अतिक्रमित बस्तीबाट विस्थापित दलितले पाएनन् कोठा



नाबालक छोरीसहित जानकीको परिवारलाई उद्धार गरेर साँझ कोहलपुर बसपार्कस्थित होल्डिङ सेन्टरमा लगियो । आइतबार दिउँसो मिसन टुडे होल्डिङ सेन्टरमा पुग्दा उनी उदास भएर बसिरहेकी थिइन् । त्यहाँ बसेका सबै दलित समुदायका नागरिक हुन् । घरबारविहीन हुनुको पीडा त छँदै थियो । जातकै कारणले कोहलपुरमा कोठा समेत नपाएपछि उनको मन बेचैन भएको छ ।

शुभाकर विश्वकर्मा।कोहलपुर (बाँके) ।

जुम्ला तातोपानी–४ हाँकु गाउँकी ३२ वर्षीया जानकी सुनार केही वर्षयता कोहलपुर–११ स्थित शान्तिनगर बस्तीमा बस्दै आएकी थिइन् । वर्षौँदेखि सरकारी जग्गा अतिक्रमण गरेर बनेका संरचनामा कोहलपुर नगरपालिकाले डोजर चलाउने भनेपछि उनी आत्तिइन् । त्यसअघि नगरपालिकाले बस्ती खाली गर्न १० दिने अल्टिमेटम दिएको थियो ।

बस्तीमा डोजर लाग्ने हल्लापछि उनी धेरैपटक कोहलपुर–११ का विभिन्न घरमा भाडामा बस्नको लागि कोठा खोज्न गइन् । तर, उनले कतै पनि कोठा पाइनन् । कुनै विकल्प नभएपछि २६ वैशाखसम्म माटो र खरले छाएको टहरोमै बस्दै आएकी थिइन् । २६ गते दिउँसो त्यही टहरामा डोजर लगाएपछि उनको परिवार विस्थापित भयो ।

नाबालक छोरीसहित जानकीको परिवारलाई उद्धार गरेर साँझ कोहलपुर बसपार्कस्थित होल्डिङ सेन्टरमा लगियो । आइतबार दिउँसो मिसन टुडे होल्डिङ सेन्टरमा पुग्दा उनी उदास भएर बसिरहेकी थिइन् । उनलाई एउटा कोठामा राखिएको छ । जहाँ उनीजस्तै विस्थापित ४ परिवार छन् । त्यहाँ बसेका सबै दलित समुदायका नागरिक हुन् ।

घरबारविहीन हुनुको पीडा त छँदै थियो । जातकै कारणले कोहलपुरमा कोठा समेत नपाएपछि उनको मन बेचैन भएको छ । उनी भन्छिन्, ‘हामी त घरबारविहीन मान्छे । मजदुरी गरेर सानो टहरा बनाएका थियौँ । त्यही पनि नगरपालिकाले भत्काइदियो ।’ कोहलपुर नगरपालिकाले बस्तीमा डोजर लगाउने हल्ला चलेपछि कोठा खोज्न जाँदा समेत जातकै कारण नपाएको उनको दुःखेसो छ ।

‘कोठा खोज्न गा’को । भाडामा कोठा खोज्दा जात सोध्छन् । पहिला बच्चा कति छन् भन्नुभयो । मैले बुढा, म र तीन बच्चा छौँ भनेँ,’ जानकीले सुनाइन् । उनका श्रीमान् हरि कामी भारतमा मजदुरी गर्छन् । उनी भने यतै ज्याला मजदुरी गरेर बच्चाको रेखदेख र पढाउँदै आएकी छन् । उनी अघि भन्छिन्, ‘तपाईँले कोठा पाउनु हुन्न भन्नुभयो । फेरि जात पनि सोध्नुभयो । के जातको हुनुहुन्छ हजुर भनेर ।’

आफूले झुठो नबोलेर कामी हुँ भनेको र त्यसपछि तपाईँलाई कोठा दिन मिल्दैन भनेको उनले सुनाइन् । त्यसपछि जागिर छ कि छैन भनेर सोधेको र श्रीमान्ले भारतमा मजदुरी गर्नुहुन्छ भनेपछि पनि आफूले कोठा नपाएको उनको भनाइ छ । जातकै कारणले कोठा पाइँदैन ? उनी प्रश्न गर्छिन्, ‘हामी दमाई, कामीले के नेपालमा बस्ने आधार हुन्न र के हामी नेपाली नागरिक होइनौँ र ?’ अहिले होल्डिङ सेन्टरमा बस्दा खाने बस्ने टुंगो नभएको उनले बताइन् ।

होल्डिङ सेन्टरमा बस्न पाए पनि बच्चाहरूलाई कतिबेला खुवाउने के गर्ने भन्ने टुंगो नभएको बताइन् । आफूहरू वास्तविक सुकुम्वासी भएको दाबी गर्दै उनले सरकारले उचित बासको लागि व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो । ‘अहिले यहाँ आएकी छु । यो सरकारले जे गर्छ, त्यही मान्ने त होला । आशमा कुरेर बसेकी छु ।’ उनी त प्रतिनिधि पात्र मात्र हुन् ।

कोहलपुर–११ स्थित क्रिकेट मैदान क्षेत्रमा सयौँ भूमिहीन दलित र भूमिहीन सुकुम्वासी बस्दै आएका थिए । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगरविकास समितिको कोहलपुर ३ (ख)अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास)मा अतिक्रमण गरी घरटहरा बनाई बसोबास गरिरहेका व्यक्तिहरूको गत वर्ष व्यक्तिगत लगत संकलन गर्दा कूल घरटहरा ७५१ वटा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार हाल भूमिहीन दलित १०९ र भूमिहीन सुकुम्वासी ७४ घरपरिवारले मात्र फाराम भरेका छन् । कोहलपुर नगरपालिकाले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा आइतबार ५४ घरपरिवार भूमिहीन दलित र भूमिहीन सुकुम्वासी बसोबास गरिरहेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार