सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै, बर्खामा आवतजावत गर्न जोखिम



धरान ।

धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता अनुसार साे पुल पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने हो । निर्माणको काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थी बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबिच एक करोड २१ लाख ८६ हजार आठ सय १३ रुपैयाँ लागतमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साउन ७ गतेभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो ।धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुल निर्माणका क्रममा दुवैतर्फ पिलर उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन ।

करिब ४० प्रतिशत काम भएको थियो, अहिले त पिलरसमेत झाडीले ढाकिसके । उनले भने, “अरू संरचनात्मक काम पूर्ण रूपमा अलपत्र छ।”पुल नबन्दा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या हुने गरेको उनले बताए । बर्खायाममा खोलामा बाढी आएपछि स्थानीयवासी र विद्यार्थीले ज्यान जोखिममा राखेर खोला पार गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

बिरामी परे बिरामीलाई अस्पताल पुर्‍याउन समेत कठिन हुन्छ । उनले भने- बाँसको अस्थायी पुल बनाइन्छ, पछि बाढीले बगाइहाल्छ ।विशेषगरी यहाँका किसानले उत्पादन गरेका उपभोग्य वस्तु धरान बजारसम्म पुर्‍याउन समस्या हुने गरेको छ । त्यसैगरी विद्यार्थीलाई पनि आवतजावतमा कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् ।

बर्खाको समयमा परीक्षा परेको अवस्थामा खोलामा बाढी आएपछि खोला तर्न नसक्दा परीक्षा छुट्ने समस्या समेत हुने गरेको वडाध्यक्ष लिम्बूले बताए ।उनका अनुसार पुल निर्माण सम्पन्न भए धरानको मुख्य बजारसँगै धरान–४ र ५ का बासिन्दालाई आवतजावतमा सहज हुने छ । साथै, यस मार्गमार्फत धनकुटाको राजारानी तथा मोरङको याङ्शीला, केराबारी हुँदै धनकुटा र मोरङसम्म पुग्नसमेत सहज हुने उनको भनाइ छ ।स्थानीय जीवन मगरले बर्खायाममा विद्यार्थीले विद्यालय जान ठुलो सास्ती भोग्नुपरेको बताए ।

बाढी आएको बेला बालबालिका खोलाको किनारमा घण्टौँ कुर्न बाध्य हुन्छन् । उहाँले भने, “कहिलेकाहीँ विद्यालय नै जान नपाई घर फर्किनुपर्ने अवस्था हुन्छ ।”धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय रहेकाले कक्षा ६ भन्दा माथिको अध्ययनका लागि विद्यार्थीले खोलापारिको धरान बजार पुग्नुपर्ने अवस्था छ । मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थी दैनिक जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।

स्थानीयका अनुसार पटक–पटक म्याद थप्दा पनि ठेकदार कम्पनीले निर्माण अघि बढाएको छैन । वडाध्यक्ष लिम्बूका अनुसार २०८१ चैत १२ गते ठेकदार पक्षसँग जेठ मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो । त्यसपछि २०८२ फागुनसम्म निर्माण सक्ने जानकारी गराइएको भए पनि हालसम्म काम सुरु भएको छैन ।

पुल निर्माणको विषयमा २०८१ चैतमा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए । सो क्रममा काम नगर्ने ठेकदार कम्पनीको ठेक्का रद्द गरी धरौटी जफत प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो । तर ठेकदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि काम अघि बढ्न नसकेको बताइएको थियो । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार