बास्केटबल संघले ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने



काठमाडौँ।

नेपाल बास्केटबल संघ (नेबा)ले नयाँ बास्केटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । नेबाले सोमबार सूचना जारी गर्दै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको जनाएको हो । नेबाका अनुसार यो १३औँ ट्यालेन्ट हन्ट कार्यक्रम हो ।

ट्यालेन्ट हन्ट कार्यक्रम १९ अप्रिल देखि २० मे सम्म (वैशाख ६ देखि जेठ ६ गते)सम्म सञ्चालन हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए । ‘हामीले स्कुलस्तरदेखि नै राम्रा खेलाडी उत्पादन गर्ने योजनासहित ट्यालेन्ट हन्ट कार्यक्रम गर्दैछौँ,’ उनले भनेका छन् । ट्यालेन्ट हन्ट कार्यक्रमपछि उत्कृष्ट खेलाडीहरूलाई स्कलरसिप प्रदान गरिने नेबाले जनाएको छ ।

ब्वाइज ६ र गल्र्स ६ गरी कूल १२ खेलाडीलाई उत्कृष्ट कलेजहरूमा कक्षा ११ र १२ अध्ययनका लागि स्कलरसिप प्रदान गरिने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । ‘एक महिनासम्म सञ्चालन हुने ट्यालेन्ट हन्ट कार्यक्रमबाट उत्कृष्ट १२ खेलाडी गरी रेपुटेड कलेजमा अध्ययनका लागि स्कलरुिप व्यवस्था गर्नेछौँ,’ उनले भने ।

गत वर्ष पनि नेबाले १२ जनाको लागि स्कलरसिपको व्यवस्था गरेको गुरुङले जानकारी दिए । बास्केटबलमै करियर बनाउन चाहने र भविष्यमा यस खेलबाट राष्ट्रको प्रतिनिधित्व गर्न चाहने युवाहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागिएको नेबाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार