काठमाडौँ ।
सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिबिच छलफल भएको छ। अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन ९एफआईए० तथा एआइपी फाउण्डेसनको सहयोगमा ‘हेड्सअप’ अभियानअन्तर्गत हेल्मेट कानुन तथा मापदण्डसम्बन्धी आयोजित ‘पोलिसी डाइलग’ कार्यक्रममा हेल्मेट प्रयोगसम्बन्धी कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको हो।
कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्र, युवा, बालबालिका तथा सरोकार भएका संस्थाका प्रतिनिधि गरी करिब ६० जनाको सहभागिता थियो । नासा नेपालका परियोजना संयोजक सुवास भट्टराईले नासाको सडक सुरक्षासम्बन्धी गतिविधि तथा हाल सञ्चालन भइरहेको ‘हेड्सअप’ अभियानबारे जानकारी गराए।कार्यक्रममा अर्थोपेडिक सर्जन डा.सतिशप्रसाद वर्नवालले सडक दुर्घटना र हेल्मेटको प्रयोग विषयमा प्रस्तुति दिँदै दुई पाङ्ग्रे सवारीसाधनको दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेल्मेट प्रयोगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे।
नेपाल प्रहरीको राजमार्ग एण्ड ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले विद्यमान कानुनी व्यवस्था तथा सडक सुरक्षामा सरोकार भएका निकायका प्रतिनिधिको भूमिकाबारे प्रस्तुति दिए । सडक सुरक्षा विज्ञ भगवती सेडाईंले नेपालमा विद्यमान हेल्मेट कानुन, राष्ट्रिय हेल्मेट मापदण्ड कार्यान्वयनको आवश्यकता तथा चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
काठमाडौँ विश्वविद्यालयका प्राडा ड्यानियल तुलाधर, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोजकुमार प्रधानलगायत सहभागीले हेल्मेटको गुणस्तर, सडक सुरक्षा नीति तथा प्रभावकारी कार्यान्वयनका विषयमा आ(आफ्ना धारणा राखेका थिए। नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले सरकारले सडक सुरक्षा तथा डबल हेल्मेटको विषयमा पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै प्रभावकारी नीति बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको समापनमा १५ जना बालबालिकालाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, डा। शिवजी यादव, हिसान नेपालका महासचिव रामहरि सिलवाल, कार्यक्रमका वक्तालगायतले ‘चाइल्ड हेल्मेट’ हस्तान्तरण गरेका थिए। नासा नेपालले यस अभियानअन्तर्गत राष्ट्रिय हेल्मेट मापदण्डको कार्यान्वयन, डबल हेल्मेटको प्रयोग र चाइल्ड हेल्मेट प्रवर्द्धनसम्बन्धी जनचेतना तथा बहस अभियान सञ्चालन गरिरहेको छ। रासस









प्रतिक्रिया दिनुहोस्