिक रूपमा कमजोर बालबालिकाप्रति सहयोगी भावना विकास गर्न बादी सरोकार मञ्चमा आश्रित १२० बालबालिकासँग मित्र मिलन कार्यक्रम सञ्चालन भइरहेको विद्यालयले जनाएको छ । विद्यालयले भौतिक पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । हाल २५ कोठे नयाँ भवन निर्माण भइसकेको छ भने विद्यार्थीहरूको खेलकुद विकासका लागि फुटसल मैदान, खेल, गीत–संगीत तथा नृत्यमा रुचि भएका विद्यार्थीलाई विशेष प्रोत्साहन गर्ने नीति विद्यालयले लिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार