कोहलपुरमा प्रथम प्रदेशसभा कप अन्डर १६ फुटबल हुँदै



कोहलपुर (बाँके) ।

बाँके कोहलपुरमा जेठ १ देखि प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा कोहलपुरमा पहिलोपटक प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ हुने भएको हो ।

प्रतियोगिताको नेपाल शिक्षक महासंघ कोहलपुर र राप्तीसोनारी कमिटीले समन्वय गर्ने छन् । बाँके क्षेत्र नम्बर १ ‘ख’अन्तर्गत कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ र ९ का सामुदायिक र संस्थागत विद्यालय सहभागी हुने प्रतियोगिताको मुख्य नारा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ तय गरिएको छ ।

प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ ‘ख’अन्तर्गत रहेका स्थानीय तहका विद्यालयमा अध्ययनरत १६ वर्षमुनिका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । शिक्षक महासंघ कोहलपुर नगरपालिका बाँकेका अध्यक्ष निमप्रकाश थापाका अनुसार बाँके क्षेत्र नम्बर १ ‘ख’का प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीको संसद् कोषबाट विनियोजित बजेटमा सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा प्रतियोगिता सञ्चालन हुने लागेको हो ।

प्रतियोगिताको व्यवस्थापन भने शिक्षक महासंघ कोहलपुर र राप्तीसोनारीले गर्ने अध्यक्ष थापाले बताए । विद्यालयस्तरमा रहेका बालबालिकाहरूको फुटबलसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्तर १६ फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनको भनाइ छ ।

‘यस्तो प्रतियोगतिा कोहलपुरमा पहिलोपटक आयोजना हुँदैछ । स्कुले बालबालिकाहरूलाई खेलप्रति आकर्षित गर्न र उनीहरूको क्षमताको पहिचानका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ ‘ख’अन्तर्गत ३० भन्दा बढी विद्यालयहरूको सहभागिता रहनेछ । प्रतियोगताको पूर्वतयारी गरिरहेका छौँ,’ अध्यक्ष थापाले भने ।

प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीको जन्ममिति २०६७ साल वैशाख २८ गतेपछि र २०७० साल वैशाख २८ गते अगाडि भएको हुनुपर्नेछ । साथै १३ वर्ष पूरा गरी १६ वर्ष ननाघेका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा २०८२ सालमा एसइई परीक्षा दिएका विद्यार्थीहरूले समेत सहभागी हुन पाउने व्यवस्था गरिएको शिक्षक महासंघ कोहलपुरका अध्यक्ष थापाले बताए ।

प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ जेठ १ गतदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन र समापन कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित कृष्ण माध्यमिक विद्यालयमा हुनेछ । प्रतियोगिताका खेल भने दुई वटा विद्यालयस्थित खेल मैदानमा हुने जनाइएको छ । कृष्ण माध्यमिक विद्यालयसहित कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित गोरखा युनाइटेड पब्लिकको स्कुलको खेलमैदानमा खेल सञ्चालन हुनेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ५ लाख, द्वितीय पुरस्कार ३ लाख र तृतीय पुरस्कार २ लाखसहित मेडल र ट्रफी रहेको छ । प्रतियोगितामा सहभागी हुने विद्यालयमा वैशाख २८ आजसम्म निःशुल्क रूपमा टिम दर्ता गराउन पाउनेछन् । दर्ता गर्ने स्थान कृष्ण माध्यमिक विद्यालय कोहलपुर १ कौशिलानगरमा तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार