पश्चिम नेपालको बहुप्रतिक्षित तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘कोहलपुर गोल्डकप’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । ‘खेलसँग पर्यटन, खेलसँग मनोरञ्जन’ यस संस्करणको मुख्य नाराका रूपमा रहेको छ । कोहलपुर रेसिङ साहारा क्लबद्वारा आयोजित गोल्डकप ‘वैशाख १९ गतेदेखि २६ गतेसम्म’ सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघद्वारा स्वीकृत प्रतियोगिता हो, कोहलपुर गोल्डकप । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् लुम्बिनीबाट यो मान्यताप्राप्त छ ।
शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
विश्वको सबैभन्दा लोकप्रिय खेल हो, फुटबल । विश्वमा फुटबलको उदय १९औँ शताब्दीको मध्यतिरबाट सुरु भएको हो । सन् १८६३ मा बेलायतमा व्यावसायिक फुटबलको आधुनिक स्वरूपको सुरूवात भएको थियो । नेपालमा राणाहरूले फुटबल खेल नेपाल भित्र्याएका हुन् । सुरुवाती कालखण्डमा फुटबल राणाका दरबारभित्र सीमित थियो । विस्तारै फुटबल सर्वसाधारणहरूको पहुँचमा पुग्यो । विसं १९९५ सालमा पहिलोपटक अनधिकारिक फुटबल लिग फुटबल सुरु भएको हो ।
विसं २००८ सालमा नेपाल फुटबल संघ गठन भयो । त्यसपछि नेपाली फुटबलले गति लिएको हो । पछिल्लो दुई दशकयता मोफसलमा नियमित फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् । तीमध्ये ‘कोहलपुर गोल्डकप’ पनि एक हो । कोहलपुर गोल्डकप विसं २०७९ सालदेखि सुरु भएको हो । जुन बाँकेको कोहलपुरमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ । २०६८ सालमा स्थापित भएको कोहलपुर रेसिङ साहारा क्लबले गोल्डकप आयोजना गर्दै आएको छ । खेलकुदको प्रवद्र्धन र फुटबल विकासका लागि क्लब स्थापना भएको थियो ।
पश्चिम नेपालको बहुप्रतिक्षित तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘कोहलपुर गोल्डकप’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । ‘खेलसँग पर्यटन, खेलसँग मनोरञ्जन’ यस संस्करणको मुख्य नाराका रूपमा रहेको छ । कोहलपुर रेसिङ साहारा क्लब, कोहलपुर–२ बाँकेद्वारा आयोजित गोल्डकप ‘वैशाख १९ गतेदेखि २६ गतेसम्म’ सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघद्वारा स्वीकृत प्रतियोगिता हो, कोहलपुर गोल्डकप । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् लुम्बिनीबाट यो मान्यता प्राप्त छ । गोल्डकपको मुख्य संरक्षक कोहलपुर नगरपालिका रहेको छ ।
प्रथम कोहलपुर गोल्डकप २०७९ चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो । प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन)ले जित्यो । गोल्डकपको दोस्रो संस्करण २०८२ कात्तिक १५ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । २०८१ फागुन १७ देखि २४ गतेसम्म ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’ भव्य रूपमा सम्पन्न भयो । आयोजक क्लबलाई हराउँदै राइजिङ स्टार फुटबल क्लबले उपाधि जित्यो ।
‘कोहलपुर गोल्डकप’ नाममा चौथो संस्करण वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने गोल्डकप लुम्बिनी प्रदेशमै एकमात्र एन्फा क्यालेण्डरअनुसार सञ्चालन हुने फुटबल प्रतियोगिता समेत हो । चौथो संस्करण विगतका संस्करणभन्दा फरक र पृथक रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ । खेलकुदमार्फत पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको गोल्डकप सफल बनाउन सबैको भूमिका अहम् रहेको कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री बताउँछन् ।
उनका अनुसार यसपटकको गोल्डकप विगतका संस्करणभन्दा व्यवस्थित हुनेछ । कोहलपुर गोल्डकप २०८३ का प्रतियोगिता संयोजक कर्णबहादुर बस्नेतका अनुसार गोल्डकप विगतका भन्दा पृथक रूपमा सञ्चालन हुनेछ । ‘यो कोहलपुरको पहिचान हो । यसलाई अझै परिस्कृत बनाउन आवश्यक छ । पश्चिम नेपालकै गौरवको प्रतियोगिता हो,’ उनी भन्छन् ।
कोहलपुर गोल्डकप ः इतिहासदेखि वर्तमानसम्म

कोहलपुर–२ स्थित तेह्र बिघा मैदान । जो सामान्य चौर मात्रै थियो, आजभन्दा चार वर्ष अघिसम्म । मैदान अतिक्रमणको चपेटामा थियो । जग्गा अतिक्रमण गरेर स–साना टहरा बढ्दै थिए । साँघुरिँदै गएको चौरमा कहिलेकाहीँ मात्रै नगरस्तरीय खेलकुद र सांस्कृतिक कार्यक्रम हुन्थे । त स्थानीय बासिन्दा, न त स्थानीय सरकार कसैले पनि मैदान संरक्षणमा ध्यान दिन सकिरहेको थिएन ।
जब कोहलपुर–२ स्थित कोहलपुर रेसिङ साहारा क्लबको नेतृत्वमा चक्र चिमला क्षेत्री आए । तबदेखि तेह्र बिघा खेलमैदानले काँचुली फेरेको छ । त्यसले अहिले ‘कोहलपुर फुटबल रंगशाला’को रुप धारण गरेको छ । जहाँ पश्चिम नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ । पहिलो संस्करण २०७९ सालमा भएको थियो । त्यतिबेला तेह्र बिघा मैदान मैदानको स्वरूपमा थिएन ।
न दर्शकका लागि संरचना नै थिए । चौर वरिपरि रहेका रूखमा चढेर गोल्डकप हेरेका थिए दर्शकले । पहिलो संस्करणमा दर्शकहरूको यति धेरै उपस्थिति भएको थियो कि मैदानमा ठाउँ नभएर रूखमा चढेर हेर्नुपरेको थियो । गत संस्करणमा खेल हेर्नका लागि कर्णाली प्रदेशको सुर्खेतसहितका जिल्ला, सुदूरपश्चिम प्रदेशका कैलालीका साथै लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लाबाट पनि दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
क्लबले स्थापनाकालदेखि खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । क्लबको आयोजनामा कोहलपुर गोल्डकप पश्चिम नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता हो । कूल सात करोड रूपैयाँँ लागतमा अत्याधुनिक रंगशाला निर्माणधीन अवस्थामा छ । कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष क्षेत्री भन्छन्, ‘म क्लबको नेतृत्वमा आउँदा मैदानमा पशुवस्तु चर्थे । अतिक्रमणको अपेटामा थियो । अव्यवस्थित बस्ती हटायौँ ।’ अहिले व्यवस्थित गरेर रंगशाला निर्माण कार्य भइरहेको क्षेत्री बताउँछन् ।
क्लबले गोल्डकपका अलावा स्थापनाकालदेखि वडा तथा गाउँकप पनि सञ्चालन गर्दै आएको उनको भनाइ छ । तेह्र बिघा खेलमैदानमा ग्रासरुट फुटबलको अभ्यास समेत हुने गरेको छ । कोहलपुर गोल्डकप आयोजनाको योजना बनाउँदा त उनीहरूसँग केवल एउटा सपना मात्रै थियो । न क्लबसँग प्रतियोगिता सञ्चालन गर्न पैसा थियो, न त पूर्वाधार नै थियो । तेह्र बिघा खेलमैदानको अवस्था स्थानीय प्रतियोगिता सञ्चालन गर्न योग्य समेत थिएन । तर उनीहरूको इच्छाशक्तिको अगाडि असम्भवजस्तै कुराहरू सम्भव भए ।
आजभन्दा चार वर्षअघि र अहिलेको खेलमैदानको अवस्था हेर्दा कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका क्षेत्री मनमनै बडो रोमाञ्चित हुन्छन् । उनी भन्छन्, ‘सबैले चक्र बौलायो । यो कुरा सम्भव नै छैन भन्थे । अहिले सबै आश्चर्यचकित भएका छन् ।’ क्लबको कार्यमा सबैभन्दा ठूलो सहयोगीको रूपमा भूमिका खेलेको छ, कोहलपुर नगरपालिकाले । जहाँ अहिले नगरपालिकाकै आर्थिक सहयोगमा सुविधासम्पन्न कोहलपुर फुटबल रंगशाला निर्माणधीन अवस्थामा छ । जसको २०८२ भदौ २१ गते शिलान्यास गरिएको थियो ।
पश्चिम क्षेत्रकै स्तरीय आधुनिक फुटबल रंगशालाका रूपमा यसको निर्माणकार्य भइरहेको छ । सात करोड लागतमा निर्माण सुरु भएको रंगशालाको डीपीआर समेत तयार गरिएको छ । डीपीआरअनुसार रंगशाला निर्माणका लागि कूल २२ करोड रूपैयाँँ लागत लाग्ने अनुमान छ ।
फुटबल मैदानमा सुविधासम्पन्न चार वटा प्याराफिट निर्माण हुनेछन् । चारैतर्फ सुविधासम्पन्न प्याराफिट, वाउन्ड्री वाल, होस्टेल ब्लक, शौचालय, पार्किङस्थल रहनेछन् । रंगशाला निर्माणको जिम्मा कोहलपुर–२ स्थित शुभ आर्शीवाद–श्री वि.जी.जेभीले लिएको छ ।
२०८३ असार मसान्तभित्र प्याराफिट निर्माण गरिसक्नुपर्ने उल्लेख छ । अहिलेसम्म दुई वटा प्याराफिट निर्माण सम्पन्न भइसकेका छन् । चौथौ संस्करणमा दर्शकहरूले प्याराफिटमा बसेर प्रतियोगिता हेर्न पाउनेछन् । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य कोहलपुर गोल्डकपलाई नगरपालिकाले स्वामित्व लिएको बताउँछन् ।
उनका अनुसार कोहलपुरलाई खेलकुद सिटीका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीका अनुसार कोहलपुर गोल्डकप कोहलपुरको गौरवको प्रतियोगिता हो । कोहलपुर गोल्डकपले फुटबल संस्कृतिको विकास गरिरहेको उनको भनाइ छ । नयाँ नयाँ खेलाडी उत्पादनमा समेत प्रतियोगिताले सहयोग गरिरहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्